जोली एलएलबी-३ को सुटिङ सुरु, यसअघिका दुवै जोली फिल्ममा हुने
काठमाडौं । जोली एलएलबी-३ को सुटिङ सुरु भएको छ । यो फिल्ममा यसअघिका २ फिल्ममा मुख्य भूमिकामा रहेका अरशद वारसी र अक्षय कुमार आमनेसामने हुने भएका छन् । यसअघि जोली एलएलबीमा अरशद वारसी र जोली एलएलबी-२ मा अक्षय कुमार मुख्य पात्र जोलीको भूमिकामा थिए ।
‘जोली एलएलबी ३’ मा अक्षय र अरशद आमनेसामने हुने खबर पहिले नै आएको थियो । अब अन्ततः यो चलचित्रको छायांकन सुरु भएको छ । अक्षय कुमारले आफ्नो इन्स्टाग्राम अकाउन्टबाट एउटा फनी भिडियो सेयर गर्दै फ्यानलाई यो जानकारी दिएका छन् ।
अक्षयले आफ्नो आधिकारिक इन्स्टाग्राम अकाउन्टबाट फ्यानहरूसँग ‘जोली एलएलबी ३’ को अपडेट सेयर गरेका छन्, जसमा उनी र अरशद दुवैले आफू वास्तविक ‘जोली’ भएको दाबी गरिरहेका छन्। एकातिर अर्शद भन्छन्, ‘जगदीश त्यागी उर्फ जोली, बीए एलएलबी। नक्कलीहरूबाट सावधान रहनुहोस्।’ भिडियोमा अक्षय भन्छन्, ‘जगदीश्वर मिश्रा, बीए एलएलबी। मूल जोली, लखनऊबाट।’
यी दुईपछि भिडियोमा सौरभ शुक्ला देखिएका छन्, जसले दुवै फिल्ममा जज सुन्दरलाल त्रिपाठीको भूमिका निर्वाह गरेका छन् । भिडियोमा उनले ‘शुट बिगिन्स’ को प्लेकार्ड बोकेका छन् ।
फिल्म ‘जोली एलएलबी’ (२०१३) मा बलिउड फ्यानका मनपर्ने कलाकार मध्येका अर्शद वारसीको कमेडीलाई याद गरौं। राष्ट्रिय चलचित्र पुरस्कार विजेता यो चलचित्रमा अरशद वारसी, बोमन इरानी र सौरभ शुक्ला मुख्य भूमिकामा थिए । पहिलो फिल्ममा कथा दिल्लीको अदालतमा देखाइएको थियो र अर्शद वारसीको चरित्रको नाम जगदीश त्यागी उर्फ जोली थियो।
२०१७ मा ‘जोली एलएलबी २’ बनेको थियो, त्यसमा लखनउको अदालतको केस देखाइएको थियो । यस पटक फिल्ममा अक्षय कुमार ‘जोली’ बने र उनको पूरा नाम जगदीश्वर मिश्रा थियो । पहिलो फिल्मका फ्यानहरूले अक्षय ‘जोली एलएलबी २’ मा आएपछि केही असन्तुष्टि व्यक्त गरेका थिए । तर अक्षय र दोस्रो फिल्मको कथाले पनि दर्शकलाई निकै मनोरञ्जन दिएको छ । रिपोर्टका अनुसार यसपटक दुवै जोली न्यायाधीश सुन्दरलालको अदालतमा आमनेसामने हुने भएका छन् ।
Facebook Comment