माधव नेपालको नयाँ पार्टी गठन : दलीय हैसियत कायम गर्न असमर्थ, कांग्रेस-माओवादीको पिछलग्गु

शरद रिजाल
१ जेठ २०८१ १४:३६

काठमाडौं। नेकपा(एमाले)मा मदन भण्डारीको निधन पछि पार्टीको शक्तिशाली पद महासचिव भएर १४ वर्ष पार्टी सञ्चालन गरेका माधव नेपाल राजनीतिक जीवनको उत्तरार्धमा नयाँ पार्टी स्थापित गर्न तम्सिएका छन्।

तत्कालीन एमाले र माओवादी मिलेर बनेको नेकपामा पार्टीभित्रको अन्तरसंघर्षमा दुई अध्यक्षमध्ये पुष्पकमल दाहाल प्रचण्डको पक्षमा उभिएका नेपाल सर्वोच्चको दुबै पार्टी पूर्ववत अवस्थामा फर्काउने फैसला पछि अलग दल खोल्ने बाध्यात्मक अवस्थामा पुगेका थिए।

२०५० सालमा मदन भण्डारीको निधन पछि पार्टीको एक पदीय प्रणाली अनुरुपको कार्यकारी पद महासचिव बनेका माधव नेपाल २०६४ संविधानसभा निर्वाचनमा पराजय व्यहोरेपछि राजीनामा दिएका थिए। त्यसयता उनकोे राजनीतिक यात्रा तंग्रिन सकेको छैन।

२०६४ मा काठमाडौं २ र रौतहट ४ का दुबै निर्वाचन क्षेत्रबाट पराजय ब्यहोर्दै सिंगो पार्टीसमेत तेस्रो स्थानमा पुगेको थियो। करिब १४ वर्ष पार्टीको महासचिव बनेर एमाले हाँकेका नेपालमा पुनः अध्यक्ष बन्ने लालसा भने उनमा कायमै रहेको त्यति बेलाकै घटनाक्रमले देखिएको थियो।

२०६४ को संविधानसभाको निर्वाचनमा पार्टीले पराजय व्यहोरेपछि तत्काल नेतृत्वको दाबी नगरेका नेपाल एमालेको आठौं महाधिवेशनमा उम्मेदवारी नदिएर मौन बसे पनि नवौंमा भने केपी ओलीसँग भिड्न पुगेका थिए।

ओलीसँग पराजय व्यहोरेपछि एमालेमा कमजोर बनेका नेपाल २०७५ जेठमाओवादीसँग एकता गरेपछि झनै निरीह बनेका थिए। तत्कालीन नेकपामा दुई अध्यक्षात्मक प्रणाली र एक महासचिव रहने व्यवस्था गरिएको थियो। नौ सदस्यीय सचिवालमा माधव नेपालको पक्षमा उनी बाहेक अरु कोही पनि परेनन्।

पूर्वप्रधानमन्त्री झलनाथ खनाल भने पछि ओलीसँगको अन्तरविरोध बढ्दै गएपछि नजिकिएका हुन्। त्यस अघि खनालको छुट्टै गुट नै पार्टीमा सक्रिय रहेको थियो।

२०६५मा बुटवलमा भएको आठौं महाधिवेशनमा खनालले नै ओलीलाई हराएका थिए। त्यसबखत नेपालको साथ ओलीलाई नै रहेको थियो।

लामो समय एमालेको महासचिव रहेका नेपालले पार्टीलाई निश्चित दिशानिर्देश गर्न नसकेको भन्दै आलोचना हुने गर्दथ्यो। उनको कार्यकालमा एमालेको आफ्नै अलग पहिचान र निर्णय क्षमता नभएको भन्दै उनी इतर समूहले नेपालमाथि प्रश्न उठाउने गर्दथे।

एमालेमा महासचिव बनेर एक क्षेत्र राज गरेका नेपालले ओली पक्षलाई सदैब चेपुवामा पार्दै आएका थिए। पार्टीको नेतृत्व हत्याउन दुई पटकको प्रयास पछि मात्रै ओली एमालेको नेतृत्वमा पुग्न सफल भएका हुन्।

आठौं महाधिवेशनमा खनालसँग पराजित भएका ओली नवौंमा नेपाललाई पराजित गरेर नेतृत्वमा पुगेका थिए।

त्यस पछि एमाले माओवादीको एकता पछि केही समय दुबै पार्टी संयुक्त रुपमा सँगै रहे। तर एकता लामो समय टिकेन सर्वोच्चको २०७७ फागुन २३ को फैसलाले पूर्ववत दुबै पार्टी यथास्थानमा पुगेका थिए।

नेकपाकालमा प्रधानमन्त्री समेत रहेका ओलीले गरेको संसद विघटनको विरुद्धमा एक ठाउँ उभिएर ओलीलाई कारबाही गर्दै अलग नेकपा बनाएका प्रचण्ड, नेपाल, खनाल लगायतका नेताहरु सर्वोच्च्को फैसलापछि अन्योलता उत्पन्न भएको थियो।

प्रचण्ड आफ्नो पूर्ववत् माओवादी केन्द्रमा फर्किए भने नेपाल र खनाल पनि एमालेमै फर्किनुपर्ने बाध्यात्मक परिस्थिति निर्माण भयो। तर एमालेमा ओलीले उपेक्षा गर्ने भयले सशंकित हुँदै प्रतिनिधिसभाका २२ सांसद लिएर नेपालको नेतृत्वमा २०७८ भदौमा नयाँ दल गठन गरेका थिए।

नयाँ दल गठन गरेर संसदमा राष्ट्रिय दलको मान्यता समेत दिलाउन नसकेका नेपाल गठबन्धनको सहायता बेगर चुनाव लड्ने अवस्था समेत बनाउन सकेका छैनन्।

कम्युनिष्ट पार्टीमा राजनीतिक कार्यक्रमका विषयमा मतभेद हुँदा पार्टी विभाजन हुने गरेको इतिहास छ। तर नेपालको हकमा भने विशुद्ध ओलीसँगको कुण्ठा र नवौं महाधिवेशनमा व्यहोरेको पराजयको तुषले विभाजनको अवस्था निम्तिएको हो।

एमालेबाट विभाजित भएको उनको दल एकीकृत समाजवादीले राजनीतिक र कार्यक्रमिक दृष्टिले नयाँ केही निर्माण गर्न सकेको छैन।

एमालेले अंगीकार गर्दै आएको जनताको बहुदलीय जनबाद(जबज)लाई नै आफ्नो राजनीतिक कार्यक्रम मान्दै आएको छ। यद्यपि पार्टीका अर्का नेता खनाल भने जबजको औचित्य सकिएको जिकिर गरिरहेका छन्।

तर नेपाल भने जबजलाई नै पार्टीको पथप्रदर्शक सिद्धान्तको रुपमा निरन्तरता दिने पक्षमा छन्। आगामी महाधिवेशनमा यस विषय पेचिलो तवरले उठ्ने बताइन्छ।

सैद्धान्तिक र कार्यक्रमिक रुपमा पनि उनको दल वर्तमान संसदीय राजनीतिमा नै आवद्धता जनाउँदै अन्य दलको सरकारमा सामेल हुने अवस्थामा छ।

कांग्रेस र माओवादीको बलमा संसदीय निर्वाचनमा १० सिट जितेको उनको दल संसदमा स्वतन्त्र हैसियतमा सीमित भएको छ।

राजनीतिक र कार्यक्रमिक रुपमा अलग पहिचान कायम गर्न नसकेको नेपालको दलले आगामी असारमा महाधिवेशन गर्ने निर्णय गरेको छ । एमालेको राजनीतिक स्वामित्व लिएको बताउने उक्त दलले यसलाई दशौं महाधिवेशनको संज्ञा दिएको छ।

यस अघि एमालेले चितवनमा गरेको दशौं महाधिवेशनलाई नेपालको दलले अस्वीकार गर्दै आगामी महाधिवेशनलाई दशौं महाधिवेशनको संज्ञा दिएको हो।

एमालेको दशौं महाधिवेशनले पार्टीमा ओलीलाई निर्विकल्प नेताको रुपमा उदय गराएको थियो। त्यस महाधिवेशन पछि आफ्ना आलोचकलाई पाखा लगाउँदै ओली नै एमालेको सर्वेसर्वा बन्न पुगेका छन्।

एमालेमा ओलीको व्यक्तिवाद र दुई पटक गरिएको संसद विघटनलाई प्रतिगमनको संज्ञा दिएका नेपाल अहिले एमालेसहितको संयुक्त सरकारमा सहभागिता जनाउने बाध्यात्मक अवस्थामा छन्।

उनको दलका दश सांसदहरुलाई संसदीय दलको हैसियतमा दलीय ह्वीप नलाग्ने स्वतन्त्रता भएपछि उनीहरुलाई आफूसँगै राख्न पालैपालो मन्त्री  बनाउने आश्वासन दिएर पार्टीका सांसद टिकाउन नेपाल विवश छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *