सशस्त्र प्रहरीको स्टोरमा आगलागी घटनाः छानबिन समितिद्वारा काम सुरु, ७ सुरक्षाकर्मीलाई सोधपुछ

डिसी नेपाल
२८ चैत २०८० १७:४१

काठमाडौं। गत सोमबार सशस्त्र प्रहरी बलको बलम्बुस्थित केन्द्रीय स्टोरमा भएको आगलागी घटनाबारे छानबिन गर्न गठित आन्तरिक समितिले काम सुरु गरेको छ।

आगलागीको घटनापछि कार्यविभाग प्रमुख सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक वंशीराज दाहालको अध्यक्षतामा ९ सदस्यीय छानबिन समिति गठन गरिएको थियो। सो समितिले मंगलबार बिहानैदेखि घटनास्थललाई सिल गरेको छ भने सुरक्षाको लागि नयाँ टोली राखिएको छ।

यसका साथै आगलागीबाट क्षति भएका सामानको विवरण संकलन गर्ने कार्य समेत तिब्र रुपमा अघि बढाईएको छ भने प्रयोगमा ल्याउन मिल्ने सामान छुट्याई सिल गरि सुरक्षित स्थानमा राखिएको छ। समितिले भण्डार महाशाखामा रहेको सम्पूर्ण सक्कल अभिलेखहरुको अध्ययन गरि के–कति सामान रहको र कति क्षति भएको भन्ने विवरण समेत संकलन गरिरहेको छ। यसका साथै भण्डार महाशाखामा कार्यरत सशस्त्र प्रहरी उपरीक्षकसहित ७ जनालाई समेत भण्डारण गरिएको सामानको विवरण र अवस्थाबारे सोधपुछका लागि झिकाईएको छ।

यसैगरी सशस्त्र प्रहरी बल, नेपाल नं. ९ पशुपतिनाथ बाहिनीबाट सुरक्षा जिम्मेवारीमा रहेका र त्यस दिनको ड्युटिमा रहेका सशस्त्र प्रहरी उपरीक्षकसहित ११ जना र नेपाल एपीएफ अस्पतालको सुरक्षा टोलीबाट मेनगेटमा खटिएका २ जनालाई समेत सोधपुछका लागि मुख्यालय झिकाईएको छ।

सो स्टोरको सुरक्षार्थ राखिएको सिसि क्यामेराको फुटेज समेत समितिले अध्ययन गरिरहेको छ। सो फुटेजमा भवनकोबीचमा रहेको कोठाबाट सानो मात्रामा धुवाँ आएको केही सेकेण्ड भित्र नै ठुलो मुस्लो देखिएको र बाहिनीभित्र रहेका सुरक्षाकर्मी तत्काल घटनास्थल पुगेको देखिएको छ। सो आगलागीबाट फ्रि स्केलका सामान, विपद् उद्धारका सामान समेत जलेर नष्ट भएका छन्।

सशस्त्र प्रहरी बलको मुख्य स्टोर हलचोकमा रहेकोमा केही वर्ष अघिदेखि शाखा स्टोरको रुपमा सो ठाउँमा जिन्सी सामान भण्डारण गरिएको थियो। केही फ्रि स्केलका सामान भण्डारण गरिएको र त्यसको पूर्ण प्रक्रिया समाप्त नभएकोले मातहत कार्यालयमा पठाउने तयारीको अवस्थामा अचानक आगलागी भएकोपछि कर्मचारीको लागि वितरण गर्ने सामान जलेर नष्ट भएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *