कथा : सुहागरात

खेमराज पोखरेल
२९ वैशाख २०८१ ६:५६

नबिनाको बिहे भर्खर भएको थियो। ऊ मेरी अन्तरङ्ग साथी हो। आइ.ए. पढ्दै गर्दा नै धनी केटो भनेर उसका बाबु आमाले बिहे गरिदिए। म बिहेमा रातभरि बसेकी थिएँ।

उसलाई बिहे गर्न मन थिएन। तर बाबु आमाकोअगाडि उसको केही जोड चलेन। अन्माएर लैजाँदा म धेरै रोएकी थिएँ। मलाई लागिरहेको थियो कि मेरो मुटु कसैले चुँडेर लगिदिएको छ।

ऊ सोह्रदिने साइतपछि माइतमै बस्न आएकी थिई। मलाई रात बस्दै बोलाएकी थिई। म गएकी थिएँ। खाना खाएपछि हामी सुत्न उसको कोठामा गएका थियौँ। कोठामा पुग्ने बित्तिकै म सोध्न चाहन्थेँः ‘ए नबिना, तेरो सुहागरातको अनुभव सुना न’।

मैले सोध्नु पूर्व नै ऊ रुन थालेकी थिई। उसलाई पल्ला कोठाका मान्छेले थाहा पाउँछन् भन्ने पिर थियो। रुँदै गर्दा ऊ पूर्णरूपले नाङ्गिएकी थिई। उसका स्तनमा नङ्ग्य्राएका धर्साहरू थिए। गालामा टोकेका डामहरू थिए। जिब्रो चवाउनै नहुने गरी टोकिएको थियो। ओठको घाउलाई लिपिस्टिकले छोपेर ऊ हाँसेकी थिई।

उसको गुप्ताङ्ग फाटिएको थियो। मलद्वार क्षतविक्षत भएको थियो। हिँडदा टाङ फारेर हिँडथी। सोह्रदिन कहर काटेर आएकी थिई। निरास थिई। हतास थिई। एकोहोरो भन्दै थिईः

‘रितू, बिहे नगर्नु रहेछ। लोग्ने मान्छे भनेका राक्षस रहेछन्। रात परेर एकान्त त भेट्नै नहुने। चिमोट्ने। बटार्ने। चिथोर्ने। टोक्ने। भोग्ने। थिलथिलो पार्ने। सुत्न पनि नपाइने’
म स्तब्ध भएकी थिएँ। मलाई उसको पोइ भनाउँदोलाई मारिदिऊँ जस्तो रिस उठेको थियो। मेरी पूmलजस्ती साथीमाथि यस्तो शोषण ?

तर ऊ भन्थीः ‘कसैलाई पनि नभन् है रितू। हो यस्तै भोग्नु पर्छ रे। प्लिज कसैलाई पनि नभन् है। तेरो त्यो भिनाजुलाई पनि केही नभन् है। यस्तै बानी पर्नु पर्छ रे’
मेरा जिउमा काँडा उम्रेका थिए।

०००००

नबिनाको बिहे भएपछि म एक्लै भएँ। बागबजारबाट ट्युसन पढेर फर्कँदा रत्नपार्कमा गाडी कुरिरहेकी थिएँ। साँझ परेको थियो। एक हुल केटाहरू आए। मसँग ढेस्सिँदै हिँडे। एउटाले मेरो पछाडि सुस्तरी चिमोट्यो। मैले फर्केर हेरेँ। उनीहरू पर पुगिसकेका थिए। भन्दै थिएः ‘क्या पट्ठी रहिछे यार’।

म बस कुरि नै रहेकी थिएँ। दुईजना केटा मेरो नजिकै कानमा आएर फुस्फुसाएः ‘जाने हो ?’। मैले आँखा तरेँ। उनीहरू बाटो लागे।

बस पर्खि नै रहेकी थिएँ। फेरि अर्कै केटाले नजानिदो गरी मेरो छातिमा कुइनो राख्यो। मैले अनायास नै उसलाई एक झापट हिर्काएँ। मान्छे भेला हुनु अधि नै ऊ भाग्यो।
मेरो मन एक तमासको भयो। ‘यी लोग्ने मान्छे भनेका कुकुर हुन्। स्याल हुन्। सुँगुर हुन्। राक्षस हुन्। काँचो मासु खाने राक्षस। गिद्ध हुन्’ म एकलै बर्बराउँदै घर पुगेँ। घरबाहिर चोकमा मेरो आफ्नै दाजु एउटी केटीसँग मस्की मस्की कुरा गरिरहेको थियो। मलाई त्यो दाजु पनि राक्षस लाग्यो। कात्तिकको कुकुर। उफ, ए भगवान यस्तो राक्षस संसार किन तिमीले सृष्टि गर्‍याै ?

