सरकारको प्राथमिकतामा कर्णाली र सुदूरपश्चिम प्रदेशः मन्त्री भण्डारी

डिसी नेपाल
३ जेठ २०८१ १७:३४

बैतडी। उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले सरकारले कर्णाली र सुदूरपश्चिमलाई प्राथमिकतामा राखेको बताएका छन्। बैतडीको देहिमाडौंमा आज अन्तरपालिका महिला तथा पुरूष भलिबल प्रतियोगिताको उद्घाटनका अवसरमा मन्त्री भण्डारीले सरकारले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा सुदूरपश्चिम र कर्णाली प्रदेशलाई प्राथमिकतामा राखेको बताए।

उनले भने, ‘सुदूरपश्चिम र कर्णाली प्रदेशमा जडीबुटी र खानीसम्बन्धी थुप्रै सम्भावना छन्, ती सम्भावना खोजी गर्ने र उद्योग सञ्चालनको विषयलाई नीति तथा कार्यक्रममा राखिएको छ।’ सरकारको अहिलेको प्राथमिकता विदेश पलायन हुने युवालाई स्वदेशमै रहने वातावरण सिर्जना गर्नु रहेको उनको भनाइ थियो। उनले भने, ‘हामीकहाँ सम्भावना धेरै छन्। कृषि, उद्योग र उद्ममशिलता अहिलेको प्राथमिकता हो। युवाहरूलाई उद्यमशिलतालाई सरकारले नीति तथा कार्यक्रम समेटेको पनि छ।’

सुदूरपश्चिमका खानीहरूको अध्ययनका लागि प्राविधिक टोली पठाइएको बताउदै मन्त्री भण्डारीले बैतडीको फस्फोराइट खानी, बैतडीमा सिमेन्ट उद्योग सञ्चालन गर्न आइएमई ग्रुपसँग छलफल भइरहेको बताए। उनले भने, ‘विकासमा पछाडि परेको सुदूर र कर्णाली प्राथमिकतामा छ। दैजी छेला औद्योगिक क्षेत्र, दोधाराचाँदनी सुक्खा बन्दरगाह, पश्चिम सेती आयोजना अगाडि बढाइदैछ। बैतडीका सबै पालिकामा जडीबुटी पहुँचमार्ग बिस्तार गरिनेछ।’

फरक प्रसंगमा उनले विपक्षी दलले सदनलाई बन्धन बनाएको बताए। उनले भने, ‘सरकारको आगामी आवका नीति तथा कार्यक्रम प्रस्तुत भएपछि नेपाली कांग्रेसले संसद् अवरुद्ध गरेको छ। संसदीय छानबिन समिति बनाउनुपर्ने माग सदन चल्न दिएर पनि उठाउन सकिन्छ। संसद अवरुद्ध हुँदा जनजीविकाका सवाल संसद्मा उठ्न सकेका छैनन्। थुप्रै कानुनहरू अगाडि बढ्न सकेका छैनन्। राष्ट्रिय मुद्दा ओझेलमा परेका छन्।’

नेपाल खेलकुद महासंघको आयोजनामा सुरू भएको अन्तरपालिका भलिबल प्रतियोगितामा जिल्लाका स्थानीय तहका टोलीको सहभागिता छ। प्रतियोगिताको प्रथम पुरुस्कार रु ७७ हजार सात सय ७७, दोस्रो पुरुस्कार रु ५५ हजार पाँच सय ५५, तेस्रो पुरुस्कार रु ४४ हजार चार सय ४४ र सान्त्वना पुरुस्कार रु ३३ हजार तीन सय ३३ रहेको नेपाल खेलकुद महासंघ बैतडीका अध्यक्ष भुपेन्द्र चन्दले जानकारी दिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *