आधुनिक घर कस्तो बनाउने?

अमेरिकाबाट नेपाली राशिफल

आधुनिक युगको प्रवेशले नयाँ चिन्तनलार्ई नवीन धारमा प्रवेश गराएको छ।

ज्ञान-विज्ञानको प्रयोगले विशाल विश्वमा मानिसलाई जीवन निर्वाहको सुगम मार्ग प्रशस्त मात्र गरेको छैन अझ दुस्कर पनि बनाउन थालेको छ।ज्ञान र विज्ञानको समन्वय अभावले गर्दा मानिसको जीवन अझ जर्जर हुँदै गएको छ।

मानव जीवनको सुगमताका अनेकौं प्रयास भएका छन्। आधुनिक युगको चिन्तन भौतिकवादी भएकाले सर्वे भवन्तु सुखिनः को भावनालाई आत्मसात् गर्ने खालको पाँइदैन। संसार विस्तारै प्राचीन ज्ञानको खोजी र अवलम्बनमा विज्ञान समाहित बन्न थालेको छ।

प्राचीन ज्ञान भनेको नै स्थापत्य र वास्तुुकला हो। संसारको खाली भूमिको आयतन घट्दै छ भने मानवको जनघनत्व बढ्दै गएको छ। वातावरणमा मानवको हस्तक्षेप बढ्दै गएको छ। यही अवस्थामा विश्वको संरचना विकसित हुँदै गएमा एक दिन यो संसार ध्वस्त हुनु निश्चित छ र त्यो दिन टाढा रहेको देखिँदैन।

आधुनिक संसारमा एकतले घरबाट धेरैतले घरको परम्परा पाश्चात्य मुलुकबाट शुरु भएको हो। यस्तो परम्पराले आज नेपालमा पनि सानो ठाँउमा धेरै तले घर बन्दै गएका छन्। जसले मानिसको आवादी शहरोन्मुख भएको छ।

आज स-साना घर, भवन बनाउँदा पनि लाखौं खर्च लाग्ने भएको छ। मानिसको लक्ष्य एउटा राम्रो आवास बनाउने हुन थालेको छ। मानिसले उर्वरा भूमिको हत्या गर्दै गएका छन्। शहर अव्यवस्थित रुपमा बढ्दै गएको छ। सरकारी नियम कानून अस्त व्यस्त बन्दै गएको छ।

उर्वरा भूमिलाई सदा-सदाका लागि विनास गर्दै गएका छन्। नेपालकै उर्वरा क्षेत्रको अग्रणी स्थान ओगटेको काठमाडौं उपत्यका लगायतका तराइका केही जिल्लाहरु द्वन्द्वका कारणले घडेरीमा टुक्रिँदै छन्।

ठूल्ठूला जग्गाका मौजा वा प्लटहरु स-सानो टुक्रा भएर ईंटा, ढुंगा, बालुवा र फलामले पुरिँदैछन्। धर्तीमातालाई सदा–सदाका लागि बाँझी बनाइँदैछ, हत्या गरिँदैछ।

उपर्युक्त यथार्थताका बीचमा आज बन्दै गरेका भवन वा घरहरु यस प्रकार उल्लेख गर्न सकिन्छ।

-आवासीय घर-भवन

– सरकारी आवास

– व्यापारिक भवन

– सरकारी कार्यालय, आवासीय भवनहरु, विद्यालय

– साना उद्योगहरुका भवनहरु

– फ्याक्ट्री बहुआयामिक भवनहरु

– विश्व विद्यालयका भवनहरु

– होटल, व्यायामशालाहरु, खेलमैदान, रंगशालाका भवनहरु

– पुस्तकालयका सभागृहहरु धार्मिक भवनहरु, मन्दिर, मस्जिद, चर्च, गुम्बा आदिका भवनहरु

आवासीय घर-भवन 

स्वच्छ रुपमा मिहिनेतले कमाएको धनको ठूलो भाग खर्च गरेर बनाएको घरमा बस्ने मानिसले सुख, शान्ति, समृद्धिको चाह राख्नु अनुचित होइन।

सुख, शान्ति प्राप्तिका लागि सानो, सुन्दर, स्वच्छ वातावरणले युक्त खुल्ला घमाइलो ठाँउ चाहिन्छ। घडेरीका लागि उपयुक्त आयतन भएको घडेरी छानिसकेपछि वास्तुशास्त्र विशेषज्ञलाई देखाएर मात्र घर बनाउनु पर्दछ।

आवासीय घरको मोहोडा पूर्व फर्किएको होस्, झ्यालहरु उत्तरतर्फ खुलून्, घरको अग्रभागमा स्वागत कक्ष, मध्यभागमा विश्राम स्थल तथा भोजन कक्ष र शयन कक्ष भान्साघरबाट टाढा होस्, स्नानगृह तथा शौचालय दक्षिण दिशामा होस्। घरमा विद्युतीय तरङ्गको दुस्प्रभाव नपरोस्।

जलस्रोतका लागि यथेष्ट संसाधन होस्। विजुली तथा पानीका मेसिनहरु मुख्य घरबाट टाढा होऊन्। प्रयोग पछि निस्कने फोहोर पानीको विसर्जन सम्बन्धी राम्रो व्यवस्था होस्।

भूमितलमा (अण्डर ग्राउण्ड) बनाइएका घर वा कोठामा पनि वायुको आवागमनको राम्रो व्यवस्था होस्।
सानो टुक्रा भएको स्थानमा बनाइएको भवनमा उपर्युक्त सबै कुरा त्याग्नु पर्दछ।

 सरकारी आवास

सरकारी आवासगृह अवस्था र आवश्यकता अनुसार बनाइन्छ। एउटा कोठावालादेखि धेरैतला भएका सबै साधन सुविधाका लागि ध्यान दिएर बनाइन्छ। यसमा पाश्चात्य शैलीका नै सामानहरुको प्रयोग गरिन्छ। सरकारी, भ्रष्टाचारी, तस्करीहरुले कमसल सामानको प्रयोग गर्दछन्।

यस्तो आवासमा बस्न लाभदायक नहुनसक्छ। सरकारी आवसगृहमा पनि पर्यावरणगृह भएका स्थानको ध्वनी आवागमनका उपाय र दीर्घकालिक लाभदायक स्थानमा बनाउनु राम्रो मानिन्छ। सरकारी आवासगृह साह्रै व्यस्त ठाँउमा नभएर शान्त र घमाइलो ठाँउमा बनाउनु पर्दछ।

 व्यापारिक भवन

एक्काइसौं शताब्दी उद्योगको युग हो। यस समयको आगमन सँगै अनेकौं लघु–विशाल व्यापारिक प्रतिष्ठान तथा कम्प्लेक्सहरु बन्न थालेका छन्। नेपालका शहरोन्मुख क्षेत्र देखि काठमाण्डौ उपत्यकाका विभिन्न स्थानमा व्यापारिक भवनहरु धमाधम बनिरहेका छन्।

व्यापारिक भवनहरु साँघुरो ठाँउमा हुनुहुदैन। दीर्घकालिक स्थायित्यलाई ध्यान राखेर यस्ता घरहरु बनाउनु पर्दछ। शहरका मध्यभागमा यथेष्ट जग्गामा पानी, विजुली, मोटर पार्किङ्ग आदिलाई ध्यानमा राखेर वास्तुशास्त्रको सल्लाह अनुसार भवनहरु निर्माण गर्नु पर्दछ।

व्यापारिक भवनमा चढ्ने लिफ्ट ईशान कोणमा, पानीको टेंकी पश्चिममा, भर्‍याङ दायाँ घुमेको उत्तर वा पूर्व मोहोडा भएको बनाउनु पर्दछ।

सरकारी कार्यालयहरु-विद्यालयहरु

सरकारी कार्यालय वा विद्यालयहरु पनि आजभोली एक भन्दा धेर तला भएको बनाउन थालिएको पाइन्छ। कतिपय ग्रामीण विद्यालयहरु बाहेक अन्यत्र एउटै सामान्य घर वा भवनमा सरकारी कार्यालय वा विद्यालयहरु चलाइन्छन्।

यस्ता घरमा भूकम्पीय जोखिमको सामना गर्नु पर्ने हुनसक्छ। अचानक आगलागीबाट बच्न वास्तुशास्त्र अनुसारको जलतत्व, अग्नितत्व, पृथ्वीतत्व, तेज वा विद्युततत्वको समायोजन वा अवस्थालाई ध्यान दिनु पर्दछ।

कतिपय भवन फलाम र ढुङ्गाको संयोजनमा बनेका हुन्छन्। अति साँघुरो क्षेत्रमा कमसल सामग्रीले बनाइएका घाम नलाग्ने आवास विशेष सुख–सुविधालाई ध्यान नदिएर बनाइएका भवनमा सरकारी आवास वा विद्यालय बनाउनु राम्रो मानिदैन।

लघु औद्योगिक भवनहरु

वास्तुशास्त्र अनुसार लघु-औद्योगिक भवनहरु आवादी क्षेत्रको केही नजिक नभएर टाढा हुनु पर्दछ। आवादी क्षेत्रबाट टाढा बनाइएका फ्याक्ट्रीहरुको आसपास पनि धेरै कामदारहरुले घरहरु अनियन्त्रित रुपमा बनाएको देखिन्छ।

जसको कारणले त्यस क्षेत्रमा निवास गर्ने व्यक्तिहरु आर्थिक रुपमा सम्पन्न भए पनि मानसिक पर्यावरणीय रुपमा गरीब हुन्छन्। शहरका छेउछाउमा सामान्य लघुउद्योग भए पनि अलिक फराकिलो चिम्ट्याइलो उर्वराहीन जग्गामा राम्रो हुन्छ। जहाँ दक्षिणतिर ठूला रुख तथा पूर्वतर्फ फूलवारी पश्चिमतिर पानीको टेंकी र उत्तरतर्फ खुल्ला राख्नु पर्दछ।

 फ्याक्ट्री, बहुआयामिक भवनहरु

ठूल्ठूला उद्योग धन्दा फ्याक्ट्रीहर शहरबाट टाढा बनाउनु पर्दछ। आजभाेिल संसारको जमीन साँघुरो बन्दै गएको छ। आणविक भट्टिहरु गाँउबस्ती भन्दा धेरै टाढा मरुभूमि, जङ्गलको बीच, खोलाको किनार जहाँबाट पानीको स्रोत पनि प्रदुषित नहोस्, रातो वर्ण भएको, सेतो वर्ण भएको ढुङ्गेनी जग्गामा बनाउनु पर्दछ।

विश्वविद्यालयका भवनहरु

विश्वविद्यालयका भवन निर्माण गर्ने सामग्री असली खालको हुनुपर्दछ। विश्वविद्यालयको भवन पूर्व मोहोडा फर्केको हुनुपर्दछ। पूर्व मोहोडा फर्केको अग्लो ठाँउमा हुनुपर्दछ। भीडभाडबाट टाढा स्वच्छ, शान्त, सुन्दर मनमोहक ठाँउमा बनेको हुनुपर्दछ।

पूर्वतर्फ फर्केको भवनको पूर्वपट्टि सामान्य फूलवारी दक्षिणतर्फ धूपी सल्लाहरुका अग्ला अग्ला रुख हुने बोट-विरुवा लगाउनु पर्दछ। ग्यारेज पूर्व–दक्षिणमा र ट्वाइलेटहरु दक्षिण वा पश्चिमकोणमा हुनुपर्दछ।

छात्रावास बनाउनु परेमा दक्षिणबाट उत्तर मोहोडा फर्काएर बनाउनु पर्दछ। पुस्तकालय उत्तरपट्टिको भागमा हुनुपर्दछ। विश्वविद्यालयका भवनहरु बनाउँदा झ्याल, ढोका उज्यालो, आवाजको प्रतिध्वनित नहुने आदि जस्ता कुराको ध्यान दिनु पर्दछ।

खेलको मैदान विद्यालय वा विश्वविद्यालयको प्रशासनिक र पठन-पाठन हुने भवनभन्दा दक्षिण वा पश्चिम तर्फको क्षेत्रमा बनाउनु पर्दछ। विद्यालय वा विश्वविद्यालयको हाताभित्र सडक अगल-बगलमा साङ्वाङ, मौलश्री, धूपी र खरीको बोट लगाउनु पर्दछ।

विद्यालय र विश्वविद्यालयको वातावरण हराभरा शान्त र सफा हुनुपर्दछ। आजका विद्यार्थी बालबच्चा भनेका भोलिका भविष्य भएका हुनाले हरेक क्षेत्रको अर्थात् सर्वाङ्गिण विकास गराउने हुनुपर्दछ।

 होटल, व्यायामशाला, खेल मैदान (रंगशाला) पोखरी

होटल, व्यायामशाला, खेलमैदान हावादार उच्च घमाइलो ठाँउमा हुनुपर्दछ। पूर्व र उत्तर तर्फका क्षेत्रमा झ्यालको आकारमा विशेष ध्यान दिनु पर्दछ। दक्षिण तर्फ पनि साना झ्याल राख्नु पर्दछ।

खुला हावादार स्वच्छ र सफा वातावरणमा होटल, व्यायामशाला, खेल मैदान र पोखरी बनाउनु पर्दछ। होटलको बाह्य वातावरण राम्रो भए पनि आन्तरिक निर्माण वास्तुशास्त्रको सिद्धान्त अनुसार बनाउनु पर्दछ। व्यवसायिक रुपमा बनाइएका यस्ता भवनहरुको वास्तु परीक्षण पूर्व माटो परीक्षणदेखि लिएर अन्य सबै कुरामा विशेष विचार पुर्‍याउनु पर्दछ।

पुस्तकालयका भवनहरु

पुस्तकालय, संग्रहालय, स्मृतिगृह, धार्मिक भवन, मन्दिर, मस्जिद, चर्च, गुम्बा, अस्पताल आदि लगायतका भवनहरु यसै अन्तर्गत पर्दछन्। यस्ता प्रकारका भवन बनाउँदा दरिला बलिया तरिकाले धेरै सालसम्म टिक्ने खालको हुनु पर्दछ। राम्रो, स्वच्छ, सफा, उज्यालो, सुन्दर, हराभरा, कोलाहल रहित वातावरणमा यस्ता विशाल भवनहरु बनाउनु पर्दछ।

यस्ता अनेकौं भवनहरु बनाउँदा सकारात्मक-नकारात्मक पक्षमा विशेष ध्यान दिनु पर्दछ। वास्तुशास्त्रले प्राचीन वास्तु प्रयोग र अवस्थाको बारेमा भलिभाँती चर्चा गरेको पाइन्छ तर आधुनिक सम्भावनामा मौन छ भन्ने चर्चा चले पनि यो समुचित देखिँदैन।

वास्तुशास्त्र र स्थापत्यकलाले प्राचीन र आधुनिक कालमा पनि समुचित संयोजन गर्ने यथेष्ट आधारहरु प्रदान गरेको छ। वास्तुशास्त्रीय चिन्तन र सूत्रको समुचित प्रयोग भएमा संसारको कल्याण हुने छ।

राशिफल(मई १६देखि ३१)सम्म

मेष राशि: चु,चे,चो,ला,लि,लु,ले,लो,अ

राजनीतिक सक्रियता बढ्ने देखिन्छ। धार्मिक कार्यमा सहभागी हुने अवसर मिल्ला। रोजगारीमा पदोन्नतिको अवसर प्राप्त होला। शैक्षिक क्षेत्रबाट प्रशस्त लाभ लिन सकिएला। मनोरञ्जनात्मक यात्रामा सहभागी भइनेछ। प्रेमीप्रेमिकामा आपसी समझदारी बढ्नेछ। लामो समयदेखि रोकिएको कार्य आरम्भ हुनेछ। मानसिक अस्थिरता रहनेछ। आकस्मिक धनलाभको योग छ। आफन्तजनको सहयोग प्राप्त होला।

वृष राशि: इ,उ,ए,ओ,वा,वि,वु,वे,वो

अचल सम्पत्तिको कारोवारमा प्रसस्त लाभ प्राप्त हुनेछ। स्वास्थ्यमा सुधार आउनेछ। दुग्धजन्य तरल पदार्थको कारोबारबाट आंशिक लाभ मिल्नेछ। शैक्षिक क्षेत्रको लगानीबाट फाइदा हुनेछ। अध्ययन अध्यापनमा सन्तुष्टि मिल्नेछ। समाजमा मान सम्मान पाइनेछ। छरछिमेक आफन्तसँग नराम्रो झैझगडा पर्न सक्छ। दाम्पत्य जीवनमा सुख र अत्मिक आनन्द प्राप्त हुनेछ।

मिथुन राशि: का,कि,कु,घ,ङ,छ,के,को,हा

साथीभाइको सामान्य सहयोग प्राप्त हुनेछ। अनौठो यात्राको योग बत्रेछ। भाइबन्धुको सहयोगले अधुरा कामहरु बन्नेछन्। धार्मिक कार्यमा सफलता मिल्नेछ।  रमाइलो यात्राको योग छ। स्वास्थ्यमा सुधार आउनेछ। आर्थिक वृद्धि हुने योग देखिन्छ। राज्यको लागि विशिष्ट कार्य गर्ने अवसर मिल्ला। दाजुभाइमा मनमुटाव हुनेछ। परिवारका सदस्यको स्वास्थ्य बिग्रिनाले तनाव हुनेछ। खाद्यान्न तथा अध्यापन जस्ता क्षेत्रमा सफलता प्राप्त हुनेछ।

कर्कट राशि: हि,हु,हे,हो,डा,डि,डु,डे,डो

आम्दानीका स्रोतहरु बढ्नेछन्। व्यवासयमा परिवर्तन आउनेछ। पठनपाठनमा सुधार आउनेछ। आफन्तको स्वास्थ्योपचारमा खर्च बढ्ने देखिन्छ। आय आर्जनको क्षेत्र फराकिलो भएर जानेछ। धार्मिक क्षेत्रमा सफलता मिल्नेछ। आफन्तजनसँग भेटघाट हुनेछ। गरेका कार्यबाट सन्तुष्टि मिल्नेछ। शैक्षिक लगानीबाट आम्दानी तथा प्रतिष्ठा प्राप्त होला। पारिवारिक सद्भाव बढ्नेछ। दाम्पत्य जीवन सुखमय बन्नेछ। प्रेमी प्रेमिका बीच घनिष्टता बढ्नेछ।

सिंह राशि : मा,मि,मु,मे,मो,टा,टि,टु,टे

पारिवारिक स्वास्थ्योपचारमा खर्च बढ्नेछ। अध्ययन अध्यापनमा सुधार आउनेछ। मान्यजनको सहयोग पाइनेछ। प्राविधिक पक्ष सबल रहनेछ। रमाइलो धार्मिक यात्रा हुनेछ। धार्मिक कार्यमा संलग्न हुने अवसर मिल्नेछ। अनुसन्धानात्मक कार्यमा सफलता मिल्नेछ। विश्वासपात्रबाट धोका हुन सक्ला। शैक्षिक क्षेत्रमा लगानी लगाउने अवसर मिल्नेछ। व्यापार व्यवसायमा उन्नति हुनेछ। जागीरमा पदोन्नतिको योग पनि देखिएको छ।

कन्या राशि: टो,पा,पी,पू,ष,ण,ठ,पे,पो

वैदेशिक यात्राको योग बन्नेछ। दुर्लभ वस्तुको प्राप्तिले मन प्रसन्न रहला। अचल सम्पत्तिको कारोवार बढ्नेछ। शत्रु पक्षबाट आरोपित हुनुपर्ने योग रहेको छ। दैनिक खर्चमा वृद्धि हुने तथा आय आर्जनमा गतिरोध आउने देखिन्छ। अध्ययन अध्यापनमा सोचे अनुसार प्रगति नहोला। राजनैतिक तथा न्यायिक कार्यमा उल्झन यथावत् रहनेछ। सामाजिक सद्भावमा वृद्धि हुनेछ। आँखाको समस्या देखिन सक्छ। कार्यमा व्यस्तता बढ्ने योग रहेकोछ।

तुला राशि: रा,री,रु,रे,रो,ता,ती,तु,ते

कला साहित्य संगीतमा रुचि बढ्नेछ। वैदेशिक यात्राको योग देखिन्छ। आफन्तसँग मनमुटावको स्थिति रहला। धार्मिक कार्यमा सहभागी हुने अवसर मिल्नेछ। कुरा काट्नेहरु बढे पनि विजय हुनेछ। पठन पाठनमा मन जाने छैन। कृषिकार्यमा सफलता मिल्नेछ। सांस्कृतिक कार्यमा सहभागिताका अवसरहरु मिल्नेछ।  प्राविधिक कार्यमा सफलता मिल्ने देखिन्छ। सन्तानबाट सहयोग मिल्नेछ। आय आर्जनमा अवरोध आउनेछ।

वृश्चिक राशि: तो,ना,नी,नू,ने,नो,या,यि,यू

पारिवारिक मेलमिलाप बढ्नेछ। प्रेमी प्रेमिकाबीचको सम्बन्ध प्रगाढ हुनेछ। स्वास्थ्यमा सुधार आउनेछ। सन्तानसुख प्राप्त होला। अचल सम्पत्तिको कारोवार राम्रो रहनेछ। वैदेशिक यात्राको योग छ। धार्मिक कार्यमा संलग्नता रहनेछ। सामाजिक सद्भावमा विचलन आउन सक्नेछ। स्वास्थ्यमा सुधार आउनेछ। शत्रुहरु सबल हुनेछन्। अध्ययन अध्यापनमा सुधार आउने छ। स्मरणशक्ति क्षीण हुने देखिन्छ। साझेदारी व्यापारमा प्रसस्त लाभ मिल्नेछ। वैदेशिक यात्राको योग छ।

धनु राशि: ये,यो,भा,भी,भू,धा,फा,ढा,भे

आदर्श व्यक्तित्वसँग भेटघाट हुने देखिन्छ । सामाजिक अपजशको भागिदार हुनुपर्ला। धनको अनावश्यक क्षति व्यहोर्नु पर्ला। अध्ययन अध्यापनमा सुधार आउनेछ। स्वास्थ्यमा सामान्य रहनेछ। साहित्यिक सभा सम्मेलनमा सहभागी हुने अवसर प्राप्त होला। सामाजिक पद प्रतिष्ठा प्राप्त हुनेछ। आध्यात्मिक कार्यमा मन लाग्नेछ। प्रेमीप्रेमिकाबीचको सम्बन्धमा प्रगाढता आउनेछ। वैदेशिक व्यापारबाट आंशिक लाभ हुनेछ।

मकर राशि: भो,जा,जी,जू,जे,जो,खा,खि,खु,खे,खो,गा,गी

न्यायिक कार्यमा रहेको अल्झन सुल्झन सक्नेछ। औषधोपचार कार्यमा सफलता मिल्नेछ। पठन पाठनको क्षेत्रमा लगाएको लगानीबाट लाभ मिल्ने छ। खर्चिलो योजना बन्ने देखिन्छ। सामाजिक मान प्रतिष्ठामा वृद्धि हुनेछ। पारिवारिक कुल कुटुम्बसँगको सम्बन्धमा मधुरता आउनेछ। सभा सम्मेलन सहभागी हुने अवसर मिल्नेछ। स्वास्थ्यले कार्यमा बाधा ल्याउने देखिन्छ। यात्राबाट लाभ मिल्ने देखिन्छ। सन्तानको सुख प्राप्त गरिएला। पेशा व्यवासायबाट प्रसस्त लाभ मिल्नेछ।

कुम्भ राशि:गु,गे,गो,सा,सी,सु,से,सो,द

खर्चमा वृद्धि हुनुका साथै व्यापार व्यवसायमा अवरोध आउनेछ। आफन्तको सहयोग पाइनेछ। तीर्थस्थलको यात्रा गरिएला। सभा सम्मेलनमा भाग लिने अवसर छ। व्यर्थको यात्रामा भौतारिनु पर्ला। शत्रुहरुको वृद्धि हुने योग छ। पेटको समस्या देखिन सक्ने हुँदा खानपानमा विचार पुर्‍याउनु होला। धर्मकर्ममा रुचि रहनेछ।साहित्य लेखनमा रुचि बढ्नेछ। सामाजिक पद प्रतिष्ठामा वृद्धि हुनेछ। भाग्योदयको योग रहेको छ।

मीन राशि: दी,दु,थ,झ,ञ,दे,दो,चा,ची

अध्ययन अध्यापन तथा स्वास्थ्यमा सुधार आउनेछ। दाम्पत्य जीवन सुखमय रहनेछ। सन्तानको सहयोग मिल्नेछ। अचल सम्पत्तिको क्षय हुने देखिन्छ। आफन्तको सहयोग मिल्नेछ। वाणीको प्रभाव बढ्नेछ। यात्रामा विचार पुर्‍याउनु होला। कर्मप्रतिको निष्ठा बढ्नेछ। शारीरिक सौन्दर्यमा वृद्धि हुनेछ। मानसिक थकान बढ्नेछ। कुल कुटुम्बको सहयोगबाट प्रसस्त लाभ मिल्ने देखिन्छ। धार्मिक यात्रामा सहभागी हुने अवसर मिल्नेछ। मित्रको आगमनले मनमा प्रसन्नता छाउनेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *