नेपालको आर्थिक विकासलाई गुणात्मक फड्कोमा पुर्‍याउन आवश्यक: परराष्ट्रमन्त्री श्रेष्ठ

डिसी नेपाल
२२ चैत २०८० २१:३०

पाटन। उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले नेपालको आर्थिक विकासलाई गुणात्मक फड्कोमा पुर्‍याउन आवश्यक रहेको बताएका छन्।

ललितपुर चेम्बर अफ कमर्शको आयोजनामा जावलाखेलमा आजदेखि सुरु भएको पाँच दिने ‘ललितपुर इन्टरनेशनल ट्रेड एक्पो’को उद्घाटन समारोहमा  परराष्ट्रमन्त्री श्रेष्ठले संविधानसभाबाट जारी संविधान संस्थागत भएको उल्लेख गर्दै अहिले कार्यान्वयनको चरणमा रहेको र अबको मुख्य काम देशको आर्थिक सामाजिक विकासलाई फड्को मारेर लक्ष्यमा पु¥याउनु नै रहेको बताए।

‘सरकार र निजी क्षेत्र मिलेर तीव्र विकास गरेर आर्थिक समृद्धि हासिल गर्नु छ। हामीले हाम्रो सम्भावनालाई राम्रोसँग प्रयोग र सदुपयोग गरेर राजनीतिक लक्ष्य हासिल गर्नुछ। अहिले परराष्ट्र सम्बन्धमा आर्थिक कूटनीतिलाई महत्वपूर्ण बनाएर आगाडि बढिरहेका छौँ,’ परराष्ट्रमन्त्री श्रेष्ठले भने। आर्थिक सहयोगात्मक सम्बन्धलाई कसरी विस्तारित गर्ने र सम्भावनालाई पहिचान गर्दै नेपालको आर्थिक विकासलाई केन्द्रमा राखेर काम गरिरहेको उनको भनाइ थियो।

परराष्ट्रमन्त्री श्रेष्ठले एक्सपोले ऐतिहासिक महत्व राख्ने उल्लेख गर्दै सिङ्गो राष्ट्रको उद्योग व्यवसायको विकास र विस्तारमा उल्लेखनीय सहयोग पुग्ने विश्वास व्यक्त गरे। अहिले देशको राष्ट्रिय कार्यभार आर्थिक समृद्धिको कार्यभार भएको भन्दै उनले स्वाधीन, स्वतन्त्र र सुन्दर नेपाललाई अब समृद्ध बनाउने कुरामा केन्द्रित रहनुपर्नेमा जोड दिए।

नेपालका लागि बंगलादेशका राजदूत सलाउद्दीन नोमन चौधरीले एक्सपोले नेपाल र ललितपुरलाई मात्रै नभएर सहभागी राष्ट्रहरुलाई पनि सहयोग पु¥याएको बताए। उनले यो एक्सपोले सहभागी देशका साना तथा मझौला उद्योगलाई प्रोत्साहित गर्दै औद्योगिक विकासमा महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए।

बागमती प्रदेशका प्रदेशसभा सदस्य रामकृष्ण चित्रकारले आर्थिक मन्दीको अवस्थालाई चिर्दै व्यावसायिक, औद्योगिक क्षेत्र चलायमान हुँदै गएको अवस्थामा आर्थिक क्षेत्रमा एक्सपोले महत्वपूर्ण भूमिका खेल्ने बताउए। बागमती प्रदेशले हस्तकलासम्बन्धी विधेयकका लागि अन्तिम तयारी गरीरहेको उल्लेख गर्दै उनले ललितपुरलाई हस्तकलाको राजधानी बनाउनेमा आफ्नो प्रयास रहेको बताए।

नेपाल चेम्बर अफ कमर्शका कार्यवाहक अध्यक्ष कमलेश अग्रवालले मुलुकभित्रको आर्थिक क्रियाकलापले अन्तर्राष्ट्रिय व्यापारिक समुदायसँग सहकार्य भइ उद्यमी व्यवसायीको क्षमता विस्तारमा सहयोग पुग्ने विश्वास व्यक्त गरे। उनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय व्यापार मेलाबाट नविनतम् प्रविधि र व्यापारलाई प्रोत्साहन गर्न सरकारले ध्यान दिनुपर्ने बताए। निजी क्षेत्रको सिथिलतालाई ध्यानमा राखेर आगामी बजेट ल्याउन कार्यवाहक अध्यक्ष अग्रवालले आग्रह गरे।

ललितपुर चेम्बर अफ कमर्सका अध्यक्ष पुष्परत्न शाक्यले ललितपुरमा उत्पादित काठबाट बनाइएका कलाकृति, मूर्ति, कार्पेट, कपडा र परालबाट बनेका सामानको जीवन्त प्रदर्शनी मेलाको मुख्य आकर्षण भएको बताए। ऐतिहासिक धरोहर अमूर्त सम्पदा र कलाकृतिको प्रदर्शनीका साथै मित्र राष्ट्रहरु भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश, टर्की, मलेसियालगायतमा निकासीयोग्य सामान एंव दैनिक उपभोग्य सामान र खानाको कक्ष रहेका उनले जानकारी दिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *