प्रधानमन्त्री प्रचण्ड आज गोरखा जाँदै
सुलीकोट । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज गोरखा जाँदैछन् । बहुचर्चित क्वार्ज क्रिष्टल गोरखा दरबार भित्रको पृथ्वीनारायण शाहको गद्दी भएको ठाउँमा प्रधानमन्त्रीको हातबाट प्रतिस्थापना गर्नको लागि प्रधानमन्त्री प्रचण्ड गोरखा जान लागेका हुन्।
गत असार १४ गते गोरखा नगरपालिका – ७ सतिपिपलका राममाया शाहीको घरबाट क्वार्ज क्रिष्टल बरामद गरी जिल्ला प्रहरी कार्यालय गोरखाको एउटा कोठामा राखिएको थियो । त्यही क्र्वाज क्रिष्टललाई जिल्ला प्रहरी कार्यालयबाट बाजागाजा सहित बजार परिक्रम गराउँदै दरबार लैजाने कार्यक्रम रहेको छ ।
गोरखा नगरपालिकाले बजेट विनियोजन गरे सँगै अहिले क्वार्ज क्रिष्टल राख्नको लागि मजबुत खालको सिसाको बक्स बनाइएको छ । त्यस क्वार्ज क्रिष्टल राख्नको लागि काठबाट बनेको ऐतिहासिक, पुरातात्त्विक झल्को दिने गरी बुट्टा कुदिएको टेबल निर्माण गरिएको छ । टेबुल मुनिको विद्युतीय प्रकाश क्वार्ज क्रिष्टलाई आकर्षण बनाइएको छ ।
राष्ट्र निर्माता पृथ्वीनारायण शाहको गद्दी र धार्मिक र पुरातात्त्विक महत्वका क्वार्ज क्रिष्टल एकै ठाउँमा राख्दा यसले पर्यटन प्रबद्धनमा सहयोग पुग्ने विश्वास लिइएको छ ।
Facebook Comment