मधेशमा एमालेको नेतृत्वमा सरकार बनाउने गृहकार्य, सोमबार दाबी पेस गर्ने तयारी
काठमाडौं। जसपा नेतृत्वको मधेश सरकारबाट समर्थन फिर्ता लिएर बाहिरिएका एमाले माओवादीले नयाँ सरकार गठनको गृहकार्यमा जुटेका छन्।
मधेश प्रदेशमा नेकपा एमालेको नेतृत्वमा सरकार बनाउने छलफल सुरु भएको छ । मधेशमा एमालेको नेतृत्वमा नयाँ सरकार गठन गर्ने तयारीमा सत्ता गठबन्धन लागेको बताइएको छ ।
मधेश प्रदेशसभामा एमाले संसदीय दलको नेता सरोजकुमार यादव रहेका छन्। सरकारबाट आइतबार एमाले र माओवादी केन्द्र बाहिरिएपछि जसपा नेपालको नेतृत्वमा रहेको सरकार अल्पमतमा परेको छ ।
सरकारबाट बाहिरिएपछि एमालेको नेतृत्वमा सरकार बनाउने गरि छलफल सुरु भएको हाे। एमाले मधेशमा २५ सांसदसहित सबैभन्दा ठुलो दल हो। नयाँ सरकार बनाउन एमाले, माओवादी केन्द्र, जनमत र लोसपाबीचको छलफल सकारात्मक भएको बताइएको छ।
१०७ सदस्यीय मधेश प्रदेशसभामा बहुमतको लागि ५४ मत आवश्यक पर्दछ। मधेशमा एमालेका सभामुखसहित २५, नेपाली कांग्रेसका २२, जसपा नेपालका १९, जनमत पार्टीका १३, लोसपाका ९, माओवादी केन्द्रका ९, एकीकृत समाजवादीका ७ तथा नेपाल संघीय समाजवादी पार्टी, नाउपा र राप्रपाका एक एक सांसद रहेका छन् ।
Facebook Comment