ज्ञान बुद्धि र बिबेक

शंकरप्रसाद रिजाल
३ वैशाख २०८१ १२:४५

ज्ञान भन्ने शब्दको बिराट रुप छ, जसले हरेक मानव प्राणीलाई यो पृथ्वीमा रहेको र देखिएको विषयवस्तुलाई राम्ररी बुझी आफ्नो मानसपटलमा जीवन्त राखी ज्ञानी बन्नु नै ज्ञानको जागरण हो।

संसारमा भेटिने र देखिने यावत् विषय छन् जुन एक अर्कामा भिन्न छन्। कोही र कुनै चिज कसैसँग मेल खाँदैनन्। प्रत्येक मानिस भगवानको अंशी भएकोले भगवानको सम्झना र गाँसमा पर्न जाने जस्तै प्रत्येक ज्ञानपनि यो भूमण्डलमा आबद्ध भइ नै रहेको हुन्छ।

यो ब्रम्हाण्डमा र पृथ्वीमा करोडौं बिषय छन् जसको बारे थाहा पाउनु एउटा ज्ञानको अर्थ बुझिन्छ। ज्ञानको सीमा हुँदैन। यो कुनै भौतिक रुपमा वजनदार पनि रहँदैन।

भनिन्छ ज्ञान पानी भन्दा पातलो हुन्छ। तर यही ज्ञानले हरेक मानवलाई ज्ञानी बनाई समाज राष्ट्र र अन्तर्राष्ट्रमा प्रतिष्ठा प्रदान गर्दछ। आज ज्ञानको उदयले संसार झन्डै स्वर्ग बनेको छ। हरेक विधाको विकासले संसार झन्डै स्वर्ग बनेको छ।

बिशाल पृथ्वी एउटा सानो गाउँ जस्तो देखिएको छ। ग्रीस, इटाली, भारत, युरोप, अमेरिका र अन्य बिकसित मुलुकमा भएको बिकासले सारा चिजको सुविधाहरु आज मानवले प्राप्त गरिरहेका छन्। भविष्यमा अझ कति र कुन उचाईमा प्राप्त गर्ने गर्ने हो त्यो अझै अज्ञात छ।

आज यही पाएको ज्ञानले मानिसले डाँडाकाँडामा विद्युतीय मोटर र केवलकार निर्माण भइ भयानक सडक पूल पुलेसा र आलिसान गगनचुम्बी महल निर्माण भइसकेका छन्। यो ज्ञानको एक किसिमको पराकाष्ठा नै मान्नु पर्दछ।

यसको साथै ज्ञानले परा भौतिक ज्ञानका लाखौँ शास्त्रहरु पनि निर्माण भइ सकेका छन्। भौतिक शास्त्रले लौकिक बिषय बस्तुको भोग बिलास र बिषय सुखकोमात्र ज्ञान दिलाउँछ भने पारभौतिक ज्ञानले यो सृष्टिको संरचना र यो सबै संचालन गर्ने एउटा अमुक सत्यकोबारे ज्ञान दिलाउँछ।

जो सधैं चित्तआनन्दमा रहिबसेको हुन्छ। यसको निरन्तर ज्ञान र अनुभूतिले मानिस सधैं चिन्मयको संसारमा रमिरहेका हुन्छन्। भनिन्छ “ज्ञान मर्दछ हाँसेर रोइ बिज्ञान मर्दछ’ ज्ञानको श्रेणीबाट माथि उक्लेपछि बुद्धिको तहमा अवतरण हुन्छ।

बुद्धि त्यो गुण हो जसले मानिसलाई ज्ञानको साथसाथै अनुभव र असल निर्णयको पनि मालिक बनाउँछ। यसले प्रत्येक मानिसको ज्ञानको योग्यताको मूल्यांकन गर्दछ। यसले आफ्नो संकलित ज्ञानद्वारा शुद्ध आचरण र अनुशाशनको पालना गराउँछ।

यसले आफूमा भएको ज्ञानलाई कुन बेला र कहाँ र कसरी प्रयोग गर्ने भन्ने निर्देशन दिन्छ। बुद्धिलाई ज्ञानको एक उपल्लो सिँढीको तर्फबाट पनि आलोक गर्न सकिन्छ।

हेर्दा ज्ञान र बुद्धि एकै जस्तो भएता पनि ज्ञान भन्दा माथि बुद्धिको तह रहेको कुरा सत्य छ। ज्ञानमा राम्रा नराम्रा दुवै कुराहरु संगठित भएर रहेको हुन्छ। तर बुद्धिले त्यसलाई शत र अशत छुट्याइ उपल्लो तहको ज्ञानको महिमा मात्र सिकाउँछ।

ज्ञानले योग्यता, सतर्कता, शिक्षा, विज्ञता, प्रसिद्धता र अबलम्बन गर्ने शक्ति प्रदान गर्दछ भने बुद्धिमा साबधानी, अनुभव दूरदर्शीता र ठिक निर्णय गर्ने शक्ति र चलाखीपना दर्साउँछ। अन्त्यमा बिबेकको चर्चा परिचर्चा गर्दा बिबेक ज्ञान र बुद्धि भन्दा माथि देखिन्छ।

बिबेकमा माया लिप्त हुँदैन। जति ज्ञान र बुद्धिमा हुन्छ। बाटोमा देखिएको पैसा वा बहुमूल्य धातु ज्ञानी र बुद्धिमानीले मोहद्वारा उठाउँछ त्यो जोसुकैको होस्। तर बिबेकी पुरुषले उठाउँदैन र भन्छ बिबेकी त्यो मेरो होइन भनेर।

अतः बिबेकलाई जागृत अबस्थामा ल्याउन बडो कठिन छ र हुन्छ पनि। यसको प्राप्तिमा झन्डै इश्वरको प्राप्ति हुन्छ। जबसम्म बिबेक प्राप्ति हुँदैन, तबसम्म इच्छा जाग्रित भइ नै रहन्छ। तर बिबेकमा इच्छारहित कल्पवृक्षको उदय हुन्छ।

बिबेकमा ईश्वर सत्य अरु सबै असत्य मानिन्छ। बिबेक ज्ञान र बुद्धि भन्दा धेरै माथि छ र झण्डै प्राज्ञको रुपमा आउँछ। किनकि प्राज्ञ एक ज्ञान र बुद्धिको सगरमाथा हो जुन ज्ञानले “आफू को हुँ” भन्नेको ज्ञान दिलाउँछ।

यो बिचारलाई अंग्रेजीमा “स्टोइसिजम” पनि भनिन्छ, जसले परमात्माको दर्शनको अघिल्तिर पुर्याउँछ। तसर्थ ज्ञान, बुद्धिमाथि मानिसले आफूलाई उचाली बिबेक र प्राज्ञको तहमा पुर्याउन सक्नु नै मानिसको जन्म सफल भएको मानिन्छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *