सिप्रदी ट्रेडिङले महानगरलाई पुरानो गाडी बेचेको आरोप, कालोसूचीमा राख्न सिफारिस

डिसी नेपाल
३१ वैशाख २०८१ २१:११

काठमाडौं। सिप्रदी ट्रेडिङलाई ३ वर्ष कालोसूचीमा राख्न काठमाडौं महानगरपालिकाले सार्वजनिक खरिद अनुगमन कार्यालयमा सिफारिस गरेको छ।

सवारी साधन आपूर्ति गर्न छनोट भएको बोलपत्रदाता ट्रेडिङ्ले सन् २०२२ मा उत्पादन भएका ६ वटा सवारी साधन उपलब्ध गराउनु पर्नेमा ४ वटा सन् २०२१ मोडेलका गाडी उपलब्ध गराएको बताउँदै प्रवक्ता नविन मानन्धरले कालोसूचीमा राख्न सिफारिस गरिएको जानकारी दिए।

हाइड्रोलिक ट्रिपर ट्रक खरिद गर्नका लागि महानगरपालिकाले २०८० वैशाख १५ गते सूचना प्रकाशित गरेको थियो। यसमा सिप्रदी ट्रेडिङ प्रा. लि. सफल बोलपत्रदाताको रुपमा छनोट भयो। यसबमोजिमका सवारी साधनहरु गएको माघ १७ गते महानगरपालिकालाई प्राप्त भएका हुन्।

‘बोलपत्रसम्बन्धी कागजातको स्पेशिफिकेसनमा सन् २०२२ मा उत्पादन भएको उल्लेख छ। ब्लुबुकमा सबै सवारी साधनको उत्पादन मिति २०२२ लेखिएको छ तर ४ वटा च्यासिसमा भने उत्पादन मिति २०२१ लेखिएको छ। २ वटा सवारी साधनको च्यासिसमा मात्र उत्पादन मिति २०२२ छ। यसबाट झुक्याएर सामान उपलब्ध गराउन खोजेको स्पष्ट हुन्छ।’ प्रवक्ता मानन्धरले बताए।

उपभोक्ताहरु कसरी ठगिन सक्छन्, सचेत गराउन पत्रकार भेटघाट कार्यक्रम आयोजना गरेर यस सम्बन्धी जानकारी दिइएको हो। महानगरपालिकाले प्रचलित कानुनबमोजिम जिल्ला प्रहरी कार्यालयमा जाहेरी दिने, वाणिज्य विभाग र वातावरण विभागमा कारवाही प्रक्रियाका लागि पठाउने, व्यवसाय दर्ता खारेज गर्नेसम्मको कारवाहीका लागि निकायहरुमा लेखी पठाउने तयारी रहेको प्रमुखका स्वकीय सचिव भूपदेव शाहले जानकारी दिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *