कतारका राजाको स्वागतमा सिंगारियो काठमाडौं (तस्वीरसहित)

अनिल पोख्रेल
११ वैशाख २०८१ १४:१४

काठमाडौं। कतारका राजा शेख तमिम बिन हमाद अल थानीको स्वागतका लागि  राजधानी काठमाडौं सिंगारिएको छ। कतारका अति विशिष्ठ पाहुनाको स्वागतका लागि काठमाडौँको मुख्य सडक, चोकमा स्वागतद्वार, तुल ब्यानरसहित चिटिक्क पारिएको हो।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलदेखि तीनकुने, नयाँ बानेश्वर, बबरमहल, माइतीघर, त्रिपुरेश्वर, कालीमाटी, जमल, लैनचौर, त्रिपुरेश्वरलगायत क्षेत्रमा स्वागतद्वारसहित सडक सफाइलगायतका व्यवस्थापन गरिएको छ।

काठमाडौं महानगरपालिकाले राजधानीका विभिन्न स्वागतद्वारा निर्माण, सडक सरसफाइलगायतका काम गरेको हो। महानगरपालिकाका प्रवक्ता नवीन मानन्धरले कतारका अमिरको स्वागतका लागि महानगरपालिकाले सडक सौन्दर्य, सरसफाइ, हरियाली कायम राख्नेदेखि शान्तिसुरक्षामा समेत व्यवस्थापकीय काम गरेको बताए।

काठमाडौंका विभिन्न सडक चोकमा नेपाल र कतारको झण्डा फहराइएको छ । स्वागतद्वारामा नेपालका राष्ट्रपति रामचन्द्र पौडेल र कतारका अमिरको तस्बिर अंकित ब्यानर राखिएको छ। उक्त ब्यानरमा जीवित देवी कुमारीले नमस्कार गरेको तस्बिर पनि आकर्षकरुपमा सजाइएको छ । उपत्यकाका संस्कृति परम्परा झल्कने विभिन्न तस्बिर अंकित ब्यानरले सर्वसाधारणको ध्यान आकर्षित गरेको छ।

सरकारले कतारका अमिरबाट हुने नेपालको राजकीय भ्रमणका अवसरमा आज सार्वजनिक बिदा दिएको छ। सोमबारको मन्त्रिपरिषद् बैठकले कतारका अमिरले यही वैशाख ११ देखि गर्नुहुने नेपालको राजकीय भ्रमणका अवसरमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो।

राष्ट्रपति रामचन्द्र पौडेलको मैत्रीपूर्ण निमन्त्रणामा कतारका अमिर शेख तमिम बिन हमाद अल थानी आज अपराह्न नेपालको दुईदिने राजकीय भ्रमणमा आउँदै छन्।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *