सट्टेबाजीमा ५७ करोडको कारोबार गर्ने तीन जना पक्राउ
काठमाडौं। चालु इन्डियन प्रिमियर लिग (आईपीएल) लगायतका विभिन्न खेलमा सट्टाबाजी गर्ने तीन जना पक्राउ परेका छन्। बेटिङ एप वान एक्स बेटमार्फत सट्टाबाजी गराउन संलग्न रहेको आरोपमा काठमाडौंबाट तीन जना पक्राउ परेका हुन्।
पक्राउ पर्नेमा सर्लाही मलंगवा नगरपालिका–९ बस्ने ३१ वर्षीय सञ्जय कुमार साह र १९ वर्षीय रामजी साह तथा सोही नगरपालिकाको वडा नम्बर १० मा बस्ने ३० वर्षीय राकेश चौधरी रहेको उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।
वानएक्स बेटमा लगाउन रकम संकलन गर्ने, गराउने कार्य गर्ने, क्रिप्टो करेन्सी ट्रेड गर्ने सक्रिय एजेन्टहरू रहेको सूचनाको आधारमा उपत्यका अपराध अनुसन्धान कार्यालयले उनीहरुलाई पक्राउ गरेको हो।
कार्यालयका अनुसार गत चैत २९ गते उनीहरूलाई पक्राउ गरी अनुसन्धान शुरु गरेको थियो । प्रहरीले उनीहरुको बैंक खाताबाट ५७ करोड रुपैया ट्रान्जेक्सन भएको जनाएको छ।
उपत्यका प्रहरी कार्यालयमा एसपी रविन्द्र रेग्मीका अनुसार उनीहरुको बैक खाताबाट हालसम्म ५७ करोड ४९ लाख ५७ हजार १४७ रुपैयाँ बराबरको कारोबार गरेको देखिएको छ। प्रहरीले उनीहरुको साथबाट कारोबारमा संलग्न रहेका १६ थान चेक बुक बरामद गरेको छ ।
साथै, ९ थान मोबाइल सेट, २१ थान सिमकार्ड, २ थान ल्यापटप, १ थान सीपीयू, नगद ६२ हजार रुपैयाँ, विभिन्न सहकारीको ११ थान पासबुक, ११ थान डिपोजिट भौचर बरामद गरेको छ ।
उनीहरूले विभिन्न मोबाइल नम्बरहरूबाट २१ वटा कनेक्ट आईपीएस अकाउन्ट खोली ९८ वटा बैंकका खाताहरू लिंक गरेको पाइएको छ ।
Facebook Comment