कविता : हरेक नयाँ समय

ठाकुर बेलवासे
१ वैशाख २०८१ ७:०४

हिमालबाट हिउँ पग्लिएर पानी बगेजस्तो
जिन्दगीको पहाडबाट उमेर बगिरहेको छ
उमेरसंगै शरिरका अंग -अंग बगिरहेका छन्

पहिरो खसेको पहाडजस्तो बन्दैछ
अनुहार
तेल सकिएको दियो बस्तो बल्दै छन्
आँखा
पानीमा डुवाएका केत्तुकेका पातजस्ता गल्दै छन्
खुट्टा
जीवनबाट हरेक वर्ष थोकमा हराइरहेछ
उमंग
मान्छे बग्दै गरेको पहाडी खोला जस्तो
समयसँग ठोकिँदैठोकिँदै खसिरहेको छ
आफ्नै वटवृक्षबाट

आफैंले बाँचेका जीवनका सम्पूर्ण हरिया समयहरु
सर्लकै विर्सिएर
पात झरेर कंकालमात्रै उभिएका
जराले माटो छोडेर ढल्नमात्रै
समय पर्खिएका वरपीपलजस्ता
बाआमा सँगै छन्
आफैंबाट खस्दैखस्दै उमेर खिइँदै जाँदा पनि
मान्छेले न
बाआमाको अनुहारको ऐनामा
आफ्नो अनुहार हेर्न भ्याएको छ
न त आफैंले चिन्न नसक्ने बन्दै गएको
आफ्नै जीवनलाई छाम्न भ्याएको छ

आफैं सकिएको उत्सवमा नाँच्न श्रापित
मान्छेको नृत्य हेरेर
हरेक नयाँ समय रोमाञ्चित बन्ने गर्छ
प्रत्येक समय जरा छोड्दै गरेको
हरेक मान्छे
नयाँ वर्षका नाममा आफ्नै मृत्यु उत्सव मनाउँदै
इन्द्रेनी सपनाको गर्भाधान गर्छ

समयको भीरबाट खस्दैखस्दै
समयको बाढीमा डुब्दैडुब्दै
सपनासँगै आफैं पतन हुँदैहुँदै
हरेक क्षण मरिरहेको
मान्छे
हरेक नयाँ समयको काखमा
आफ्नै मृत्यु छामेर
दीर्घ जीवनको कामना गर्दै हुन्छ
आफैं सकिएको उत्सवमा नाँच्न श्रापित
मान्छेको नृत्य हेरेर
हरेक नयाँ समय रोमाञ्चित बन्ने गर्छ




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *