इजरायली प्रधानमन्त्रीले भने- रफाह प्रवेशका लागि मिति तोकियो, धेरै देशबाट आलोचना
काठमाडौं । इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले इजरायलले गाजाको सहर रफाहमा योजनाबद्ध सैन्य कारबाहीका लागि मिति तय गरेको बताएका छन् ।
उनको सरकारले गाजाको यो दक्षिणी सहरमा सैन्य कारबाही सुरु गर्ने बारे विगत केही हप्तादेखि संकेत गर्दै आएको छ।
गाजामा विगत ६ महिनादेखि जारी इजरायली बमबारीका बीच १५ लाख प्यालेस्टाइनीले रफाहमा शरण लिएका छन् ।
इजिप्ट, फ्रान्स र जोर्डनले इजरायललाई यो योजना रोक्न आग्रह गरेका छन् । विज्ञप्तिमा भनिएको छ – यसले ‘खतरनाक परिणाम’ हुनेछ।
नेतन्याहुले रफाहमा सैन्य कारबाहीको मिति आन्तरिक रूपमा सहमति भइसकेको बताएका छन्। यद्यपी उनले यसबारे धेरै जानकारी दिएनन् ।
उनले भने, “विजयको लागि रफाहमा प्रवेश र आतंकवादीहरूको उन्मूलन आवश्यक छ, यो हुनेछ र यसको लागि मिति तय भएको छ ।”
हमासले गत वर्ष अक्टोबर ७ मा इजरायलमा हमला गरेको थियो र यस हमलामा करिब १ हजार २ सय मानिसको मृत्यु भएको थियो भने २५० जनालाई बन्धक बनाएको थियो ।
यसपछि इजरायलले गाजामा सैन्य कारबाही सुरु गरेको थियो र अहिलेसम्म ३३ हजारभन्दा बढी मानिसको मृत्यु भइसकेको छ ।
Facebook Comment