पर्यटन प्रवर्द्धनमा नेपालको जात्रा संस्कृतिको उपयोग

कपिल लोहनी
१ वैशाख २०८१ ७:४६

विश्वका सबै ठाउँ र मुलुकका आआफ्ना मौलिक जात्रा तथा संस्कारहरू हुन्छन्।

कतै त्यस्ता सांस्कृतिक महत्वका जात्रा पर्वहरूको राम्ररी संरक्षण गरिएको हुन्छ भने केही मुलुकमा खासगरी राज्यको लापर्वाहीले गर्दा महत्वपूर्ण जात्रा तथा चाडपर्व मनाउने मौलिक शैली पनि लोप हुँदै गएको भेटिन्छ भने जात्राहरूमा प्रयोग हुने पुरातन वस्तुहरू पनि हराउँदै गएको पाइन्छ।

हामी अहिले धर्म भन्दा पनि जात्रा, पर्व र संस्कृतिको कुरा गरिरहेका छौँ। नेपाल कै कुरा गर्दा यहाँका अधिकांश जनता हिन्दू धर्मावलम्वी छन्। तर पनि यहाँ बौद्ध, इश्लाम, इसाई, शिख तथा अन्य धर्म मान्ने मानिसहरू पनि प्रसस्तै छन्।

सबैले आआफ्ना धर्ममा आस्था राख्छन् तर धर्मकै निम्ति नेपालमा काटमार गर्ने परम्पराको थालनी आजसम्म भएको छैन, छिटफुट घटनाहरू वाहेक। जात्रा तथा पर्व भनेको यस्तो सुन्दर सांस्कृतिक क्रियाकलाप हो, जुनलाई मनाउन कुनै पनि धर्मले छेकबार गर्दैन भने यसैको सहायताले मुलुकमा एकता र खुशियाली छाइ रहन सक्दछ।

प्रताप मल्लले आफ्नो छोराको असामयीक निधनको कारण निकै विलाप र बिरहमा परेकी आफ्नी रानीलाई यस्तो विपत् आपूmलाई मात्र नभई घर–घरमा परिरहेको हुन्छ भनेर देखाउन गाइजात्राको शुरुवात गरे।

यही जात्रामार्फत रानीको मन खुशी तुल्याउन विभिन्न रमाइला तथा हाँसो उठ्दा पहिरन र श्रृङ्गारसहित आफन्तको निधन भएका मानिसहरू सडकमा नाचगान गरेर हिँड्ने पर्वको रूपमा यसको विकास गरे। आज सयौँ वर्ष बित्दा पनि यो जात्रा जिवितै छ भने यो दिन हाँस्यव्यङ्ग्य विधाको साहित्यको प्रस्तुती तथा हाँस्य नाटकहरूको मञ्चन पनि हुने गर्दछ।

कृष्णाष्टमीको समयमा घर-घरमा आएर प्रदर्शन गरिने लाखे नाच तथा पाटनमा कार्तिकमा नै एक महिनासम्म नाचिने कार्तिक नाच मुकुण्डो लगाएर नाचिने मौलिक नाचहरू हुन्। यस्ता नाच स्वदेशीहरूको बीचमा मात्र नभइ विदेशीहरू माझ पनि लोकप्रिय छन्।

आज लाखे नाचलाई साना साना समुदाय र गुठीले सञ्चालन गर्दै जिवित अवस्थामा राखि रहेका छन् भने कार्तिक नाच धेरै वर्षसम्म बन्द भएर हाल पुनः ललितपुरको ज्यापु समाज र महानगरपालिकाको पहलमा आयोजना हुन थालेका छन्।

त्यस्तै नेपालका जात्राहरूमा बजाइने धिमे र अन्य बाजा बजाउने मानिसहरू पनि अन्य व्यवसायमा लाग्दै गएकाले त्यस्ता बाजाहरू ओझेलमा पर्न थालेका छन्। तर केही स्थानीय गुठीको विशेष पहलमा हिजोआज मौलिक बाजा प्रशिक्षणशाला खुलेर युवालाई बाजा बजाउन पारङ्गत बनाउँदै छन्। फलस्वरुप केही नारीहरू पनि परम्परागत बाजा बजाएर जात्राहरूमा निस्कन थालेका छन्।

नेपाल एक सानै मुलुक भएपनि भौगोलिक र सांस्कृतिक विविधताले भरिपूर्ण वातावरण छ यहाँ। यहाँ वर्षैभरी कुनै न कुनै समूदायको नयाँ वर्ष मनाउने काम भइ नै रहेको हुन्छ। यसरी नै बिस्केट जात्रा पनि प्रत्येक नेपाली नयाँ वर्षको बेला हप्ता दिनसम्म खासगरी भक्तपुरमा मनाइन्छ।

भक्तपुर तथा थिमी नगरपालिका र त्यहाँका गुठीहरूले बिस्का जात्रा र जिब्रो छेड्ने पर्वको निकै राम्ररी प्रवन्ध मिलाएका हुन्छन्। घोडेजात्राको पनि आफ्नै महिमा छ। त्यस्तै पूर्वी नेपालमा उँधौली र उभौली पर्व राई-लिम्बुले मात्र होइन, सबै समूदायले मन पराउने खालका छन्।

विशेषगरी थारु जातिको मूलपर्व माघी पनि मुलुकभर नै विभिन्न तवरले मनाइन्छ। सुदूर पश्चिमको देउडा नाच मुलुकभर नै लोकप्रिय छ। यस्ता अन्य धेरै जात्रा तथा पर्वहरू छन् जुन नेपालका सबै धर्मावलम्वी तथा समुदायले मन पराउँछन्। नेपालभर मनाइने फागु पनि सबै समुदायको लोकप्रिय पर्व हो।

धार्मिक चाड कै कुरा गर्दा हिन्दूहरूको दिपावलीको चाड तिहार तथा नेपाली नयाँ वर्षलाई नेपालमा सबै समुदायले मन पराउँछन्। त्यस्तै बुद्ध जयन्ती र बौद्ध पूजाआजामा पनि सबै धर्म मान्ने नेपालीले शान्तिको पर्वको रूपमा आस्था जगाएको देखिन्छ भने लुम्बिनी, बौद्ध विहार र गुम्बाहरूको भ्रमण गर्न सबै समुदायले रुचाउँछन्।

गुरु नानक जयन्तीमा गुरुद्वारा जाने वा सामाजिक सञ्जालमा शुभकामना साटासाट गर्नेको पनि कमी छैन। क्रिसमस तथा ग्रेगोरियन क्यालेन्डर अनुसारको नयाँ वर्ष त पुरै विश्वमा झैं नेपालमा पनि धुमधामका साथ सबै समूदायले मनाउने गर्दछन्।

गैह्रमुस्लिमले नमाज नपढ्ने, रोजाको ब्रत नबस्ने र इद नमनाउने भए पनि अधिकांश नेपालीलाई मुस्लिमहरूका यस्ता ठूला चाड प्रति चाख र रुची बढ्दै गएको छ।

हज गर्न जाने मुसलमान बारेको समाचार र उनीहरूले पोष्ट गरेका हजयात्राका फोटाहरू पनि हामी निकै रोचकताका साथ हेर्ने गर्दछौँ। इदको दिन नयाँ कपडा लगाएर मस्जिद जाँदै गरेका इस्लाम धर्मावलम्बी बाटोमा भेट्दा निकै खुशी लाग्छ र मुखबाट ‘इद मुवारक’ निस्की हाल्छ।

नेपालमा दोश्रो जनआन्दोलन पछि प्रजातन्त्रको पुनर्वहाली भए पश्चात् नेपाललाई धर्म निरपेक्ष मुलुक घोषणा गरेर सरकारले सबै धर्मका विशेष चाडपर्वमा राष्ट्रिय बिदा दिने प्रथा शुरु गरेकोले जनतामा कमसेकम सबै धर्मका चाडपर्व बारे ज्ञान र श्रद्धा बढेको छ।

