माधव नेपाललाई प्रधानमन्त्री मान्न तयार, प्रत्यक्ष निर्वाचित कार्यकारी बनाउन किन आनाकानी?

डिसी नेपाल
२३ वैशाख २०८१ १२:२५

काठमाडौं। पछिल्लो समय माधव नेपाल चर्चामा छन्। नेकपा एकीकृत समाजवादीका अध्यक्ष नेपाललाई अहिले प्रधानमन्त्री बनाउने चर्चा छ। यस विषयमा राजनैतिक दलहरुको तर्फबाट आधिकारिक रुपमा केही बताइएको छैन।

हुन त यस्ता कुराहरु दलहरुले बताउने गरेका पनि छैनन्। पर्दापछाडि सहमति टुंगिएपछि बत्रल्ल यो कुरा सतहमा आउने हो। यद्यपि माधव नेपाललाई प्रधानमन्त्री बनाउन नेपाली कांग्रेसमा सक्रियता बढेको कांग्रेसकै आन्तरिक स्रोत बताउँछ।

स्रोतका अनुसार माधव नेपाललाई प्रधानमन्त्री बनाउनका लागि एमाले, माओवादी र रास्वपालाई सरकारबाहिर राख्ने र बाँकी सबैको गठबन्धन बनाउने प्रयास भइरहेको छ। यो प्रयासमा स्वयं कांग्रेस सभापति शेरबहादुर देउवा सक्रिय छन्।

जसरी पनि सत्ता गठबन्धन भत्काउने प्रयासमा रहेका देउवा तत्कालका लागि माधव नेपाललाई प्रधानमन्त्री दिने र आलोपालो प्रणालीमा पछि आफू प्रधानमन्त्री बन्ने दाउमा छन्।

गठबन्धन भत्काउनका लागि ठूला, मझौला दलहरुलाई समेत पन्छाएर संघीय संसदमा आधिकारिक रुपमा दलको हैसियत समेत नभएको समूहका नेतृत्वकर्ता माधवकुमार नेपाललाई प्रधानमन्त्री बनाउन नेपाली कांग्रेस तयार हुँदा कांग्रेसले धेरै पहिलेदेखि राख्दै आएको अडानको औचित्यमाथि प्रश्न उठेको छ।

कांग्रेसले धेरै पहिलेदेखि नै देशमा प्रत्यक्ष निर्वाचित कार्यकारी सरकार प्रमुख बनाउने प्रस्तावको विरोध गर्दै आइरहेको छ। तर, माधव नेपाललाई प्रधानमन्त्री बनाउन कांग्रेस सकारात्मक हुनुले कांग्रेसको अडान उसैका लागि औचित्यहीन भएको देखाउँछ।

प्रतिनिधि सभामा माधवकुमार नेपाल स्वतन्त्र सांसद हुन्। भलै उनको दललाई संसदीय दलको कार्यालय दिइएको छ र भन्नका लागि उनलाई संसदीइ दलको नेता भनिन्छ। तर, उनले अन्य दलका संसदीय दलका नेताहरुले जस्तै आफ्ना सांसदहरुलाई अनुशासनमा राख्न सक्दैनन्।

उनले आफ्नो दलका सांसदहरुलाई दिएको निर्देशन सांसदहरुले अवज्ञा गर्न सक्छन् र उनले आफ्नो निर्देशन अवज्ञा गर्ने सांसदलाई राजनैतिक दलसम्बन्धी ऐनअनुसार कारवाही गर्न पनि सक्दैनन्।

सारमा भन्दा माधवकुमार नेपाल प्रधानमन्त्री बन्नु भनेको कुनै दलको नेता प्रधानमन्त्री बन्नु नभइ प्रतिनिधि सभाको एक सदस्य मात्र रहेका व्यक्ति प्रधानमन्त्री बन्नु हो। उनी र उनका सांसदहरु दलीय अनुशासनमा बाँधिन बाध्य छैनन्।

प्रतिनिधि सभाका एक सदस्य मात्रै रहेका व्यक्तिलाई प्रधानमन्त्री बनाउनु र सरकार प्रमुख जनताबाट प्रत्यक्ष निर्वाचित हुने प्रणाली बनाउनुमा खासै भिन्नता छैन। बरु प्रत्यक्ष निर्वाचित कार्यकारी प्रमुख जनताबाट प्रत्यक्ष निर्वाचित हुने प्रणाली धेरै राम्रो हुन सक्छ।

किनकि यस्तो प्रणालीमा जनताले आफूलाई मन पर्ने व्यक्तिलाई सोझै मतदान गर्न पाउँछन्। आफूले जिताएको सांसदले आफूलाई मन नपरेको दल वा व्यक्तिलाई प्रधानमन्त्रीमा समर्थन गरेको देखेर जनताले थकथकी मान्नुपर्ने अवस्था त आउँदैन।

माधव नेपाललाई प्रधानमन्त्री बन्न संविधानले निषेध गरेको छैन। संविधानको धारा ७६ को उपधारा २ मा ‘बहुमत जुटाउन सक्ने प्रतिनिधि सभाको सदस्य’ प्रधानमन्त्री बन्न पाउने व्यवस्था छ। प्रतिनिधि सभाको सदस्य भएको हैसियतमा उनी प्रधानमन्त्री बन्न पाउँछन्।

तर, ‘आफ्नो दलका’ भनिएका सांसदहरुसँग नै समर्थन माग्नुपर्ने अवस्थाको व्यक्तिलाई प्रधानमन्त्री बनाउन तयार हुने हो भने दलीय प्रणालीबाटै प्रधानमन्त्री बन्नुपर्ने अनिवार्य व्यवस्था किन गर्नु ? द

लका प्रमुखहरुको इच्छाअनुसार सांसदहरु उसैको पछि लाग्नुपर्ने व्यवस्थाको वकालत किन गर्नु ? संसदले कानुन बनाउने र कार्यकारी प्रमुख जनताले सोझै निर्वाचित गर्ने व्यवस्था गर्न किन आपत्ति ? राजनैतिक दलमा निश्चित विचार हुन्छ। विचार र सिद्धान्तबाट निर्देशित हुने भएकोले जनता निश्चित दलप्रति आस्थावान हुने गर्छन्।

पहिले नेपालमा पनि दलहरु सिद्धान्तअनुसार नै चल्ने गर्थे। आफ्नो पार्टीको आधिकारिक लाइन जे हो त्यही अनुसार काम गर्ने भएकाले जनताले आफ्नो मत दललाई दिने र जनमत प्राप्त प्रतिनिधिले जनताको तर्फबाट काम गर्ने प्रणाली बनाइएको हो।

तर, अहिले दलहरु विचार, नीति वा सिद्धान्तअनुसार चल्न छोडिसके। सत्ताकै लागि दलका नाइकेहरुको स्वेच्छाचारिता रोक्न अब प्रत्यक्ष निर्वाचित कार्यकारीको वकालत बढ्न थालेको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *