नयाँ सर्वेक्षणमा बेलायती प्रधानमन्त्री सुनकलाई झटका, विपक्षी पार्टीले बहुमत ल्याउने अनुमान
काठमाडौं । बेलायतमा आमनिर्वाचन अघि प्रधानमन्त्री ऋषि सुनकलाई ठूलो झट्का लागेको छ । भर्खरैको सर्वेक्षणको नतिजाले सुनकको कन्जरभेटिभ पार्टीले चुनावमा लज्जास्पद पराजय भोग्न सक्ने देखाएको छ । प्रमुख प्रतिपक्षी दल लेबर पार्टीले फेरि इतिहास दोहोर्याउने देखिन्छ ।
युगभले १८ हजारभन्दा बढी मानिसमा गरेको सर्वेक्षणको नतिजा चकित पार्ने खालको आएको छ । विपक्षी नेता केयर स्टारमरको नेतृत्वमा रहेको लेबर पार्टीले ४०३ सिटमध्ये ३२६ सिट जित्ने देखिन्छ। योसँगै कन्जरभेटिभ पार्टीले १ सय ५५ सिट मात्रै जित्ने अनुमान गरिएको छ । यसरी कन्जरभेटिभ पार्टीले प्रत्यक्ष रूपमा ठूलो घाटा व्यहोर्नु परेको देखिन्छ ।
सर्वेक्षणले सन् १९९७ मा प्रधानमन्त्री जोन मेजरको नेतृत्वमा रहेको कन्जरभेटिभ पार्टीको पराजयको बेला जस्तै यसपटक कन्जरभेटिभ पार्टीले लज्जास्पद हार बेहोर्नु पर्ने देखाएको छ । सन् १९९७ को चुनावमा कन्जरभेटिभ पार्टीले १६५ सिट मात्र पाएको थियो । त्यसबेला टोनी ब्लेयरको नेतृत्वमा रहेको लेबर पार्टीले कन्जरभेटिभ पार्टीलाई लज्जास्पद रूपले हराएको थियो ।
सर्वेक्षणले केर स्टाररको नेतृत्वमा लेबर पार्टीले सन् १९९७ को चुनावमा जस्तै जित हासिल गर्न सक्ने देखाएको छ। त्यसबेला टोनी ब्लेयरको नेतृत्वमा रहेको लेबर पार्टीले ६५९ सिटमध्ये ४१८ सिट जितेको थियो । एक हिसाबले सन् १९९७ को चुनावमा कन्जरभेटिभ पार्टीले पाएको १६५ सिटभन्दा पनि ऋषि सुनक झन् खराब अवस्थातर्फ उन्मुख भएको देखिन्छ ।
आगामी चुनावमा हार्न सक्ने सम्भावित नेताहरूमा चान्सलर जेरेमी हन्ट, क्याबिनेट मन्त्री मिशेल डोनलान र माइकल गोभ जस्ता नामहरू समावेश छन्। यसबाहेक पेनी मोर्डन्ट र ज्याकब रिस मोग पनि चुनाव हार्न सक्नेछन् ।
यसैबीच, सर्वेक्षणले लिबरल डेमोक्र्याट पार्टीले अघिल्लो निर्वाचनको तुलनामा चुनावमा एक सिट बढ्न सक्ने देखाएको छ । भोट प्रतिशत हेर्ने हो भने लेबर पार्टीले ४१ प्रतिशत, कन्जरभेटिभ पार्टीले २४ प्रतिशत, लिबरल डेमोक्र्याटले १२ प्रतिशत, ग्रीन्सले ७ प्रतिशत, रिफर्म युकेले १२ प्रतिशत भोट पाउन सक्नेछन् भने अन्यले एक प्रतिशत भोट प्राप्त गर्न सक्नेछन् ।
युगभले मार्च ७ र २७ बीच १८ हजार ७६१ बेलायती वयस्कहरूसँग अन्तर्वार्ता लिएको थियो, त्यसपछि यो सर्वेक्षण तयार गरिएको थियो। यो हालसम्मकै सबैभन्दा ठूलो सर्वेक्षण भएको बताइएको छ । बेलायतमा चुनावको मिति अझै तय भएको छैन। तर यो वर्षको दोस्रो आधामा बेलायतमा चुनाव हुन सक्ने बताइएको छ ।
Facebook Comment