घर पुगेर मैले सबैकुरा आमालाई बताएँ। आमा एकदम डराउन थाल्नु भयो। हडबडाउन पनि थाल्नु भयो र मलाई भन्न थाल्नु भयोः ‘गुन्डा होलान्। ट्यापे होलान्। तिनीहरूले त तलमाथि पनि गर्न बेर लाउँदैनन्। तैले त्यसलाई त्यसरी गालामा चड्कन न हान्नु पथ्र्यो छोरी। जोगिँदै हिड्नु पर्छ छोरी। के गर्ने ? हामी आइमाईको जीवन काँचको जस्तो हुन्छ। एकपल्ट फुटेपछि नजोडिने’

मलाई आमाका कुरा पटक्कै मन परेन। पर्दै परेन। मैले आमालाई त केही भनिनँ तर मलाई यो लोग्ने मान्छेको राक्षसी सत्ताप्रति विद्रोह गर्न मन लाग्यो। विद्रोही हुन मन लाग्यो। मैले जुडो कराँटे सिकेँ। यसले मेरो मनोवल निकै बढायो। अब मलाई कसैले चलायो वा हिङ्सा गर्न प्रयास गर्यो भने म उसलाई चडकन् लाउन थालेँ।

लुगा पनि म सजिला सर्ट प्यान्ट लगाउन थाले। स्पोर्टस सुज लाउन थालेँ। म हेर्दाहेर्दै पुरुषजस्तै देखिन थालेँ। यो कुरा आमा, बा, परिवार र समाजलाई मन परेन। आमा भन्नुहुन्थ्योः ‘छोरी, आइमाई भएर जन्मेपछि अलिअलि त स्वास्नी मान्छेका लुगा लगाउन पर्छ, सृङ्गार पनि गर्नु पर्छ। बिहे गर्नु पर्छ। बच्चा पाउनु पर्छ। सधैँ यसरी जीवन त चल्दैन। सामाजिक रीतिथिति मान्नु पर्छ। चालचलन, परम्परा र संस्कार नमानी धर छैन’

म आमालाई भन्थेँ ‘म बिहे गर्दिनँ आमा, मलाई कर नगर्नु होला। म एकलै बाँच्छु। मलाई यी दुष्ट लोग्नेमान्छेको सङ्गत गर्नु छैन’

०००००

बाबाको निधन भयो। उहाँले मेरो बिहे गराउन निकै बल गर्नु भएको थियो। तर मैले गरिनँ। दाजुको भयो। भाइले पनि गर्यो। बहिनीले पनि गरी। अहिले बहिनीको सानो छोरा छ। अहो मलाई त भाउजू बुहारीले पनि हेप्न थालेजस्तो लाग्न थालेको छ। तर मैले पढेकी छु। जागिर खाएकी छु। म आफ्नै खुट्टामा उभिएकी छु। म कुनै लोग्नेमान्छेबिनै पूर्ण छु।

शनिबारको दिन थियो। दाजु र भाउजू, भाइ र बुहारी थिएनन्। घरमा आमा र मात्र थियौँ। मेरा लन्ड्रीबाट धोएर ल्याएका प्यान्टहरू दराजमा थन्क्याउँदै थिएँ। आमा आउनु भयो। मैले आमालाई हेरिरहेँ। मेरा मनमा कुराहरू खेल्न थाले। यो आमाले कति कुटाइ खाएको होला ? बुहार्तन खेपेको होला ? दायित्व बोकेको होला ? अपमान सहेको होला ? प्रताडना खेपेको होला ? यतिका छोरा छोरी पाउनु, हुर्काउनु, बढाउनु, पढाउनु कति कहर खेपेको होला ?

मैले आमाको शरीर गौर गरेर हेरेँ। अनुहारमा मुजा बाक्लिएका थिए। निधारभरि कपाल छरपस्ट थिए। अनुहार फुङ्ङ उडेको थियो। उदाश थिए आँखाहरू। आमाको साह्रै माया लागेर आयो। अहो इस्पातजस्ती आमा त गल्नु भएछ।

मैले आमालाई सोधेकी थिएँः ‘के भयो आमा ? किन उदाश हुनुहुन्छ ?’

आमा त एकाएक रुन पो थाल्नु भयो। आमा रोएको अवस्था मलाई भयावह लाग्यो। मैले आमालाई भनेँः ‘आमा नरुनुहोस्। के हजुरलाई दाजु भाउजूले गाली गरे ? भाइ बुहारीले वचन लाए ? चिन्ता नगर्नु होस्। म हजुरलाई पाल्छु’

आमाले भन्नु भयोः ‘तेरो दाजु भाउजूको कुरोले मलाई कत्ति पनि असर गर्दैन। भाइ बुहारीको कुराले पनि केही फरक पदैन। तर सधैँ तेरो कुराले चिन्ता लाग्छ’
मैले भनेकी थिएँः ‘मेरो कुरामा चिन्ता नलिनु आमा। म भित्रैदेखि बलियी छु। जागिर छ’

आमाले रुँदै भन्नु भएथ्योः ‘मलाई मेरो चिन्ता छैन। तेरा दाजु भाइले बाचुन्जेल पाल्छन्। पाल्न कर लाग्छ। मरेपछि फाल्छन्। फाल्न पनि कर लाग्छ। तर म तेरो भविष्यसँग चिन्तित छु’

मैले भनेथेँः ‘म ठिक छु आमा’

अनायासै आमाले मेरो अनुहारमा ट्वाल्ल परेर हेर्नु भयो र भन्नु भयोः ‘म तँसँग एकथोक माग्छु छोरी ?’

मैले भनेथेँः ‘मसँग पैसा छ आमा, जे माग्नु हुन्छ त्यही दिन्छु’

आमाले भन्नु भएथ्योः ‘पैसा र सम्पत्ति त तेरै बाबाले कमाइदिएकोले मलाई पुग्छ’

‘त्यसो भए भन्नु न त, म जे पनि मान्न तयार छु’

‘तँ बिहे गर् छोरी। सन्तान जन्माऊ। यी दाजु भाउजू, भाइ बुहारी सधै तँतिर हुन सक्तैनन्। अब म कहिले मर्ने हुँ थाहा छैन। मर्नुभन्दा पहिले तेरो बिहे भएको हेर्न चाहन्छु’

०००००

मलाई हेर्न केटो आयो। कलेजमा मनोविज्ञान पढाउँछ अरे। अग्लो टिङरिङे। ओठमा जुँघा पालेको। अगाडिको एउटा दाँत अलि उठेको। मलाई ऊ राक्षस जस्तै लाग्यो। उसले चिम्सा आँखाले मलाई ट्वाल्ल परेर हेर्यो। मानौ ऊ गोही हो र म उसको सिकार हुँ। उसलाई भगाउन मन थियो। तर म आमाको आँसु सम्झेर चुप लागेँ। उसले मलाई मन परायो अरे। कस्तो बेकामे प्रोफेसर होला त्यो। चिन्नु न जान्नु मन पर्यो रे। त्यही पनि मनोविज्ञानको। उफ, मैले लामो स्वास फेरेँ। मुर्ख जुँघे केटो। अभागी।

मलाई सोधियो। मैले ‘हुन्छ’ भन्नु नै थियो। आमाको आँसुको भेल थाम्नकै लागि भएपनि मैले ‘हुन्छ’ भन्ने सङ्केतमा मुन्टो हल्लाएँ। घरमा अपार खुसी भित्रियो। आफन्त साथीभाइ रौसिए। हेर्दा हेर्दै परिवेश हाँस्न थाल्यो। मैले बनारसी लाउनु पर्‍याे। मेहन्दी लाउनु पर्‍याे। सत्रपत्रे मेकअप गर्नु पर्‍याे। जन्ती आयो। बिहे भयो। मलाई सिँगारिएको कारको ढोकाभित्र छिराए। सबैलाई मेरो बोझ रहे छ। हल्का भयो। मलाई आफू पर्सिएको बोको जस्तै लाग्यो।

