इरानको चेतावनीपछि इजरायलले अमेरिकाको समर्थन पायो
काठमाडौं । इरानको चेतावनीको बीचमा अमेरिकी राष्ट्रपति जो बाइडेनले इजरायललाई सबै सम्भव सहयोग गर्ने वाचा गरेका छन्। इरानले इजरायललाई कारबाही गर्ने चेतावनी दिएको छ ।
हालै सिरियामा भएको आक्रमणमा धेरै इरानी मारिएका छन् । बाइडेनले भने, “हामी इजरायलको सुरक्षाका लागि सबै सम्भव सहयोग गर्नेछौं।”
इदको अवसरमा आफ्नो सन्देशमा इरानी नेता आयातोल्लाह अली खामेनीले सिरियाको राजधानी दमास्कसमा इजरायलले गरेको आक्रमण इरानमाथिको आक्रमण भएको बताएका थिए ।
उनले भने, ‘जब उनीहरुले हाम्रो दूतावास क्षेत्रमा आक्रमण गरे, हाम्रो माटोमा आक्रमण गरेजस्तो भयो ।’ उनले इजरायललाई सजाय दिने कुरा गरे।
अप्रिल १ मा इरानी दूतावास भवनमा भएको आक्रमणमा धेरै वरिष्ठ इरानी सैन्य अधिकारीहरू सहित १३ जनाको मृत्यु भएको थियो।
इजरायलले यस आक्रमणको जिम्मेवारी लिएको छैन, तर यसको पछाडि इजरायलको हात रहेको विश्वास गरिएको छ। यस हमलापछि उक्त क्षेत्रमा उपस्थित इजरायली र अमेरिकी सैनिकहरू उच्च सतर्कतामा छन्।
Facebook Comment