शैक्षिक क्षेत्रमा भएको सिन्डिकेट तोड्छौँ: मन्त्री श्रेष्ठ
सिन्धुली। बागमती प्रदेश सरकारका प्रवक्ता, आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठले शैक्षिक क्षेत्रमा भएको सिन्डिकेट तोड्ने बताएका छन्।
मंगलबार सिन्धुलीको मरिण गाउँपालिका वडा नं. ७ जयमंगल स्थित श्री गौरीशंकर माविको ६१ औँ वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले प्रदेश सरकारले शैक्षिक क्षेत्रमा भएको सिन्डिकेट तोड्ने बताएका हुन्। उनले केही वर्षभित्रमै प्रदेश सरकारले अध्ययनका लागि विद्यार्थी विदेश जानुपर्ने अवस्थाको अन्त्य गर्ने बताए। उनले विद्यार्थीहरु अध्ययनका लागि विदेश जाने कुराको अन्त्य गर्ने उद्देश्यका साथ बागमती प्रदेश सरकारले बागमती विश्वविद्यालय स्थापना गरेको पनि बताए।
मन्त्री श्रेष्ठले गणतन्त्र प्राप्तिपछि पनि शैक्षिक क्षेत्रमा गुणात्मक परिवर्तन हुन नसकेको बताउँदै प्रदेश सरकारले स्वरोजगारमूलक प्राविधिक शिक्षामा जोड दिने बताए। उनले शिक्षाले ज्ञान, सिप र संस्कृति राम्रोसँग सिकाउन नसक्दा सभ्य, सुसंस्कृत र समृद्ध समाज निर्माण गर्न नसकेको बताए।
मन्त्री श्रेष्ठले राज्यले शिक्षा क्षेत्रमा कुल बजेटको २० प्रतिशत बजेट लगानी गर्न सकेमात्र जीवनोपयोगी र गुणस्तरीय शिक्षा दिन सकिने बताए। उनले विश्वमा प्रतिस्पर्धा गर्नसक्ने जनशक्ति निर्माण गर्नुपर्नेमा जोड दिदैँ त्यस प्रकारको नीति बनाउन बागमती प्रदेश सरकार लागेको उल्लेख गरे। उनले सबैभन्दा प्रतिस्पर्धी जनशक्ति शैक्षिक क्षेत्रमा केन्द्रित गरेर शिक्षामा गुणस्तर वृद्धि गर्ने बताए। शैक्षिक गुणस्तरका लागि राज्य, शिक्षक, अभिभावक र विद्यार्थी सबै उत्तिकै जिम्मेवार हुनुपर्ने भन्दै उनले यी ४ पक्षलाई खाटको ४ खुट्टाको संज्ञा दिए।
मन्त्री श्रेष्ठले गुणस्तरीय शिक्षाका लागि भौतिक पूर्वाधार अति आवश्यक भए पनि भौतिक पूर्वाधारले मात्रै शैक्षिक गुणस्तर नबढ्ने भएकाले राज्य, शिक्षक, अभिभावक र विद्यार्थी सबैले आ–आफ्नो भूमिका पुरा गर्नुपर्नेमा जोड दिए । उनले व्यक्तिलाई स्वरोजगार बनाउन नसक्ने शिक्षा नीति परिवर्तन गर्दै लगिने बताए।
Facebook Comment