जुँघे केटोको घरमा पुर्‍याइएँ। उता त झन ठुलो उत्सब। मलाई हेरेर मान्छे भन्थेः ‘अजय बाबु त कति भाग्यमानी, इन्द्रकमल जस्तै सुन्दरी बेहुली ल्याउनु भयो। अजय बाबुले किन बिहे नगरेको भनेको त यस्ती अप्सरा ल्याउनु रहेछ र पो’

उसको सुहागरात थियो। ऊ कोठाभित्र पस्यो। मलाई आमाजू भन्ने एउटी आइमाईले उसको कोठामा पुर्याइ दिइन्। उसले मलाई छुन खोज्यो। मैले उसलाई भनेँः ‘म तयार छैन। पर जानुस्’

ऊ यसरी पर सर्यो मानौ म मरिसकेकी लास हुँ र ऊ उपियाँ हो। दुरान फर्काउन माइती गयौँ। मैले कसैलाई पनि भनिनँ। फेरि घर आयौँ। ऊ हरेक रात मलाई छुन आउँथ्यो। म पर भगाउँथेँ। ऊ मलाई के के भनेर सम्झाउँथ्यो। जीवनको कुरा गथ्र्यो। यौनको कुरा गथ्र्यो। संसार चलाउने कुरो गथ्र्यो। माया गथ्र्यो। अनेकौँ खानेकुरा लिएर आउँथ्यो। मलाई भने लाग्दै थियो। ऊ मलाई हरियो घाँस हाल्दै थियो। ब्वाँसो।

यसरी एक महिना बित्यो। हाम्रो शारीरिक सम्बन्ध भएन। ऊ उदाश देखिन थाल्यो तर उसले पनि कसैलाई भनेन। एकरात ऊ आयो। मलाई सकेसम्म फकायो। कति दिन त्यसै बस्ने भन्थ्यो। कारण खोज्थ्यो। मसँग मिल्न खोज्थ्यो। मैले मानिनँ। उसले मलाई समायो। मैले केही नचलेपछि कराँटे हानेँ। ऊ उछिट्टियो।

ऊ फेरि आयो हाम्रो लडाइँ नै भयो। ऊ पनि कराँटेवाला रहेछ। मलाई कक्य्रायो। मेरो लुगा खोल्यो र ममाथि चढ्यो। मलाई सक्यो। मलाई पीडा भयो। यो क्रम दोहोरिरह्यो। मैले धेरै पल्ट उसलाई पिटेँ। मलाई लाग्यो यो लोग्ने मान्छेको जात राक्षस नै हुँदो रहेछ। ज्याद्रो।

म भारि जिउकी भएँछु। त्यसपछि उसले कहिल्यै मलाई वल प्रयोग गरेन। ऊ मलाई मिठो मिठो खाना ल्याइदिन्थ्यो। आराम गर भन्थ्यो। म छक्क पर्छु। के तालको मान्छे होला। मलाई त्यस्तो वल प्रयोग गरेर भुँडी बोकायो। त्यसको सन्तान मैले पाउनु पर्ने। अहिले माया गरेजस्तो गर्छ। राक्षस।

मैले छोरो पाएँ। छोरो पनि हुर्कँदै थियो। तर मलाई त्यो छोरो पनि लोग्नेमान्छेकै सन्तान लाग्न थालेको थियो। राम्ररी दुध पनि खुवाइनँ।

ऊ फेरि ममाथि आइलाग्न थाल्यो । मैले दिइनँ। ऊ उदाश भयो। पहिलेजस्तो उसले बल पनि प्रयोग गरेन। म बेलुकाको भात खान थालेकी थिएँ। ऊ आयो। ह्वास्स गन्हाएको थियो। रक्सी खान थालेछ। मलाई रिस उठ्यो। जुठै हातले एक झापट दिएँ। ऊ भातै नखाइ सुत्न गयो। अब हामी बिच सामान्य सम्बन्ध मात्र रह्यो।

मान्छेले हेर्दा हामी असल जोडी थियौँ। मिठो बोल्थ्यौँ। मोटरसाइकलमा सँगै हुन्थ्यौँ। उसले मलाई अफिस पुर्याइदिन्थ्यो। लिन आउँथ्यो। किनमेल गर्न पनि सँगै जान्थ्यौँ। तर पनि उसलाई म घृणा गर्छु। किनकि ऊ लोग्ने मान्छे हो। ऊ राक्षस हो।

एकदिन ऊ र म मोटर साइकलमा जाँदै थियौँ। दुर्घटना भयो। दुवै घाइते भयौँ। मभन्दा ऊ घाइते भयो। तर ऊ मेरो केयर गरिरहेको थियो। मलाई नै सोद्धै थियोः ‘रितू, तिमीलाई चोट लाग्यो हगि। उफ’।

यतिबेला पनि मलाई उसको माया लागेनँ। तर मैले लोग्नेमान्छेको छाउरो ठानेको छोरोको भने याद आयो। माया लागेर आयो। घर आएर छोरालाई गम्लङग अँगालो हालेँ। छोरो मलाई विश्मयका साथ हेरिरहेथ्यो।

अचेल म यो अजयलाई हेरिरहेको छु। शारीरिक सम्पर्क नभएको धेरै दिन भइसक्यो। ऊ ममाथि बल पनि प्रयोग गर्दैन। चुपचाप मलाई नै हेरिरहन्छ। मैले उसलाई शंका गर्दैछु। सायद ऊ वेश्यालय जाँदो हो। मैले उसका बारेमा अनुसन्धान नै गरेँ। अहँ ऊ कहीँ जाँदैन। र उदाश भने झन् झन् भइरहेको छ।

खान दिँदा पनि मिठो नमिठो भन्दैन। लुगा पनि मैलो भो भन्दैन। जहाँ जाऊँ भन्यो ऊ मलाई चुपचाप पुर्याइ दिन्छ। आज्ञाकारी बालकलेझैँ। मलाई लाग्दै छ ऊ लाटो भइरहेछ। ऊ स्लो भइरहेछ। हाँस्नु पर्यो भने कृत्रिम हाँस्छ। दुब्लाउँदै गएको छ। मैले जुठो हातले पिटेपछि उसले रक्सी खान पनि छोडेको छ। ऊ एकान्त मन पराउन थालेको छ। शान्त मन पराउन थालेको छ। ऊ बेग्लै भएको छ।

०००००

मध्य रात थियो। आज अजय बेस्सरी रोयो। मेरो काखमा मुन्टो राखेर रोयो। यसरी ऊ कहिल्यै रोएको थाहा थिएन। ऊ रोएको देखेर म पनि भाबुक बनेँ। ऊ मलाई भन्दै थियोः ‘मलाई माफ गर रितू, मैले तिम्रो विश्वास जित्न सकिनँ। तिमीले मलाई विश्वास गर्न सकिनौ। मैले सबै प्रयत्नहरू गरेँ। म हारेँ।

मेरो यो मनोविज्ञानको मास्टर डिग्री पनि केही काम लागेन। आज मनोविज्ञानका थ्योरीहरू पनि बेकामे भएका छन्। मेरा सबै उमङ्गहरू सकिएका छन्। उत्साहहरू मरेका छन्।

मैले जावो तिम्रो मन जित्न सकिनँ। परिवार भन्नु नै के छ र ? तिमी, म र हाम्रो एउटा छोरो न हो। बुवा आमा पनि हाम्रो मेल नदेखीकनै स्वर्गवास हुनु भयो। कत्ति रहर थियो होला उहाँहरूलाई। त्यही पनि मैले सकिनँ। मैले तिमीलाई बुझ्नै सकिनँ। मलाई माफ गर रितू’

घडी हेरेँ। रातको साढे एघार बजेको थियो। छोरो मसँगै पलङमा सुतेको थियो। मस्त निद्रामा थियो। खासमा अजय त्यही कोठामा भएको पल्लो पलङमा सुतेको थियो। ऊ त्यहीँ सुत्ने गर्छ। मैले नै उसलाई मसँग सुत्न नदिएको हो। नत्र त यी लोग्ने भनाउँदाहरू औँलो दियो भने डुँडुलो निल्न खोज्छन्। तर उफ आज ऊ किन यसरी रोइरहेको छ।

म किन उसको टाउको मेरो काखबाट हटाउन सक्तिन ? आज म के हुँदै छु। छोरो उठ्ला भन्ने लाग्यो। म उसको पलङमा सरेँ। ऊ फेरि मेरो काखमा मुन्टो राखेर सुँक्क सुँक्क गरिरहेको छ। लोग्नेमान्छे रोएको त मैले देखेकै थिइनँ। कस्तो नरमाइलो हुँदो रहेछ। मलाई ऊ रोएको कत्ति मन परेनँ। कस्तो काँतर लोग्नेमान्छे होला ऊ।

मलाई उसको माया लाग्न थाल्यो। उसप्रति दया लाग्न थाल्यो। कति टिठ लाग्दो भएको हो यो अजय। कति मायालु भएको होला यो लोग्ने आज ? हे भगवान मलाई आज के भइरहेछ ? किन यो लोग्ने अरू लोग्ने मान्छेजस्तो लाग्न छोड्दैछ मलाई ?, किन यो अजय आम लोग्नेमान्छेजस्तो हिंसक लाग्न छोडेको छ मलाई ?

मैले उसको टाउको मेरो काखबाट उठाएँ। ऊ अझै पनि रोइरहेको थियो। उसको आँसु नाइट डे«सको फेरले पुछिदिएँ। ऊ हतास र मसँग क्षमा याचना गरे जसरी मलाई ट्वाल्ल हेरिरहेको थियो। गालामा आँसुका डोबहरू कट्कटिएका थिए। ऊ निरिह देखिन्थ्यो। लाचार देखिन्थ्यो। आँखाहरू थाकेका देखिन्थे।

त्यसैत्यसै थाकेर लखतरान परे जस्तो थियो। उसलाई हेरिरहेँ। ऊ युद्ध हारेर आएको सिपाहीँजस्तो लाग्यो मलाई। माया उर्लेर आयो। थेग्नै सकिनँ। उसलाई अँगालो हालेँ। यसअघि कहिल्यै उसलाई अँगालो हालेकी थिइनँ। उसले मेरो पिठ्युँ सुम्सुम्याउनँ थाल्यो।

अनायास मेरा आँखाबाट आँसु झर्न थाले। म रुन थालेँ। म रोएको देखेर ऊ छक्क पर्यो। उसलाई सायद लागेको थियो होला ‘यो स्ट्रङ्ग आइमाई आज किन रुँदैछे ? यो बोल्ड कडा पत्थर आज किन पग्लिँदै छे ?’।

मैले एकाएक उसलाई म्वाईँ खाएँ। उसको ओठ चुम्न थालँे। चुस्न थालेँ। मैले उसको लुगा खोल्न थालेँ। ऊ अचम्मित भइरहेथ्यो। के गरुँ न कसो गरुँ भइरहेथ्यो। अनि म भनिरहेकी थिएँः

‘अजय, तिमी मलाई माफ गरिदेऊ। मैले तिमीलाई चिनिनँ। मैले यो आठ वर्षको हाम्रो वैवाहिक जीवन नर्क बनाएँ। तिमीलाई धेरै रुवाएँ। मनोवैज्ञानिक दुःख दिएँ। कुटेँ पनि। तिमीले चुपचाप सह्यौ।

तिमी महान हौ अजय। मलाई माफ गर न अजय। प्लिज। तिमी त्यो नविनाको पोइजस्तो लोग्नेमान्छे होइनौ। तिमी आम लोग्ने मान्छे होइनौ। तिमी असल छौ। म तिमीलाई माया गर्छु अजय। हो म तिमीलाई आजदेखि माया गर्न थालेकी छु।। मलाई माफ गर न। प्लिज। आऊ न प्लिज’

ऊ असाध्य मायालु भएर आयो। मलाई सुम्सुम्याउन थाल्यो। चाट्न थाल्यो। सुस्तरी सुस्तरी ऊ मलाई भोग्न थाल्यो। म उसलाई भोग्न थालेँ। मलाई यस्तो लाग्न थाल्यो कि म असीमित आनन्दतर्फ उन्मुख भएकी छु।

अपरिमित उच्छवासमा हराएकी छु। मैले यही लोकमा अलौकिक आनन्द प्राप्त गरेकी छु। र भाग्यमानी भएकी छु। हामी रातभरि सुतेनौँ। यो हाम्रो पहिलो सुहागरात थियो।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *