संघीयता कार्यान्वयनका लागि चाँडो कानुन निर्माण आवश्यकः उपसभापति खड्का
सुर्खेत। नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्काले संघीयता कार्यान्वयनका लागि आवश्यक पर्ने कानुन निर्माण छिटो हुनुपर्नेमा जोड दिएका छन्।
नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासङ्घको कर्णाली प्रदेश अधिवेशनको आज सुर्खेतमा उद्घाटन गर्दै उनले कानुन नबन्दा संघीयता कार्यान्वयनमा समस्या भएको बताए।
उनले भने,” प्रदेश र स्थानीय तहलाई प्रत्यायोजन गरिने अधिकार कानुन अभावमा कार्यान्वयन हुन सकेको छैन। संघले आवश्यक कानुन बनाउन नसक्दा सङ्घीयतामाथि प्रश्न उठिरहेका छन् । सरकारले तत्काल संघीयता कार्यान्वयनसँग सम्बन्धित कानुन निर्माण गर्नुपर्छ।”
उपसभापति खड्काले संघीयता कार्यान्वयनमा देखिएका समस्यालाई संविधानमार्फत संशोधन गर्न फेरि कांग्रेसको नेतृत्व आवश्यक रहेको दाबी गरे।
“कांग्रेसको नेतृत्वमा ७० वर्षको सङ्घर्षपछि संविधान जारी भएको हो, संविधान जारी हुँदा तत्कालीन प्रधानमन्त्रीतथा पार्टी सभापति सुशील कोइरालाले छुटेका कुराहरु संविधान संशोधनको प्रक्रियामार्फत सम्बोधन गर्ने प्रतिबद्धता जनाउनुभएको थियो”, उनले भने, “संघीयता कार्यान्वयनमा आएको यो आठ वर्षमा भोगेका अप्ठ्यारालाई संशोधनमार्फत सम्बोधन गर्नुपर्छ।”
उपसभापति खड्काले भ्रातृ संस्था बलियो भए पार्टी बलियो हुने बताए। उनले आदिवासी जनजाति समुदाय विशेष संस्कृति र सभ्यता बोकेको समुदाय भएकाले यस संस्थाको महत्व रहेको धारणा राखे। उनले आदिवासी जनजाति समुदायको महत्व परापूर्वकालदेखि भएको जनाउँदै लोकतन्त्रवादी आदिवासी जनजाति महासंघले पार्टीलाई बलियो बनाउने विश्वास व्यक्त गरे।
विचार समूहमा जोडिएका सम्पूर्ण सदस्यलाई एकताबद्ध गर्नुपर्नेमा जोड दिँदै उहाँले वडादेखि प्रदेशसम्मको सङ्गठनलाई बलियो बनाई अभियान सफल बनाउन निर्देशन दिए।
उपसभापति खड्काले अहंकार, रिस र घमण्ड त्याग्न सके मात्रै जनता र कार्यकर्ताको मन जित्न सकिने बताउनुभएको उनको सचिवालयले जनाएको छ। कांग्रेसले विगतदेखि नै आर्थिक, सामाजिक र राजनीतिक जस्ता युगान्तकारी परिवर्तन गरेको उनको भनाइ थियो।
Facebook Comment