नेपालका आमाले के गरे ?

हरिप्रसाद सोडारी
७ वैशाख २०८१ १३:५५

हाम्रा आमाहरुले जन्माउने काममात्र गरेनन् जगाउने र जोगाउने काम पनि गरे। आमा सरस्वतीले ज्ञान, आमा लक्ष्मीले धन, आमा पार्वतीले ध्यान र तन्त्र दिए। वेदलाई माता, भूमिलाई माता, धनलाई माता भनिन्छ जसमा ज्ञान, विज्ञान र वैभव बसेका छन्।

हाम्रो भूमि रक्षार्थ देवीको प्रार्थना र पूजा गरिन्थ्यो भन्ने जानकारी हरेक कोटका देवीका मूर्तिहरुले बताउँछन्। आजसम्म नारीहरूले कैयौन् छोरालाई सुधारेर पुत्र, योद्धाहरुलाई आशीर्वाद दिएर वीर, जनतालाई चेत दिएर नागरिक, कपुतहरूलाई सुधारेर महापुरुष बनाए।

दश कक्षामात्र पढेका भारतका प्रसिद्ध साहित्यकार सूर्यकान्त त्रिपाटी ‘निराला’लाई उनकी श्रीमती रमाले कवि बन्ने प्रेरणा दिइन्। तुलसीकृत रामायणका लेखक तुलसीदासलाई उनकी अर्धांगिनी रत्नावलीले कामदासबाट तुलसीदास बन्ने बाटो खुलाइदिइन्।

विद्यावतीले महामुर्खलाई आदिकवि कालिदासको सुनामधन्य महापुरुष बनाइदिइन्। तपस्विनी भामतीको तपोमय जीवनका कारण वाचपति मिश्र नवौँ शताब्दीका ठूला विद्वान् भई सदाका लागि चमकिरहे। मण्डन मिश्रकी श्रीमतीले शंकराचार्यलाई कायाप्रवेश विद्याको प्रयोग गर्न बाध्य बनाइदिइन्।

नेपोलियन बोनापाट श्रीमतीकै कारणले बोनापाट बने। कालमाक्र्सले श्रीमतीकै आर्थिक बलले स्वतन्त्ररूपमा पुस्तक लेख्ने मौका पाए। रजनीशलाई रजनीश बनाउनमा महिलाको भूमिकालाई हटाइदिने हो भने उनी उज्जैनमा एउटा शिक्षक बनेर डुलिरहने थिए।

हाम्री आमा न त अङ्ग्रेजसँग गइन, न त मुसलमानसँग भागिन्। नदीलाई कोखमा, जमिनलाई काखमा, वैदिक धर्मलाई माथमा, प्रकृतिलाई साथमा लिएर सन्ततिलाई तातेताते गराइरहिन्। वि. सं. २००७, २०१७देखि माओवादी आन्दोलनसम्ममा महिलाको रगत र पसिना परेको छ।

जंगबहादुरलाई प्रथम राणाप्रधानमन्त्री बनाउन टण्डनपरिवारकी कन्याको ठूलो भूमिका छ। दुर्भाग्य यस्ती नारीलाई, यस्ती महिलालाई, यस्ती आमालाई जिम्मेवारीबाट गुमनाम र व्यवहारमा अपमान गर्न वर्तमान राजनीतिले ३३ प्रतिशत भूमिका दिएर खिल्ली उडाएका छन्।

धर्तीलाई धारण गर्ने, धर्मलाई धान्ने आमालाई अपमान गर्ने राजनीतिकर्मीहरु अनि दोष भने धर्म-संस्कृतिमाथि थुपारिदिएको छ। गरिमामयी, करुणामयी, ममतामयी आमाहरूको आँसु पुछ्न छोडेर, कुशिक्षा र कुसंस्कारको नशामा परेर आमालाई वृद्धाश्रममा जान, भू्रणहत्या गर्न, चरित्रलाई चढाएर राजनीति गर्न बाध्य गराएका छन्।

नाति-नातिना खेलाएर, भजन–कीर्तन गाएर, पूजापाठ र मन्त्र जप गरेर जीवनको अन्तिम आनन्द लिने, सन्तोषपूर्वक बस्ने अवस्थामा एक्लो र पीडित बनाएका छौं। सन्तान विदेशिएको पीडा एवं एक्लिएको पीरले मर्नु न बाँच्नुको अवस्थामा आमाहरू छन्।

यही पापले सतानहरु आर्थिकरूपले सम्पन्न भए पनि आत्मीय रुपले विपन्न छन्, मानसिक रूपमा गलेका छन्, शोकले सुकेका छन्। हाम्रो भेषमा आमा छैनन्, घरमा आमा छैनन्, मनमा आमा छैनन्, संस्कारमा आमा छैनन्।

आमालाई जलाएर ममी बनाउन थालेपछि ममीको उग्रचण्डी जागेर सामाजिक जग भत्किएका छन्, सांस्कृतिक संस्कार पहिरिएका छन्। यस्तो दुष्परिणामले न आजलाई फाइदा गर्छ, न भोलिलाई लाभ दिन्छ, न पर्सिलाई शान्ति मिल्छ। माटो र ममतालाई बुझ्न ममीको होइन आमाको आवश्यक छ।

ममी जन्मिएपछि क्युरेट र बालाश्रम हुर्कन थाले, रेष्टुरेन्ट र होटेल फष्टाउन थाले, विदेशी दलाल र चरित्रका पीपासुहरु मोटाउन थाले। हे अबला हो, ममी होइन आमा बन। हे नारी हो! ममी होइन मा बन। हे महिला हो! ममी होइन माता बन। आमा इतिहास हुन्, नारी वीरांगना हुन्, महिला स्वाभिमान हुन्।

आमा नभएको राष्ट्र, समाज र घर मसानघाटजस्तै हुने हुँदा माताको इतिहासलाई संरक्षण गरौं। आमाको इतिहास लेख्नु छ, आमाको काखमा खेल्नु छ, आमाको चरणस्पर्श गरी आशीर्वाद र प्रेरणा लिएर एकपटक राष्ट्रको शान, नेपालीको स्वाभिमान, पुर्खाहरूको इमान उच्च बनाउनु छ।

धर्म, राजनीति, स्वाभिमान मेटिएपछि नारीहरूले भूमिकाबाट हात धुन थाले, इमान भाग्न थाले। महिलाहरूलाई साँढेसात लाग्नाले परिवारको विजोग, समाजको कन्तविजोग, राष्ट्रको हरिविजोग भएको छ।

वि. सं. २०४७ पछिका राजनीतिक पण्डितहरूले महिलालाई मौलो बनाउने, मनी कमाउने, मन भुलाउने भाँडो बनाए। महिला जागरणका लागि ¥याली निकाले, भाषण गरे, ठूलो व्यानरहरू टाँगे, आकर्षक रणनीति तय गरे तर रुपान्तरण भएन।

कागजमा काम, हातमा दाम, मिडियामा नाम आउने उद्देश्यले गरिएका कार्यले सुधार ल्याउँदैन। महिलाको नाममा जति–जति संस्थाहरू खोलिँदै, जुन नारा र अभियान ल्याए पनि झन्-झन् आमाहरू विदेशका खेलौना, कालाकोठरीका गहना, घरका दास हुन पुगे।

महिलाहरूलाई शिक्षाभन्दा सिंगारमा, संस्कारभन्दा सजावटमा, भूमिकाभन्दा भोजनमा सीमित गराई केही संस्थाहरुले नारीहरूलाई खानेभाँडो, दुहुनो गाई बनाइरहेका छन्। संस्कृति र महिला, जीवन र नारी, आत्मीयता र आमा एक अर्काका परिपूरक हुन्।

संस्कृति बिगार्नु छ भने महिलालाई बिगार्नुपर्छ, संस्कृति बिग्रिएपछि बाटो भुलेर कुरुक्षेत्रमा पुगिन्छ। जहाँ एउटै आमाका सन्तान अर्जुन र कर्णको युद्ध हुन्छ, जो मरे पनि कुन्तीलाई पुत्रशोक पर्छ। नेपालीआमामाथि यस्तै खेल खेलिँदैछ अनेक बाहानामा महिलाको चरम दुरूपयोग एवं नारीमाथि शोषण भएका छन्।

आमा सीता हुन् वा द्रौपदी, भृकुटी हुन् वा गान्धारी, मायादेवी वा अनुसूया आफू सकिएर पनि सन्तान, समाज र संस्कृतिको संरक्षण गर्न चाहिन्छन्। आमा, आमा नै हुन्, आशीर्वादकी अखण्ड भण्डार, शुभकार्यकी आधारस्तम्भ हुन्।

अर्थस्य सङ्ग्रहे चैनां व्यये चैव नियोजयेत् पैसाको संग्रह र खर्च गर्ने अन्तिम निर्णय नारीलाई दिनुपर्छ भनेर शास्त्रहरूले किन औँला ठड्याउँथे? स्त्रीलाई सन्तान, सम्पत्ति, शिक्षा र संस्कृतिले प्रबल बनाउन पुर्खा र शास्त्रले सूचित गरेका छन्। आमालाई अधोगतितिर धकल्ने फोहरी खेलमा नेपाली चेली नपरुन्, नेपाली नारी नवहकियून्, नेपाली महिलाहरू नठगिऊन्।

वैदिक शास्त्र, सनातन परम्परा र आर्यावतको समाजले महिलालाई मजबुत, सक्षम, विदुषी बनाउने बाटो देखाएका छन्। महिलालाई सीप, शिक्षा र स्वास्थ्यसेवा निःशुल्क गराउने हो भने राजनैतिक हावा घुसाएर आरक्षण र संरक्षणका आवश्यकता पर्दैन। महिलाहरू चिम्पान्जी र गोहीजस्तै लोपोन्मुख अवस्थामा पुगेका छैनन्।

उनीहरू राजेन्द्रलक्ष्मी, राज्यलक्ष्मी, लक्ष्मीबाई, मीराबाई र दुर्गामाता बन्न सक्छन्। आमा देवी हुन्, प्रेरणाकी स्रोत हुन्, शक्तिको खानी हुन् । ‘श’को अर्थ ऐश्वर्य, ‘क्ति’को अर्थ पराक्रम हुन्छ। जहाँ महिलाको उचित कदर हुन्छ त्यहाँ पराक्रम र ऐश्वर्यले बास गर्छ । महिलाहरूमा आमा बन्ने गुणको विकास गर्नुपर्छ।

आक्रमक व्यवहार, भड्किलो भाषण, नग्न लवाई र तामसी खुवाईले परिवर्तन गर्दैन बरु महाभारतलाई निम्ता दिन्छ। के लोरेन्स नाइटिंगल? के इन्दिरा गान्धी? के कुमारातुंगा ? के महारानी पद्मिनी? के सारन्धा? के पान्डिचेरी माँ? के पारिजात? के आन्नदमयी माँ? के भृकुटी? सबैले आमा बन्ने, नारी हुने शिक्षा दिइरहेका छैनन् र?

आमा बन्नेहरूले शास्त्र र इतिहासबाट पाठ सिक्नुपर्छ, अग्रजका मार्गमा हिड्नुपर्छ, वीरांगाहरूबाट कर्तव्य बोध गर्नुपर्छ। दशौं-एघारौं शताब्दीमा केही मुसलमानले भारतमा हिन्दूनारीहरूमाथि अन्याय गर्दा बचाउने चुनौती थियो।

सिन्दूर, पोते लगाएका महिलाहरूलाई मुसलमानहरूले आक्रमण नगर्ने भएकाले इज्जत रक्षाको लागि बालविवाहको सुरुवात गरे। बालविवाह शास्त्रसम्मत नभएर आपत्तिकाले मर्यादा नास्ति भन्ने अवस्थामा अपनाइएको व्यवहारमात्र हो। यसैलाई कालजयी उदाहरण बनाउनेहरुले वर्तमानका पश्चिमीमुलुकलाई पढ्ने, सुन्ने र हेर्ने गरे आफैं उत्तर पाउने थिए।

संस्कृति बिगार्नु छ भने महिलालाई बिगार्नुपर्छ, संस्कृति बिग्रिएपछि बाटो भुलेर कुरुक्षेत्रमा पुगिन्छ। जहाँ एउटै आमाका सन्तान अर्जुन र कर्णको युद्ध हुन्छ, जो मरे पनि कुन्तीलाई पुत्रशोक पर्छ। नेपालीआमामाथि यस्तै खेल खेलिँदैछ अनेक बाहानामा महिलाको चरम दुरूपयोग एवं नारीमाथि शोषण भएका छन्।

माता, मातृभूमि र मातृसंस्कृतिप्रति आस्थावान्ले नारीलाई अपमान गर्दैन। पृथ्वीनारायणले राजाहरुलाई पराजित गरेपछि यहाँका रानी, युवराज्ञीलाई मातृवत् व्यवहार गरे। माओवादी आन्दोलन र त्यसपछिको राजनीतिक वातावरणले नारीहरुको हुर्मत नलिएको भए शासनसत्ता त्यति स्खलित हुने थिएन।

महिलाको इज्जतमा ध्यान नदिएकाले रणबहादुरले पतनको मुख देख्न पुर्‍यो। महात्मा गान्धीले आमाको प्रशंसा गरे। भारतका प्रथम प्रधानमन्त्री जवाहरलाल नेहरू पुरुष आउँदा बसेरै नमस्कार गर्दथे तर महिलाहरू आउँदा उठेर स्वागत गर्दथे।

रावणको अन्तिम दर्शन गर्न आएकी मन्दोरी रामलाई भेट्न पुगिन्। मन्दोदरीको छायाँ पर्ने बित्तिकै राम अलिक पर सरे। मन्दोदरीले भनिन्- “हे राम! विश्वविजेता रावणलाई बाँदरसेना लिएर कसरी मार्‍यौं भन्ने बुझें।”

रामले कारण सोद्धा मन्दोदरीले भनिन्- “तिमी मेरो छायाँ देखेर टाढियौं। मेरा श्रीमान् वासनाले सीता हरण गर्न पुगे। अर्काकी श्रीमतीलाई आमा सम्झने तिम्रो निष्ठाले तिमीलाई मर्यादा पुरुषोत्तम बनायो तर रावणलाई मार्‍यो।”

जसले नयाँ जीवलाई उत्पादन गर्दछ, सृष्टिचक्रलाई निरन्तरता दिन्छ, त्यस्ती महिलाको पूजनमा ईश्वर पनि खुसी हुन्छन्। मनुस्मृतिमा भनिएको छ- “यत्र नार्यस्तु पूज्यन्ते रमन्ते तत्र देवताः”।

पतिसँगै जंगल गएकी सीता, यमराजको मुखबाट पतिलाई मुक्ति गराउने सावित्री, पतिको अपमानको सहन गर्न नसकी यज्ञमा देहत्याग गर्ने सतीदेवी, समुद्रमा शयन गर्दा साथमै बस्ने लक्ष्मी, किचकको अपमान सहेर पतिसँगै रमाउने द्रौपदी, रानीबाट कंगाली अवस्थामा पुग्दासमेत पतिलाई नछोड्ने हरिश्चन्द्रकी श्रीमती, भगवान् त्रयले छल गर्दा पतिव्रताधर्मको प्रभावले बालक बनाउन सफल अनुसूया, आफैँलाई बिक्री गरी रानी पदलाई लात मारेर पतिको ऋण तिर्ने महारानी शैव्या, नलकी अर्धाांगिनी दमयन्ती, आफ्नी सौतालाई सम्पूर्ण सम्पत्ति सुम्पिएर याज्ञवल्क्यलाई रोज्ने मैत्रेयीले बताउँछन् कि हाम्रा आमाले के गरे? अब आउने आमाले के गर्नुपर्छ?

आमाको गौरवमय गर्वलाई समाज हेरेर, पुराण पढेर, इतिहासलाई गमेर बुझौं। नेपाल आमामाथि प्रहार भइरहेकाले सन्तानको भविष्य सुरक्षा गर्न, वैदिक विरासद र आर्ष अस्मितालाई बचाऊँ। बुबाको निधनपछि सन्तान आधा टुहुरो हुन्छन् तर आमाको निधनले पूर्ण टुहुरा बन्छन्।

आमासँग हरेक सन्तानको मन, मुटु तथा स्वाभिमान राष्ट्रको माटो जोडिएको हुन्छ। अतः हामी छोरा होइन पुत्र, छोरी होइन पुत्री बनौं। छोरा कहिलेकाहीँ मोरा, छोरी पनि मोरी बन्न सक्छन्।

आमाको अस्तित्व र अस्मिताको संरक्षणका लागि बलभद्र, कालु पाण्डे, भक्ति थापा, अमरसिंह र शिवराम बस्नेतजस्ता असल सन्तान बनी नेपाल आमाको चौकीदारी गरे। अंग्रेजसँग नालापानीमा युद्ध गर्दा होस् वा मुसलमान सेनासँग मकवानपुरमा लड्दा होस् आमाहरुले साथ दिए, खाली पेटमा लडे, काखमा बच्चा बोकेर योद्धा बने। सन्तानलाई आमाले आशीर्वादको वर्षा गरिरहन्छिन्, बाटो देखाइरहन्छिन्, भविष्य सुनौलो बनाइरहन्छिन्।

हाम्री आमा न त अङ्ग्रेजसँग गइन, न त मुसलमानसँग भागिन्। नदीलाई कोखमा, जमिनलाई काखमा, वैदिक धर्मलाई माथमा, प्रकृतिलाई साथमा लिएर सन्ततिलाई तातेताते गराइरहिन्। वि. सं. २००७, २०१७देखि माओवादी आन्दोलनसम्ममा महिलाको रगत र पसिना परेको छ।

यस्ती आमाका सन्तानले विदेशी राजनीति र धर्मलाई ढोग्ने कि? पञ्चानन्को गर्जना गर्ने? आमालाई साथ नदिने सन्तानको अनुहार हेर्न त के नाम सुन्नसमेत हुँदैन। वैदिककालदेखि पवित्र एवं अक्षुण्ण रहँदै आएको नेपालको इतिहासलाई भुल्न हुँदैन।

हामी आमालाई आमाकै रूपमा, आमाकै भूमिकामा, आमाकै स्थानमा, आमाकै घरमा हेर्न चाहन्छौं। मातृदेवो भवको मूलमन्त्रलाई युगौँयुगसम्म जपेर बाँच्न चाहन्छौं। शास्त्रले, भूमिले, इतिहासले आमाको गौरव बोकेको छ। आमालाई बुझ्न शस्त्र र शास्त्रलाई सोध्नुपर्छ, माटोलाई पढ्नुपर्छ, मन्त्रलाई सुन्नुपर्छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *