संसदको गतिरोध अन्त्य गर्न कांग्रेस सकारात्मक

दिपा पौड्याल
१ जेठ २०८१ ८:२९

काठमाडौं। संसदको जारी अवरोध अन्त्य गर्ने विषयमा प्रधानमन्त्री पुष्पकमल दााहल प्रचण्ड र कांग्रेस नेताहरुबीच भएको छलफल सकारात्मक भएको छ।

प्रधानमन्त्रीसँगको छलफल सकारात्मक भएपछि कांग्रेसले संसद अवरोध नगर्ने जनाएको छ। सोको निर्णण अब बस्ने कांग्रेस संसदीय दलले गर्ने बताइएको छ।

प्रधानमन्त्री दाहालसँगकाे भेटमा प्रधानमन्त्रीले आज संघीय संसदकाे दुबै सदनमा राष्ट्रपति रामचन्द्र पाैडेलले सम्बाेधन गर्ने भएकाले संसद  अवराेध नगरिदिन अनुराेध गरेका थिए।

प्रधानमन्त्रीले सहकारी ठगी प्रकरणमा समस्या समाधानकाे लागि पहल गरिरहेकाे आश्वासन दिएपछि   कांग्रेस  अवरुद्ध सदन खुलाउन सकारात्मक भएकाे  प्रमुख सचेतक रमेश लेखकले बताए।

प्रधानमन्त्रीसँग छलफलपछि बाहिरिने क्रममा पत्रकारहरुसँग कुरा गर्दै  उनले प्रधानमन्त्रीले गरेकाे अनुराेधकाे  विषयमा संसदीय दलकाे बैठक बसेर निस्कर्षमा पुग्ने उनले बताए ।

मंगलबार विहानै प्रधानमन्त्री दहालले कांग्रेस नेताहरुसँग बालुवाटारमा छलफल गरेका थिए। सो छलफलमा महामन्त्री गगन थापा, प्रमुख सचेतक रमेश लेखकलगायतका नेता सहभागी थिए।

आज संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्नुपर्ने भएकाले गतिरोध अन्त्य गर्न प्रधानमन्त्री दाहाल सक्रिय भएका हुन्।  सहकारी ठगी प्रकरणमा गृहमन्त्री रवि लामिछानेमाथि छानबिनका लागि संसदीय समिति गठनको माग गर्दै आएको कांग्रेसले संसद बैठक अवरुद्ध गर्दै आएको छ।

यसअघि पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा बसेको पदाधिकारी बैठकले सरकार छानबिन समिति गठन गर्न तयार नभए नीति तथा कार्यक्रम पेस गर्न नदिने निर्णय गरेको थियो।

सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न संघीय संसद (प्रतिनिधि सभा र राष्ट्रिय सभा) को संयुक्त आज दिउँसो ३ बजे बस्दैछ । उक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्ने तय भएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *