भोजको सिजन
नयाँ वर्षको थालनीबाटै विभिन्न बहानामा भोजैभोजका समारोहमा निकै पटक सरिक हुनुपर्यो। केही दिन नयाँ वर्षको उपलक्ष्यका दिवा तथा रात्रिभोज त धेरै दिन ब्रतबन्ध तथा विवाहका समारोहहरू।
कतै नातेदारहरूसँगको भलाकुसारी त कतै साथीहरूसँगको भेट। भोज भन्ने वित्तिकै नयाँ वा सुकिला लुगा लगाएर विभिन्न थरीका मानिसहरूसँग हुने भेट र अनेकन् थरीका खानपान गर्ने थलो। भोजैको लागि निजी निवास, रेष्टुरेन्ट, पार्टी प्यालेस र ठूला-साना होटेलहरू धाइयो। एक प्रकारले यी सबै भोजहरूका आआफ्ना प्रकारका अनुभव रहे।
सरकार र महानगरपालिकाले नयाँ वर्षको शुरुवातदेखि नै काठमाडौँको दरवारमार्ग र ठमेल क्षेत्र सधैँ रातभर खुल्ने बन्दोबस्ती मिलाएको छ। महानगरमा हुनुपर्ने त यस्तै नै हो, तर रेष्टुरेन्ट, डिस्कोथेक र केही पसल मात्र खुलेर पुग्दैन।
अन्य अत्यावश्यक कुरा पाउनुका साथै यातायातका साधन पनि चल्नु पर्छ शहरमा र बिजुलीको अटुट आपुर्ति समेत हुनु पर्दछ। विमानस्थल रातभर खुल्न थालेको वर्षौं भइसकेको भए पनि शहरको केही भाग हाल मात्र आएर खुल्ने भएको छ। आशा गरौँ सबै बन्दोवस्तीको कामले निरन्तरता पाउने छन्।
हाम्रो वाल्यावस्था र युवावस्थामा प्रायः भोजहरू घरमा नै आयोजना गरिन्थे। राजधानीमा समेत सबैको घरमा यथेष्ट ठाउँ हुन्थ्यो पाल टाँग्न र दुई-चार सय मानिसलाई बोलाएर खुवाउन। खाना पकाउन आवश्यक यावत सामान खरिद गरेर घरमा जम्मा गरिन्थ्यो। पकाउने ठुला भाँडा र दाउरा अनि मट्टितेलको पनि राम्रै जुगाड गरिन्थ्यो।
खसी, कुखुरा काट्ने देखि तरकारी काटेर धुने काम घरैमा हुन्थ्यो। एकाध हलुवाई तथा उनका सहायकसहित घरपरिवारका मानिस, इस्टमित्र र छिमेकीले समेत सघाउँथे। बिहानदेखि पकाउन शुरु गरेपछि प्रायः ३ बजेतिर शुरु हुने भोजको तयारी यथासमयमा नै सम्पन्न हुन्थ्यो।
प्लेट तथा चम्चा-काँटा सफा गरेर सुख्खा बनाउने कामदेखि निम्तालुको निम्ति पान, सुपारी र चुरोट समेत तयारी अवस्थामा राखिन्थ्यो। मौकाको फाइदा उठाएर चुरोट र सुपारीले खल्ती भर्ने पनि भेटिन्थे।
त्यतिबेला खाना पकाउँदाको एउटा रमाइलो प्रसङ्गको पनि वर्णन गर्न मन लाग्यो। टोल–छिमेकको एउटा त्यस्तै भोजको खाना पकाउँदा बडेमानको डेक्चीमा खसीको मासु पाक्ने बेलामा घरमुली र भान्सेले मासुमा अलि धेरै नै काँचो मेवाका टुक्रा र सुपारी हालेको देखेर त्यसो किन गरेको भनेर मैले सोधेको थिएँ।
जवाफमा मुस्कुराउँदै घरमुलीले मासुमा काँचो मेवा र सुपारी हालेपछि थोरै मासु खाँदा पनि अघाउने हुँदा मासु धेरै खाँदैनन् भने। घरमा भएको भोज खान मानिसहरूलाई बोलाउने र धेरै खाइदेलान् भनेर पनि डर हुने त्यतिबेलाको अवस्था देखेर मलाई हाँसोको साथै अचम्म पनि लागेको थियो।
वास्तवमा विवाह, ब्रतबन्ध र अन्य कुराको खुशीयालीमा भोज नखुवाई नहुने हाम्रो चलन भएको तर आर्थिक भार पनि निकै पर्ने भएर पनि त्यसो गर्नु परेको होला।
खासगरी ब्राह्मण तथा घरमा मासु तथा तमासका खाना नहुल्ने समुदायका बिहे-ब्रतबन्धमा रक्सीको त कुरै छोडौँ, मासुको परिकार खुवाउने चलन पनि निकै पछि मात्र चल्न थालेको हो। पछि पछि भने बाहुन-क्षेत्रीको घरको बिहे-ब्रतबन्धमा रक्सी र वियर राख्ने चलन चल्न थाल्यो।
शुरुमा अलिक उमेर पुगेका लोग्ने मानिसले मात्र यस्ता पेय पदार्थ सेवन गर्थे भने हामी जस्ता युवाले लुकेर मात्तिने गरी नै पिउने गर्दथ्यौँ। हिजो आज त धेरै महिलाहरू मदिराको आनन्दमा झुमिरहेको देख्न पाइन्छ भोजहरूमा। केही दिन अघिको एउटा बिहेको भोजमा एक महिलाले मात्तिएर देखाएको ताण्डव नृत्य हेर्न लायककै थियो।
त्यस्तै एकजना भद्र पुरुषले रक्सी धेरै सेवन गरेर पार्टी प्यालेसको हलबाट पार्टी परिसरमा निस्कने वित्तिकै ढुनमुनिएर भित्र आउने धेरै निजी सवारीका साधनलाई रोक्ने इशारा गर्दै ‘ट्याक्सी’ भनेर कराएको र पछि पछि आइरहेका पत्नी र छोराछोरी लाजले भुतुक्कै भएको देख्दा नराम्रो लागेको थियो।
यो महिनामा करिव ८-१० वटा ब्रतबन्ध र बिवाहको भोजहरू भ्याउन सकियो। बोलाएको ठाउँमा गएन भने रिसाउँछन् र कतिमा त जान पनि निकै गाह्रो पर्दछ। जति नै सवारी साधन अट्ने पार्किङ सुविधा भए पनि भोज भतेरको समयमा होटेल तथा पार्टी प्यालेसमा पार्किङको निकै समस्या हुने गर्दछ।
उमेर बढ्दै गएका हामी जस्तालाई हिजो आज भिडभाडमा बसेर चिल्ला र मसलादार खाना खान पनि त्यति सहज नहुने। त्यस माथि हाम्रो समाजमा अनायास सोध्न हुने वा नहुने कुरा र पेचिला हँस्सी ठट्टा निकै सामान्य भएकोले सबै त्यस्ता कुरा सुनेर मन नपरे पनि हाँसेर बस्नु पर्ने।
अर्को तर्फ निकै समयसम्म भेट नभएका हितैषी मित्र तथा नातेदारहरूसँग त्यस्ता भोजमा भेट हुने भएकोले त्यस्ता अवसरहरूमा सकेसम्म सरिक हुने मन पनि हुने।
धेरै जसो भोजहरूमा खानाका प्रकार उस्तै उस्तै हुने भए पनि कैयन् भोजमा विशेष प्रकारका खानाहरू पनि राखिएका हुन्छन्। स्वास्थ्यको ख्याल राखेर हिजोआज चिल्लो तथा पिरो कम भएका खानेकुरामा बढी जोड दिएको पनि देखिन्छ भने फलफूल र सागसब्जीका परिकार अधिक राखिएका हुन्छन्।
तर धेरै मानिसका निम्ति खाना बनाउनु पर्ने भएकोले अक्सर यस्ता पार्टी भेन्यूहरूमा सागसब्जी, फलफूल, मासु तथा भाँडाकुँडा राम्ररी धोएको हुन्छ या हुँदैन भन्ने कुराले भने मन पिरोलिइरहन्छ। तर पनि हामी नेपालीले केही हदसम्म जस्तोसुकै खाना पनि पचाउन सक्छौँ भन्ने आत्मबलले गर्दा त्यस्ता कुरामा खासै ध्यान नदिई खानाको आनन्द लिइन्छ।
आजकल आफुले मदिरापानलाई विश्राम दिएकाले भोजमा गएर मानिसहरूसँग छोटो भेटघाट गर्ने वित्तिकै खाना खाएर बिदा हुने बानी बस्दै गएको छ।
यसो हुँदा खानाको स्वाद पनि राम्ररी लिन पाइने र छिटो घर फर्केर सुत्नाले भोलिपल्ट पनि ठीक समयमा उठ्न सकिने। मदिरा सेवन गर्ने ती दिनहरूमा खाना खाएर घर फर्केको भए पनि कैयन् पटक भोजमा के के खाएँ भनेर भोलिपल्ट सम्झन नै नसकिने अवस्था हुने।
यसपालीका कैयन् भोज-भतेरमध्ये काठमाडौँको एक सम्भ्रान्त मुस्लिम परिवारको विवाहको भोजमा सरिक हुने समेत मौका मिल्यो। नजिकको नातो नै पर्ने यो परिवारले सो विवाहको भोज आफ्नै विशाल घर परिसरमा गरेको थियो।
भर्खरै रम्जानको १ महिने ब्रत सकिएर इद मनाएका इस्लाम धर्मावलम्वीहरूको बाक्लै उपस्थिति रहेको सो विवाह समारोहमा अन्य धर्मावलम्बी पनि प्रसस्त थिए।
भारतको लखनउबाट गवैया तथा वाद्यवादकहरू बोलाएर बाकायदा सांगितिक कार्यक्रमको नै आयोजना गरिएको सो भव्य विवाह समारोहको भोजमा राखिएका अधिकांश खानपानका परिकार र तिनलाई तयार गर्ने भान्से र मरमसला पनि भारतको लखनउबाट नै ल्याइएको कुरा सुन्नमा आएको थियो।
त्यहाँ पिएको जस्तो ज्यादै स्वादिलो र बाक्लो लस्सी त यो भन्दा पहिले भारतमा नै मात्र खाइएको थियो। त्यस्तै त्यहाँ आएका निम्तालुहरूको पहिरन पनि निकै आकर्षक थिए। मदिरा पुरै वर्जित थियो। कति सौम्य भोज। सबैजना गफगाफ, गीतसंगीत र खानपानमा नै व्यस्त।
खाना पश्चात् खाइएको ‘शाही टुकडा’ नामको मिठाई आफु सानै छँदा वाराणसीमा खाएको झल्को आयो। शाही टुकडा भारतको पुरानो मिठाई भएको र खासगरी इश्लाम धर्मावलम्बीहरूको एक विशेष मिठाई हो।
पाउरोटी जस्तो तर खाँदा झुरुम झुरुम हुने खरो वस्तुलाई दुध र चिनी तथा काजु, पेस्ता, कागजी बदाम, ओखर, केशर र अन्य मसलाको घोलमा डुबाएर ठण्डा राखिएकोले यसको स्वादमा एक प्रकारको अति मिठोपना। जे पर्ला उहीँ टर्ला भनेर २ वटा क्वाप्प खाइदिएँ। दिव्य आनन्द।
शाही टुकडा खाँदा पनि एउटा पुरानो कुराको याद आयो। २०४६ साल भन्दा केही वर्ष पहिले नेपाली कांग्रेसका शिर्ष नेता कृष्णप्रसाद भट्टराई, गणेशमान सिंह, गिरिजाप्रसाद कोइराला र अन्य वामपन्थी तथा पञ्चायती नेताहरूलाई मेरा पिताजीले बरोबर रात्रीको खाना खाने गरि आफ्नो निवासमा आमन्त्रण गरेर राजनीतिक तथा अन्य वौद्धिक भलाकुसारी गरिरहनु हुन्थ्यो।
यसै सिलसिलामा एक चोटी उहाँले मेरै अगाडि किशुनजीलाई फोन गरेर त्यो दिन बेलुकीपखको खानपान र अशोक कुमार, उत्पल दत्त र ए.के. हङ्गल अभिनित भारतीय हाँस्य सामाजिक चलचित्र ‘शौकिन’ भिडियोमा हेर्ने निम्तो गर्नुभयो।
मेरा पिताजीलाई भाइ सरी निकै मन पराउने किशुनजीले के खुवाउने भनेर सोध्नु भयो। पिताजीले ह्विस्कीमा रेड लेवल, चनाको दाल, भात, तरकारी, मासु, अचार र मिठाइमा शाही टुकडा भन्ने वित्तिकै किशुनजीले निकै प्रफुल्लित मुद्रामा ‘शाही टुकडा!!!’ भनेर जरुर आउने भन्ने अभिव्यक्ति दिँदा मेरो मन निकै खुशी भएको थियो।
वास्तवमा त्यो दिनका सबै परिकार र ह्विस्की समेत किशुनजीका विशेष रुचिकर खानपानका वस्तु थिए। खानपानका साथै सो चलचित्रमा ३ जना वृद्धहरूले आफ्ना पत्नीहरू केही दिनको निम्ति तीर्थमा गएको फाइदा उठाएर गरेका अतृप्त प्रेमका हर्कतहरू हेरेर अविवाहित किशुनजी निकै हाँस्नु भएको थियो।
करिव ८ वर्ष पहिले मेरै भतिजाको भारतको मुम्बईमा आयोजित अन्तर्धार्मिक विवाहमा सरिक हुँदा लगातार ७ दिनसम्म विभिन्न प्रकारका छुट्टाछट्टै व्यञ्जनका भोजहरूको मजा लिँदा मन निकै रोमाञ्चित र प्रसन्न भएको थियो।
कुनै दिन चाटका विभिन्न परिकारका साथै पानी पुरी र डोसाका परिकार त कुनै दिन मासुका विभिन्न परिकार त कुनै दिन बिर्यानीका फरक फरक परिकार। भोज मुताविकका पहिरन।
त्यहीबेला मैले पहिलो पटक भारतीय विवाहका मेहेन्दी, संगीत जस्ता चलनहरूको नजिकबाट शुक्ष्म अवलोकन गर्न पाएको। आज आएर नेपाली विवाहमा पनि मेहेन्दी, संगीत, दुलहा-दुलही सहित अरुको नृत्य र अन्य रश्महरू थपिँदै गएका छन्।
एक थरी मानिसहरू यस्ता महँगा चलनहरू र भोजहरूले विवाहमा आर्थिक भार र विसंगती थपिँदै गएको कुरा गर्छन् भने अर्को कोणबाट हेर्दा विवाहलाई सरल बनाउँदै जानुमा नै कल्याण हुने देखिन्छ।
तर हुनेले निकै पैसा खर्च गरेर विवाह र अन्य रीतिरिवाजको आयोजना गरे भन्दैमा उनको अनुशरण गर्नु पनि जरुरी छैन र त्यस्ता भोजको वहिस्कार गर्नु वा निन्दा गर्नु पर्ने पनि कुनै कुरा छैन। बोलाएको ठाउँमा जाने, मिठो खाने, विभिन्न प्रकारका तामझाम हेरेर आनन्द लिने र तारिफ गरेर नै फर्कने।
हाम्रो समाजमा कतिपय मानिसहरूले ठूला होटेलमा प्रवेश समेत गरेका छैनन् भने ठूला पार्टी प्यालेसमा भोजको आयोजना गर्ने हैसियत पनि छैन। त्यस्तै हामीमध्ये धेरैले ठूला रेष्टुरेन्टहरूमा मोटो रकम तिरेर खानपान गर्न र मजा लिन सक्ने अवस्था पनि छैन।
हाम्रो यस्तो आर्थिक अवस्थामा हाम्रा सम्भ्रान्त आफन्तले हामीलाई पनि बोलाएर महँगा चालचलन र खानपानको मजा लिने अवसर दिएका छन् भने हामीले त्यस्ता अवसरलाई किन नकार्ने र ?
बरु हामीमध्ये धेरैमा भएको एउटा खास नराम्रो बानीलाई भने सुधार्नै पर्छ। त्यो के भने, हामी भोजमा मुख्य खाना प्लेटमा पस्कँदा सबै परिकारको अवलोकन नै नगरी शुरुको परिकारदेखि अन्तको परिकारसम्म धेरै धेरै परिमाणमा प्लेटमा हाल्छौँ।
आखिर खान नसकेर अधिकांश खाना फ्याँक्छौँ। धेरै चोटी मबाट पनि यस्तो भूल भएको छ। विश्वका कैयन् ठाउँमा धेरै मानिसहरू खान नपाएर कुपोषणको शिकार भएका छन्, हाम्रै अगाडि मान्छे तथा जनावर खाना खान नपाएर छटपटिइरहेका हुन्छन् भने बोटविरुवा पनि मलजल नपाएर सुकिरहेका हुन्छन्।
मुलुकमा वर्षेनी ठूलो धनराशी खर्चेर खाद्यान्न र अन्य खाद्य तथा पेय पदार्थ आयात हुने गर्दछ। यस्तो अवस्थामा खाना फ्याँक्नु भनेको हामीले मुलुक, प्राणी जगत र प्रकृतिलाई नै पनि ठगेको ठहर्दछ।
आजभन्दा ४०-५० वर्ष अघि भोजमा खाना खाने मुख्य प्लेट सानो (९ इन्च)को हुन्थ्यो। पछि यसको साइज केही ठूलो (१२ इन्च) बन्न थाल्यो। तर आज आएर अधिकांश ठाउँमा महँगी र खाना खेर गएकै कारणले होला पुरानै साइजको प्लेटको चलन बढेको छ।
खाना लगाएको टेबुलका सबै खानाको शुरुमा अवलोकन गर्नु पर्दो रहेछ र आफुलाई मन पर्ने खाना पहिला थोरै थोरै हालेर खाएपछि मात्र मिठा परिकार थपेर खानु पर्दो रहेछ। शरीरमा कुनै किसिमको स्वास्थ्य सम्बन्धी समस्या छ भने भोज भन्दैमा कुफत वा फाइदा नगर्ने खाना बढी खानु हुँदैन रहेछ। तर थोरै चाख्दैमा त्यसले हानी पुर्याउँदैन।
म सानै छँदा हाम्रा पिताजीलाई सपरिवार काठमाडौँस्थित चिनिया राजदूतावासले चिनिया डिनर खान बरोबर बोलाउने गर्दथ्यो। भोजमा जानुभन्दा पहिले पिताजीले हामीलाई एकचोटीमा एक थरी खाना ल्याउँछन्। धेरै नखानु। किनकी कुल मिलाएर २०-२५ प्रकारका झन् झन् मिठा खाना सर्भ हुन्छन्। सबैको निम्ति पेटमा ठाउँ राख्नु भन्नुहुन्थ्यो।
हाम्रो अर्को नराम्रो बानी भनेको भोज होस् या विदेश भ्रमण, हामीमध्ये धेरैलाई आफुले प्रत्येक दिन खाने खाना जस्तै दालभात नै नभई नहुने। यस्तो बानी विश्वका सबै ठाउँका मानिसमा हुन्छ। यो बानीलाई पनि बदल्नु जरुरी छ।
भोज होस् या विदेश भ्रमण, विभिन्न मानिसहरूसँग भेट्नु, सून्दर, आकर्षक र प्रख्यात ठाउँहरू घुम्नु जस्तै विभिन्न ठाउँका परिकार चाख्नु पनि जीवनमा आर्जन गर्नुपर्ने अनुभव भित्र नै पर्दछन्। त्यसैले आफुले खाने गरेका मासुका विभिन्न परिकार, सागसब्जी र फलफूलहरू र पेय पदार्थको स्वाद लिएर आनन्द लिन सिक्नु पर्दछ।
पाक कला जस्तै खाने कलाले पनि मानिसको व्यक्तित्व झल्काउँछ। मिठो तथा हल्का खानाले चिन्ता र दुख बिर्साउने, द्वेष तथा घृणा कम गर्ने तथा मनलाई खुशी पार्ने काम समेत गर्ने भएकोले मिठो खाना ठीक मात्रामा खाउँ, खाने, पकाउने तथा खुवाउने कला सिकौँ, खाना बारेका पुस्तक पढौँ, भिडियो हेरौँ र सुखी जीवन बिताऔँ।
लेखक विकास अर्थशास्त्री र एकल व्यक्तित्व समाज, नेपालका अध्यक्ष हुन्।
Facebook Comment