आज ५ वटा संसदीय समितिको बैठक बस्दै
काठमाडौं । आज ५ वटा संसदीय समितिको बैठक बस्ने भएको छ। कानून, न्याय तथा मानव अधिकार समितिको बैठक बिहान ११ बजे बस्ने भएको हो। बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकमा छलफल हुने बताइएको छ ।
छलफलमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय, कृषि तथा पशुपंक्षी विकास मन्त्रालय र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयबाट प्रतिनिधिहरुलाई बोलाइएको छ ।
बिहान ११ बजे नै शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक पनि बस्दै छ । सो बैठकमा विद्यालय शिक्षा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकका सम्बन्धमा छलफल हुनेछ ।
दिउँसो साढे १ बजे उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बस्दै छ । बैठकमा उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा ४१ मा व्यवस्था भए बमोजिमको उपभोक्ता अदालत गठनका सम्बन्धमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका पदाधिकारीसँग छलफल हुनेछ ।
मध्यान्ह १२ बजे बस्ने महिला तथा सामाजिक मामिला समितिको बैठकमा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूको वर्तमान अवस्था र अनुगमन सम्बन्धमा छलफल हुनेछ ।
मध्यान्ह साढे १२ बजे बस्ने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा उपसमिति गठन सम्बन्धमा छलफल हुनेछ ।
Facebook Comment