बिदाको विरोध गर्ने मानिसको पनि कमी छैन तर बिदा दिँदैमा मुलुक कत्तिको ठप्प भएको छ र? आखिर बिदा नहुँदा पनि हाम्रो कार्य क्षमता कहाँ धेरै छ र? बिदेशमा पनि सार्वजनिक बिदा धेरै हुन्छन् तर कामको दिन भने ज्यादै अनुशासन र मेहनतका साथ काम गर्छन् त्यहाँका मानिस। जापानमा हप्ताको दुई दिनको बिदाको हिसाबले १०५ दिन र १६ दिन सार्वजनिक बिदा (कुल १२१) घटाउँदा वर्षमा २४४ दिन मात्र काम गर्ने दिन हुन्छन्। त्यस्तै भारतमा १०५ दिनको साप्ताहिक बिदा र १७ दिन अन्य सार्वजनिक बिदा (कुल १२२) कटाउँदा २४३ दिन काम गर्ने दिन हुन्छन्।

चीनमा १०४ दिन साप्ताहिक बिदा र ११ दिन सार्वजनिक बिदा (कुल ११५) कटाउँदा २५० दिन काम गर्ने दिन हुन्छन्। नेपालको कुरा गर्दा यहाँ ५२ दिनको साप्ताहिक बिदा र २२ दिन अन्य सार्वजनिक बिदा (कुल ७४) कटाउँदा २९१ दिन काम गर्ने दिन हुन्छन्। तर नेपालमा काम गर्ने दिन बढी भए पनि यहाँको कामको परिमाण र गुणस्तर अन्य मुलुकको भन्दा ज्यादै कम छ।

नेपाल विभिन्न जात्रा, पर्व र संस्कृतिको धनी मुलुक भएर पनि यहाँको परम्परा धान्ने काम राज्यले भन्दा पनि गुठी तथा आमजनताबाट भइरहेको छ। केही हदसम्म स्थानीय सरकारले मद्दत गर्ने गरेको भए पनि हिजोआज राज्यको संलग्नता ज्यादै न्यून हुने गरेको छ।

राजतन्त्र रहुञ्जेलसम्म विभिन्न जात्रा तथा पर्वहरूमा राजा तथा राजपरिवारको सहभागिता हुँदा एक प्रकारको अर्कै गौरव, रमाइलो र भव्यताको महसुस हुने गर्दथ्यो। तर आज यस्ता जात्रा, पर्व तथा सांस्कृतिक समारोहहरूमा बिदा दिने र सम्बैधानिक र उच्च पदस्थ व्यक्तिहरूको केही बेरको पट्यार लाग्दो सहभागिता मात्र रहने बाहेक यस्ता जात्रा तथा पर्वहरूलाई समय सान्दर्भिक तवरले भव्यतापूर्वक मनाउने बारेका कुनै नयाँ सोच र योजना बनेको नै देखिँदैन।

हुँदा हुँदा सम्बिधान दिवस र प्रजातन्त्र दिवस जस्ता राष्ट्रिय पर्व पनि हिजोआज एकाबिहानै राजधानीको सैनिक मञ्चमा आयोजना गरेर एकाध घण्टामा सक्किइसकेका हुन्छन्। राष्ट्रिय पोशाकको कुनै इज्जत बाँकी छैन आज।

२०६३ सालको जनआन्दोलनमा सबै पक्षको जित भयो तर नेपालको राजतन्त्र मात्र नराम्ररी हार्न पुग्यो। राजा ज्ञानेन्द्रबाट त्यतिबेला केही भूल भएका थिए होलान् तर उनी र राजसंस्थाले मात्र हारेर सदाको निम्ति बिदा पाउनु पर्ने कारण केही थिएन।

वास्तवमा हामीले त्यतिबेला हाम्रो आफ्नै संस्कृति, परम्परा र सभ्यतालाई कुठाराघात गरेको हौं। हो, आजको आधुनिक जगत्मा राजतन्त्र नहुँदा पनि मुलुक चल्न सक्दछ, तर संस्कृतिको बचाव र राष्ट्रिय एकताको निम्ति कुनै राजनीतिक शक्ति विहीन सांस्कृतिक राजा राख्न हामीले के सक्दैनथ्यौँ र?

मेरो मुर्ख र अपरिपक्व सोच नै सही, के अझ पनि संविधानमा थोरै संशोधन गरेर गणतान्त्रिक शासन प्रणाली भित्रै राष्ट्रपतिसहित एक सांस्कृतिक राजा पनि राख्न मिल्दैन र? सुन्दा अचम्मको बहुलट्टीपूर्ण र दुनियामा कहीँ नभएको कुरा जस्तो लाग्ला तर मुलुकको शासन व्यवस्था सम्हाल्ने काम राष्ट्रपति र प्रधानमन्त्रीले गर्ने भए पनि सबै धर्म, संस्कृति र परम्पराको जगेर्ना गर्ने र मुलुकलाई एकवद्ध तुल्याएर संरक्षकको भूमिका मात्र खेल्ने सांस्कृतिक राजा राख्दा कस्तो होला? सुन्दा अनौठो लागे पनि यो असम्भव भने छैन।

भलाद्मीपनाका धनी तथा धर्मभिरु राजा ज्ञानेन्द्रमा राजनीतिक आकांक्षा छ भने उनी यस्तो सांस्कृतिक राजाको निम्ति उपयुक्त व्यक्तित्व हुँदैनन् होला तर हृदयेन्द्र, कोमल वा हिमानी नै पनि त हुन सक्लान् नि त।

उनीहरूको शालीनता, हँसिलो मुहार र सरल जीवनशैलीको प्रभावले मुलुकको धर्म, संस्कृति र इतिहासलाई बचाउन र मुलुकमा शान्ति र अमनचयनको वातावरण बनाउन प्रजातन्त्रवादीहरूलाई पनि त मद्दत पुग्ला नि। यस्तो कुराको पनि व्यावहारिक प्रयोग र अनुसन्धान गरेर हेरौँ न हामीले। आखिर के नै बिग्रन्छ र? सफल भए दीर्घकालसम्म चल्ला, नत्र अन्य उपाय अवलम्बन गरौंला।

आज प्रजातन्त्रको पुनसर््थापना भएको ३४ वर्ष बितिसक्दा पनि नेपाली जनताले राजनैतिक पार्टी, नेता र सरकारबाट आश्वासन पाउने बाहेक अरु केही ठोस कुरा पाएका छैनन्। विकास नै नभएको भने होइन तर थोरै विकासको अनुभूतिका साथै यो ३४ वर्ष पार्टीगत राजनीतिक झैझगडाको मञ्चनमा नै बितेको छ।

मुलुक झन् झन् डरलाग्दो खाडलमा जाकिँदै छ। जनता निकै नै असुरक्षित भएका छन् भने हाम्रो राष्ट्रको अस्तित्व र अस्मिता समेत संकटमा परेको छ। हामी नराम्रो भूराजनीतिक संकटमा पर्न थालेका छौं।

नेताहरूमा अहम् विषयहरूमा राष्ट्रिय समहति जुटेको छैन। सरकार पिच्छे मुलुकका महत्वपूर्ण नीति तथा कुटनीतिमा बिचलन आउन थाल्दछ। बेरोजगारी र असुरक्षाका कारण लाखौं युवाहरू मुलुक छोडेर अन्तै गएका छन् भने गाउँघर र कृषि तथा इलम उजाड भएको छ।

यसो भन्दै गर्दा हालको राजनैतिक व्यवस्था नै गलत हो भन्न खोजेको होइन, तर यसलाई सञ्चालन गर्ने अधिकांश सरोकारवालाको भ्रष्ट चरित्र, जनता र मातृभूमि माथिको निरन्तर गद्दारीपूर्ण कार्य, धर्म-संस्कृति र परम्परा माथिको प्रहार र गैरजिम्मेवारीपनाले गर्दा जनता अन्योलमा पुगेका हुन् तथा झन् झन् गरिव र असहाय हुँदै गएका छन्।

यस्तो बेलामा बिहान बेलुकीको छाक टार्न त समस्या छ भने जनताले मात्र परम्परा र संस्कृतिको संरक्षण र जगेर्ना कसरी गर्ने र खै। यो अवस्थाबाट छुट्कारा पाएर मुलुक अघि बढ्न नेपाली राजनीतिमा शिक्षित, विकास तथा समृद्धिमा समर्पित तथा इमान्दार नयाँ पिँढी हावी हुनु पर्ने बेला आइसकेको छ। केही नयाँ तथा आशा लाग्दा अनुहारहरू भने देखिन पनि थालेका छन्।

धेरै टाढा किन जानु। हाम्रै नजिकका भारत, चीन, जापान, कोरिया, थाइल्याण्ड, इन्डोनेशिया आदि राष्ट्रले आफ्ना प्रमुख जात्रा तथा पर्वहरूलाई आजको समयसँग मिल्दोजुल्दो तवरले सिँगारेर तिनलाई पनि पर्यटक भित्राउने र सम्पदा र संस्कृति जोगाउने माध्यम बनाएका छन्।

चिनियाँ नयाँ वर्ष मनाउन वर्षेनी चीन, सिंगापुर र चिनियाँ मूलका मानिसहरू बस्ने अन्य मुलुकमा जाने पर्यटकको संख्या लाखौँ हुन जान्छ। चिनियाँ तथा भारतीयका संस्कृति झल्कने र खानपान पाइने चाइना टाउन र लिटल इन्डिया त विश्वका सबैजसा ठूला शहरमा हुन्छन्।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र नेपाल पर्यटन वोर्डको काम विदेश भ्रमण गरेर विदेशीलाई नेपालमा भ्रमण गर्ने निम्तो मात्र दिनु होइन। नेपालका जात्रा तथा पर्वलाई पनि ब्राण्डीङ गरेर यिनलाई भव्यतापूर्वक मनाउने र यस्ता जात्रा तथा पर्व हेर्न आउन पर्यटकको लागि प्रचार प्रसार समेत गरेर जात्रा तथा पर्वका क्यालेण्डर र भ्रमण प्याकेज बनाउन पनि यी निकायले सघाउनु पर्छ।

यस्ता सबै महत्वपूर्ण जात्रा तथा पर्वहरूका आयोजकलाई सबै प्रकारका सहयोग तथा सहुलियत प्रदान गर्नु पर्दछ। जात्रा तथा पर्व हेर्न आउने स्वदेशी तथा विदेशी पर्यटकका लागि स्थानीय खानाका परिकार, पहिरन तथा जात्रा झल्कने आकर्षक लघु-आकृतिका पुतली र अन्य सोभेनियरहरू उपलब्ध हुने बन्दोवस्ती हुनु पर्दछ।

अबको घोडेजात्रा एक दिनको होइन। हप्तौंसम्म मनाउनु पर्छ। टुँडिखेलको सैनिक मञ्चमा मनाइने परम्परागत घोडेजात्रामा हालको जस्तै सेनाको घोडा दौड तथा घोडाका अन्य खेलाहरू प्रस्तुत भएको राम्रै हो भने यथेष्ट जमिन भएका प्रदेशहरूमा घोडाको रेसकोर्स नै निर्माण गरेर प्रदेश स्तरिय, राष्ट्रिय र अन्तर्राष्ट्रिय घोडा दौडको आयोजना गरेर यसको प्रचारप्रसार गर्नु पर्दछ भने घोडेजात्रामा गरिने भोजको पनि व्यवसायीकरण गर्नुपर्दछ। अफगानिस्तान, तिव्वत तथा मंगोलियामा जस्तै हिमाली क्षेत्रमा पनि घोडा दौड प्रतियोगिताको आयोजना गर्न सकिन्छ एभरेष्ट म्याराथुन जस्तै लोकप्रियशैलीमा।

गाइजात्रालाई अझै प्रभावकारी रूपले पर्यटन प्रवद्र्धन कै निम्ति भए पनि बसन्तपुर डबली, पाटन र भक्तपुर तथा पाल्पा, पोखरा, धरान र अन्य शहरमा महोत्सव कै रूपमा मनाउन सकिन्छ।

त्यसै गरी फागु, रोपाईँ पर्व, गहना खोज्ने पर्व जस्ता रोमाञ्चक पर्व तथा माघी, दशैँ, यमरी पूर्णे, दहिच्युरा र खिर खाने जस्ता खानपिनका चाडलाई पनि नयाँ किसिमले धुमधामका साथ मनाउन सकिन्छ नि। हामीले पनि त गठेमङ्गल तथा लाखे नाच जस्ता पर्वलाई हेलोविन जस्तै गरेर प्रचार गर्न सक्छौं नि।

मच्छिन्द्रनाथ र मिननाथको रथयात्रा, इन्द्रजात्राको रथयात्रा तथा बिस्का जात्राको रथयात्रा, हाँडिगाउँको रथयात्रा तथा जिब्रो छेड्ने पर्व जस्ता नेपालका मौलिक जात्राहरूलाई अन्तर्राष्ट्रिय स्तरमा प्रचार गरिनु पर्दछ।

यी चाडहरूलाई अझ बढी रौनकका साथ मनाइनु पर्दछ भने यी चाडमा प्रयोग हुने रथहरूलाई पनि बलिया, अझै आकर्षक र रङ्गीबिरङ्गी ध्वजापताकाले सजाउनु पर्दछ। जात्रामा सहभागी हुने भक्तजन तथा स्वयम्सेवीलाई समेत आकर्षक परम्परागत पोशाक वितरण गरिनु पर्दछ भने त्यतिबेला बजाइने बाजागाजा तथा खाने भोज बारे पनि प्रचार प्रसार हुनु पर्दछ।

नेपाल आफै एक सून्दर मुलुक हुनुका साथै यहाँ वनजंगल, भिरपाखा, हिमाल, पहाड र समथर स्थान, जनावर, चराचुरुंगी, तालतलैया हेर्न र यहाँका ऐतिहासिक सम्पदा, गढी, दरवार र मठमन्दिरको अवलोकन गर्न पर्यटकहरू आउँछन्। पदयात्रा, साहसिक पर्यटन, धार्मिक पर्यटन पनि यहाँका विशेषता हुन्।

हालका दिनमा शिक्षा, स्वास्थ्य र पर्या पर्यटन वाहेक विवाह पर्यटन पनि थपिएको छ पर्यटकहरूको यात्रा योजना (आइटिनिररी)मा। यिनको साथसाथै माथि उल्लेख भए जस्तै जात्रा तथा पर्वहरूलाई आधुनिक तवरले ब्राण्डीङ गरेर यस भित्र घोडादौड र एलिफेन्ट पोलो अनि मौलिक खानपान, रहनसहन, पहिरन, गीतसंगीत सहितको नेपाली पर्यटनमा नयाँ आयाम थप्न सकिन्थ्यो। यसो गर्न सके अझ बढी पर्यटकलाई नेपाल भित्र्याउन र उनको नेपाल बसाईलाई लम्ब्याउन पनि सकिन्थ्यो।

त्यस्तै नेपालका मौलिक जात्रा, पर्व र चाडहरूको सम्वद्र्धन गर्नुका साथै यस्ता चाड, पर्व, जात्रा र परम्परालाई सबै नेपालीको साझा सम्पतिको रूपमा विकास गर्न सकिने थियो।

लेखक विकास अर्थशास्त्री र एकल व्यक्तित्व समाज, नेपालका अध्यक्ष हुन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *