चीनको पिङपङ र पाण्डा कुटनीतिबाट के सिक्ने ?

कपिल लोहनी
२४ चैत २०८० ७:१९

सन् १९४९ मा चीनमा भएको क्रान्ति पश्चात् बनेको कम्युनिष्ट शासन व्यवस्था लगत्तै चीन र अमेरिकाको सम्बन्ध ज्यादै नै बिग्रन गएको थियो।

एक त रुस पछिको विशाल कम्युनिष्ट मुलुकको स्थापना भएको र अर्कोतर्फ चीनले तिव्वतलाई आफ्नो भूभागमा गाभेको, उत्तर कोरिया र उत्तर भियतनामलाई समर्थन गरेको, तथा भारत र अन्य छिमेकीका साथै दक्षिणी चिनी समुद्रमा समेत हक जमाउन थालेको अनुभूत गरेपछि अमेरिका र उसका समर्थक राष्ट्रहरूको नजरमा चीन एक आक्रामक र शंकास्पद मुलुकमा दरिन गयो।

यहिबेला चीनको फर्मोसा टापुमा चीनबाट भागेर गएर कोमिङ्ताङ पार्टीका नेता च्याङ्काई सेकले नयाँ राष्ट्र ताइवान बनाए पछि अमेरिकाले सो राष्ट्रको समर्थन गर्‍यो र सैनिक बेडासमेत लगेर राख्यो। यसरी चीन र अमेरिका बीचको कुटनीतिक सम्बन्ध पुरै बिग्रन गएर दुवै मुलुकका नागरिकको आवत जावत समेत निकै वर्षसम्म बन्द भयो।

त्यति मात्र होइन, केही समय पछि त साम्यवादकै फरक पथ अवलम्बन गर्दै जानाले चीनको सम्बन्ध रुससँग पनि बिग्रन थाल्यो। दुई मुलुक बीचको सिमानाहरूमा तनाव बढ्दै जान थाल्यो। यो अवस्थामा चीनको विकासको निम्ति आवश्यक प्रविधि कतैबाट पनि भित्रिन नसकेर सबै कुरा चीनले आफैं अविश्कार गर्नु पर्ने परिस्थितिको सिर्जना भयो, जुन सम्भव कुरा थिएन। यस्तो एक्लोपनाको कारण चीनको निर्यातमा पनि प्रश्न चिन्ह लाग्न थाल्यो।

उता चीनको कम्युनिष्ट पार्टीका अध्यक्ष तथा चीनका सर्वशक्तिमान नेता माओ त्सेतुङ चिनी जनसंघर्षको क्रान्ति र स्वावलम्बनका निकै अनुभवी नायक भए तापनि चीन जस्तो विशाल राष्ट्रको चौतर्फी विकासको आधुनिक मोडल निर्माण गर्न भने उनको सिमित शिक्षा र अनुभवले पुगेन।

बरु बुढा हुँदै गएपछि उनलाई उनकी पत्नी च्याङ चीङ र अन्य सहयोगी (ग्याङ अफ फोर)ले घेराबन्दीमा पारेर उनको नाममा शत्रु सफाया गर्न सांस्कृतिक क्रान्तिको नाटक रचेर मुलुकलाई तहस नहसको बाटोमा लगे।

तर यस्तो बेलामा पनि चाउ एनलाई जस्ता सुशिक्षित तथा अनुभवी र शालिन प्रधानमन्त्री चीनमा भएकाले उनले माओलाई सम्हालेर चीनलाई अघि बढ्न विशाल आन्तकि कुटनीतिको प्रयोग गर्न सफल भए।

त्यतिबेला तेङ शियाओ पिङ जस्ता विदेशमा अध्ययन गरेका कुशल नेताहरूलाई ओझेलमा पारिँदा पनि चाउले निकै हदसम्म उनीहरूलाई जोगाउँदै र माओको चित्त बुझाउँदै उनीहरूलाई उच्च ओहदामा रहेर काम गर्ने माहोल बनाइदिएका थिए।

पत्नीको खराब जालोमा जकडिए पनि माओ आफ्ना शत्रु भनिएका तेङ जस्ताका असल गुणसँग परिचित थिए। सायद चीनमा त्यतिबेला चाउ एनलाई जस्ता व्यावहारिक र विद्वान व्यक्ति नभएका भए चीन आजको बर्मा जस्तै भताभुंगे राष्ट्र हुन पुग्थ्यो होला। यति विशाल मुलुकमा एकापसमा अविश्वास र षडयन्त्रको परिस्थिति बन्न पुगेको भए यसको नकारात्मक प्रभाव विश्वमा नै पर्न जाने थियो।

चाउ एनलाईको बुद्धिमत्ताले गर्दा माओलाई शासन गर्न निकै सजिलो भएको थियो। चाउकै कोशिश र पिङपङ कुटनीतिको अवधारणाले गर्दा सन् १९७२ मा अमेरिकी राष्ट्रपति रिचर्ड निक्सनको चीन भ्रमण हुन सकेको थियो।

निक्सनको सो ऐतिहासिक भ्रमणको बेला चीनको स्टेट हलमा आयोजित व्याङ्क्वेट डिनरमा माओले परको टेबुलमा बसेर खाना खाइरहेको तेङलाई देखाउँदै निक्सनको कानमा ‘यु सि द्याट लिटल म्यान? भेरी इन्टेलिजेन्ट!’ भनेका थिए रे। यो कुराले त्यतिबेला निकै चर्चा पाएको थियो।

माओमा आफ्ना मानिसको खुबी र बुद्धिमत्ताको लेखाजोखा गर्ने ठूलो क्षमता थियो। आखिर पछि त्यही ‘लिटल म्यान’ तेङको नेतृत्वमा बिरालो सेतो वा कालो छ भन्ने कुरासँग सरोकार राख्नु हुँदैन, बरु त्यसले मुसा मार्न भने सक्नु पर्छ’ भन्ने निकै कुटनीतिक चातुर्यपूर्ण उक्तिका साथ साम्यवादलाई नरम र परिमार्जित बनाउँदै उनले देखाएको विकासको पथ पछ्याएर चीन आज विश्वको दोश्रो ठूलो अर्थतन्त्र बन्न पुगेको छ। आजको समयमा उनीहरूकै पथप्रदर्शनलाई पछ्याउँदै सि जिन पिङ अर्का महान् नेता भएर निस्केका छन्।

रुस जस्तो पहिलो र विशाल साम्यवादी राष्ट्रसँगको नराम्रो सम्बन्ध र अमेरिका तथा बाँकी पश्चिमा राष्ट्रबाट टाढिएको चीनले सन् ६०को अन्ततिर यी सबै राष्ट्रसँगको आफ्नो सम्बन्धमा सुधार ल्याएर व्यापार बढाउनुका साथै प्रविधि र लगानी भित्राउने सोच राख्न थाले पछि विभिन्न उपाय बारे छलफल प्रारम्भ भयो र एउटा विकल्पको रूपमा पिङपङ डिप्लोमेसी शुरु गर्ने निधो गर्‍यो।

हुन त पिङपङ यानी टेबुलटेनिस खेलको शुरुवात १९औँ शताब्दीमा बेलायतले गरेको भए तापनि यो खेलमा पछि चीन विशेष माहिर बन्न पुग्यो। यसको शुरुवाती चरणमा नै ब्याटले सानो तथा हलुका बललाई हिर्काउँदा ‘पिङ’ र सो बल टेबुलमा लाग्दा ‘पङ’ जस्तो आवाज सुनिने भएकोले यसको नाम पिङपङ रहन गयो र पछि मात्र यो खेललाई टेनिससँग मिल्दो जुल्दो भएकोले टेबुलटेनिस भनिन थाल्यो। सानो टेबुलमा घरभित्रै खेल्न सकिने रमाइलो खेल भएकोले टेबुलटेनिस विश्वभर नै रुचाइने खेल हो।

अमेरिकामा पनि पिङपङ खेल लोकप्रिय भएको र त्यहाँ पनि विश्वस्तरका खेलाडी भएको र उसले विश्वस्तरीय टुर्नामेन्टहरूमा भाग लिइरहने भएकोले जापानमा सन् १९७० को प्रारम्भमा आयोजना गरिएको विश्व च्याम्पियनशीपको दौरान चीनले अमेरिकी खेलाडीलाई चीनमा खेल्न आमन्त्रण गर्‍यो।

यही समयदेखि चीन र अमेरिकामा यी दुई देशका पिङपङका खेलाडीहरू आवतजावत गर्न थाले। त्यसपछि दुई देशबीचको ठप्प भएको सम्बन्धमा केही सुधारको संकेत देखिन थालेकोले यो नयाँ कुटनीतिक पहललाई ‘पिङपङ डिप्लोमेसी’ भन्न थालिएको हो र यो कुटनीतिक शब्दावली पछि विश्वमा निकै लोकप्रिय बन्न पुगेको हो।

चीनले दुई देश बीचको खस्केको सम्बन्ध सुधार्नमा खेलकुदको ठूलो भूमिका हुन्छ भन्ने कुरा पनि साबित गरेको थियो यो कुटनीतिक पहलबाट। पछि चीन र अमेरिका बीच खेलाडीको मात्र ओहोरदोहोर नभएर सन् १९७१ मा अमेरिकी विदेश मन्त्री हेनरी किसिन्जरको चीनको गोप्य भ्रमण र सन् १९७२ मा अमेरिकी

राष्ट्रपति रिचर्ड निक्सनको चीनको औपचारिक भ्रमण नै हुन सक्यो भने विगत २० वर्षदेखि बिग्रिएको चीन र अमेरिकाको सम्बन्धमा आमुल सुधार आउन थाल्यो। यो ऐतिहासिक भ्रमण पश्चात् चीनमाथि लगाइएका प्रतिबन्धहरू फुकाउन र चीन र अमेरिका बीचको सम्बन्धमा निकै धेरै सुधार ल्याउन पिङपङ कुटनीतिले ठूलो भूमिका खेल्न सक्यो। त्यस्तै ताइवान चीनको अभिन्न अङ्ग हो भन्ने कुरामा पनि अमेरिका सहमत भयो।

सन् १९७२ को अमेरिकी राष्ट्रपति रिचर्ड निक्सनको चीन भ्रमणकै बेलामा अध्यक्ष माओ त्सेतुङले अमेरिकालाई २ वटा पाण्डा उपहार स्वरुप प्रदान गरेका थिए भने अमेरिकाले पनि चीनलाई कस्तुरी झैं विशेष बास्नादार नश्लका २ साँडेहरू उपहारमा पठाएको थियो।

यसरी पिङपङ कुटनीतिले अमेरिका र चीनको पुनर्मिलन भएको थियो भने पाण्डा कुटनीतिले दुई देश बीचको सम्बन्धमा अझ बढी सुधार ल्याएको थियो। केही समय अघि अमेरिकाको लागि चीनका तत्कालीन राजदूतले वासिंग्टन पोष्टलाई दिएको एक अन्तर्वार्तामा ‘अमेरिकामा चीनका दुई राजदूतहरू छन्– एकजना म र अर्को राजदूत पाण्डा हो’ भनेका थिए रे।

चीनले खासगरी सन् १९४१ देखि १९८४ सम्म विभिन्न मुलुकहरूलाई जायन्ट पाण्डा उपहार स्वरुप प्रदान गरेको थियो। सन् १९४१ मा जापानले चीनलाई आफ्नो साम्राज्य बनाइरहेको बेलामा त्यहाँको राष्ट्रवादी पार्टी कुवोमिन्ताङको समर्थनमा अमेरिकाले निकै धेरै मद्दत गरेको थियो। सोही सम्बन्धले गर्दा च्याङ काइशेककी पत्नी च्याङले अमेरिकालाई २ वटा पाण्डा उपहार पठाएकी थिइन्।

मित्रराष्ट्रहरूलाई उपहार पठाउने क्रम चीनमा साम्यवादको शुरुवात भएपछि पनि कायमै रह्यो। चीनले त्यतिबेला रुस, अमेरिका, बेलायत, उत्तर कोरिया लगायत ९ मुलुकमा २४ वटा पाण्डा उपहार स्वरुप पठायो, र यसबाट ती मुलुकसँगको सम्बन्ध सुधारमा निकै मद्दत पुग्यो।

सन् १९८४ देखि भने चीनले पाण्डा उपहारको रूपमा सित्तै पठाउने क्रमलाई बन्द गरेर पाण्डा कुटनीतिको नयाँ संस्करणको रूपमा निश्चित समयको लागि पाण्डा सापटमा पठाउन थाल्यो। दश वर्षको निम्ति सापटमा पठाइने एक जोडी (भाले र पोथी) पाण्डाको निम्ति सापट लिने मुलुकले वर्षको १० लाख डलर चीनलाई बुझाउनु पर्छ भने यी पाण्डाबाट जन्मेका बच्चा पनि चीन कै हुन्छन्।

यसरी प्रत्येक पाण्डा १० वर्षसम्म सापटमा दिएर आएको प्रत्येक जोडीको १० लाख डलर चीनले पाण्डा संरक्षणमा नै खर्च गर्दछ। सापट लिने मुलुकले पनि आफ्ना चिडियाखानामा पाण्डा हेर्न आउने मानिसबाट ठूलै धनरासी कमाउँछन्।

त्यस्तै त्यहाँका जीववैज्ञानिकहरूले स्वदेशमा नै अनुसन्धान गर्ने अवसर पनि पाउँछन्। १० वर्ष राखेका पाण्डा फिर्ता गर्ने र नयाँ पाण्डा सापट लिने क्रम चलिरहेको हुन्छ। हाल विश्वका विभिन्न मुलुकहरूमा चीनले सापटीमा दिएका पाण्डाहरूको १० वर्षे म्याद सकिन थालेको छ।

क्यानाडाले भने १० वर्षे म्याद सकिनु भन्दा केही वर्ष अगावै नै बाँसजन्य खुराकी नपाएर २ वटा पाण्डा चीनलाई फिर्ता गर्‍यो। रुसले भने चीनबाट सन् २०१९ मा १५ वर्षको निम्ति पाण्डा सापटमा पाएको छ।

अमेरिका, बेलायत, अष्ट्रेलिया, जापान, नेदरल्याण्ड्स आदि राष्ट्रसँग हाल चीनको खासगरी व्यापारिक प्रतिष्पर्धाका कारण सम्बन्ध बिग्रने क्रम बढेको छ। त्यसैले यी मुलुकहरू आफुले सापटीमा पाएका पाण्डाहरूको म्याद सकिँदै जाँदा फिर्ता गर्दैछन्। सम्बन्धमा सुधारको निम्ति ती पाण्डाहरूको सापटी अवधि बढाउन वा नयाँ पाण्डा सापटमा लिने अवस्था जहिले पनि रहि नै हाल्छ।

जायन्ट पाण्डा विश्वमा नै लोप हुन लागेको एक प्रकारको भालुको प्रजाति भएकोले यो त्यतिबेला मात्र होइन, आज पनि दुर्लभ र लोपोन्मुख जन्तुमा नै गनिन्छ र खासगरी पुर्वी चीनमा पाइन्छ। पाण्डा एक्लै बस्न रुचाउने जनावर हो।

टाउकोमा सेतो फर र आँखा वरीपरी कालो घेरा हुने बाटुलो टाउको र सेतो कालो शरीर भएको निकै माया लाग्दो बालसुलभ यो जन्तुलाई देखे पछि बच्चा, वयस्क र वृद्ध सबै उमेरका मानिसहरूको मुहारमा खुशी जागेर आउँछ। आज विश्वमा १,८६४ वटा पाण्डा खुला जङ्गलमा र ६०० वटा जति विभिन्न चिडियाखाना र प्रजनन केन्द्रहरूमा रहेका छन्।

नेपाल लगायत पुर्वी हिमालय र दक्षिण-पश्चिमी चीनका उच्च पहाडी भिरालामा रातो पाण्डा यानी हाब्रे पाइन्छ। यसको रङ रातो-खैरो हुनुका साथै पेट र छातीको भाग कालो हुन्छ र मुख, कान र आँखामा सेतो भुवा हुन्छ। साथै यो जायण्ट पाण्डा भन्दा सानो र साह्रै लजालु स्वभावको हुन्छ।

जायन्ट पाण्डा भालु परिवारमा पर्दछ भने रेड पाण्डा बिरालोसँग मिल्दोजुल्दो हुन्छ। रातो पाण्डा खासगरी कलिलो बाँस र निगालोका टुसा र पात तथा मालिङ्गो र फलफुल खाएर बाँच्दछ भने जायन्ट पाण्डा कलिलो बाँस र यसको पात नै खाएर बाँच्दछ।

विश्वमा नै १०,००० को हाराहारीमा रहेको रेड पाण्डाको संख्या भारतमा करिव ६,०००, नेपालमा करिव ३०० र चीनमा १,६०० वटा जति छ भने बाँकी भुटान र म्यानमारमा छन्। यो लोपोन्मुख प्राणीको पंक्तिमा पर्दछ।

नेपालमा रेड पाण्डाको संरक्षणको निम्ति अपि, खप्तड, रारा, अन्नपुर्ण, मनास्लु, लाङटाङ, गौरीशंकर, सगरमाथा, मकालु र कञ्चनजङ्घा गरी १० हिमाली भेगका राष्ट्रिय निकुञ्जहरू छुट्याइएका छन्।

लाङटाङ क्षेत्रमा भने यसको संख्या अधिक छ। तर वनजङ्गल मासिने क्रम बढ्दै जानाले र यसले खाने खानाको प्रकार पनि निकै सिमित हुने भएको कारणले यो एकै ठाउँमा रहन वाध्य हुन्छ र यसको संख्या पनि घट्ने अवस्थामा छ।

विश्वमा जनावरहरूको आदानप्रदान मार्फत कुटनीतिक पहल गर्ने पद्धति त्यति नयाँ होइन। परापूर्वकालदेखि नै विभिन्न मुलुकका शासकहरूबीच जङ्गली तथा घरपालुवा जनावर र चराचुरुङ्गीहरू उपहारको रूपमा आदानप्रदान गरेर दुई देश बीचको सम्बन्ध सुधार्ने कार्य गरिन्थ्यो।

यस्तो प्रकारको कुटनीतिलाई जनावर कुटनीति भनिन्छ। जिवित मात्र नभई जनावरका छाला, सिङ, दारा, कंकाल तथा अन्य किमती अंगहरूका साथै जनावरका हाड–छालाबाट बनेका किमती पहिरन र गहना उपहारस्वरुप दिने चलन अझै पनि छ।

झनै नेपालले त भारतमा वृटिश शासन छँदा बेलायतका राजा, युवराज तथा भारतका भाइसरोयहरूलाई नेपालको जङ्गलमा आमन्त्रण गरेर शिकार खेलाउनुका साथै थुप्रै जीवित जनावर, चराचुरुङ्गी तथा सर्प आदि उपहार दिएर खुशी तुल्याउँदथे।

यस्तो प्रकारको कुटनीतिलाई शिकार कुटनीति भनिन्छ। तर आजको जमानामा वनजंगल तथा जंगली जनावरको कमी हुनुका साथै शिकारलाई पशुअधिकार विरोधी कदमको रूपमा लिइने भएकोले शिकार कुटनीति अब इतिहास भइसकेको छ।

भारतका साधुसन्तहरूलाई शिवरात्रीको बेला जनावरका छाला तथा अन्य अङ्ग उपहार दिएर उनिहरूको समर्थन र सद्भाव प्राप्त गर्ने चलन नेपालमा राजतन्त्र रहुञ्जेलसम्म नै थियो भने हाल खाना र बाटो खर्च दिइन्छ।

नेपालले गैँडा कुटनीति पनि नगरेको होइन। सन् १९८५मा राजा वीरेन्द्रले भारतलाई एउट गैँडा उपहारस्वरुप प्रदान गरेर शुरु भएको नेपालको गैँडा कुटनीति अन्तर्गत आजसम्म २ दर्जनभन्दा बढी गैँडाहरू अमेरिकालगायत अष्ट्रिया, बेलायत, जर्मनी, जापान, थाइल्याण्ड, म्यानमार, पाकिस्तान, बंगलादेश आदि मुलुकलाई नेपालले उपहार दिइसकेको छ।

त्यस्तै कैयन् मुलुकहरूले जनावर कुटनीतिको रूपमा हात्ती, घोडा, जेब्रा, चील, उच्च नश्लका कृषिजन्य जनावरहरू आदि उपहार दिने चलन आज पनि छ भने मौषम अनुसारको उच्चकोटीको आँप, सुन्तला, स्याउ, केरा, चिया, आदि कृषि तथा औद्योगिक उपज पनि उपहार दिने चलन छ।

चन्द्रमामा मानिस पहिलो पटक पुगेको बेला अमेरिकी अन्तरिक्ष यात्रीहरूले ल्याएका चन्द्रमाका पत्थर विशेष प्रकारले काँचमा भरेर अमेरिकाले धेरै मुलुकहरूलाई उपहार दिएको थियो।

तर न त नेपालले न अन्य कुनै मुलुकले नै चीनले झैं लोपोन्मुख जनावर निकै महँगो भाँडामा सापटमा दिएका छन्। एकपल्ट उपहार दिएको वस्तुले केही समयको निम्ति मात्र सम्बन्धमा सकारात्मक प्रभाव पार्न सक्छ भने चीनले जस्तो सापट दिएको उपहारले धेरै लामो समयसम्म सम्बन्ध स्थापित गर्न र मोटो रकम आर्जन गर्न पनि मद्दत पुर्‍याउँछ।

मोटो रकम तिरेर भाँडामा ल्याएका नासोको उचित संरक्षण र प्रदर्शन गरेर आफ्नो खर्च उठाउने प्रयत्न हुँदै गर्दा विश्वका लाखौँ मानिसले त्यस्ता लोपोन्मुख प्राणीहरू बारेको अमूल्य ज्ञान आर्जन गर्नुका साथै उनीहरूमा प्रकृति तथा वातावरण संरक्षण गर्र्नु पर्ने दायित्ववोध पनि हुन जान्छ।

परापूर्वकालदेखि करिव एक शताब्दीअघिसम्म पनि यस्ता उपहारको कुटनीतिको प्रयोग आफ्नो राष्ट्रको अस्मिता बचाउने मुख्य ध्येयका साथ गरिन्थ्यो। तर पछि आएर उपहारको कुटनीति र चीनले थालेको जस्तो लोपोन्मुख जनावर तथा अन्य बहुमूल्यवान वस्तु सापटीमा दिने कुटनीति भने आफ्नो मुलुकको विकास र समृद्धिको निम्ति विभिन्न मुलुकहरूसँग सम्बन्ध सुधार्न र विकास कार्यमा हातेमालो गर्न अवलम्बन गरिन्छ।

‘शान्ति, विकास र विश्वसनीयता’को नाराका साथ अघि बढिरहेको चीनबाट नेपाल लगायत विश्वले धेरै कुराहरू सिक्न सक्दछन्।

लेखक विकास अर्थशास्त्री र एकल व्यक्तित्व समाज, नेपालका अध्यक्ष हुन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *