भोकोपेट र खालीखुट्टा गोलीहरूसँगै दौडिँदा…

बिबश डिसी
४ जेठ २०८१ १०:२०

निष्प्रभाव बनिसकेको सूर्यको रातोडल्लो क्रमशः शैलुङडाँडाभित्र लुकिसकेको थियो। चरा-चुरुंगीहरुपनि बासस्थानतिर फर्किसकेका थिए।

वनपाखाहरुमा नयाँपालुवाहरु पलाइसकेका अनि खेत-बारीमा पनि मकैका बोटहरु घुँडा सम्म आइपुगेका कारण प्राय वन पाखा र खेतबारीका कान्लाहरुमासमेत छाएको हरियालीले वातावरण अत्यन्तै उल्लासमय थियो। एकछिन् अघी नै घडीले साँझको ६ः३० बजेको जानकारी गराइसकेको थियो।

दिनभरिको मेरो डियूटी सकिनै लागेको भएतापनि सम्भावित खतरा भने अझै टरिसकेको थिएन। तसर्थ थप चनाखो हुँदै दुवै टिमलाई को-अर्डिनेसन गरि केन्द्रित गर्दै, सुरक्षित गन्तब्यमा पुर्याउनु मेरो जिम्मेवारी, दायित्व र कर्तब्यपनि थियो। म त्यही रातको रुटको बारेमा सोच्दै चारैतिर नजर दौडाउँदै थिएँ।

अचानक म उभिएको ठाँउबाट करिब ४०-४५ मिटर दक्षिण पूर्व बारीको पाटामा फुत्तफुत्त गरि एकहुल बर्दिधारी अपरिचित मान्छेहरु निस्किए र क्षणभरमै पोजिसनमा देखिए। ३०३ राइफललाई पूर्ण तयारी अबस्थामा म तर्फनै सोझ्याएर बोकेका १८-२० जना पुलिसहरुले मलाई देख्ने बित्तिकै “उ,उ,उ ! त्यही हो,……को छोरो,सालेलाई ठोक,ठोक,ठोक’ भन्दै आगोको लप्कासरह गोली बर्साउदै, अंग्रेजी अक्षर सी आकारमा म तिर झम्टन थाले।

म एक सेकेण्डपनि ढिलानगरी, बेण्डरन र जिकज्याक पोजिसनमा बिद्युतीय गतिमा सैन्य नियमअनुसारनै दौडिएँ। दर्जनौं गोलीहरु मेरो दुबैतिरका कान नजिकै र टाङमुनि हुँदै सुँइया-सुँइयाको आबाजमा दौडिरहे।

मकैबारीको कमलो माटोमा गोली लाग्दा उडेको धुलो माटोले आफू अगाडि केही पनि नदेखिनेगरि कुइरिमण्डल भइसकेको थियो, भने गोलीले उछिट्ट्याएको माटोले क्षणभरमै शरीर धुलाम्य भयो। गोलीहरु पड्किएको आवाजले गाँउ-बस्तीनै गुन्जयमान भइरहेको थियो।

मेरो पनि सात्तो-पुत्लो उडाइसकेको थियो। एक्कासी मभित्रको केमिकल परिबर्तन भयो ताकि मैले बाँच्ने आषा मारिसकेको थिए। बाँच्छु होला भन्ने त कल्पना पनि गरेको थिएन।

तर त्योबेला मेरो कंचट र छात्ती ताक्दै आगोका लप्कासरह मलाई अँगालोमा बेर्न हत्तारिइ सकेको मेरो काललाई मेरो आफ्नै उच्चसाहस,आँट र हिम्मतले मात्र पराजित गर्नु थियो। म दौडिँदै गर्दा मेरो नजिक तिनैतिरबाट अगोको लप्कासरी गोलीहरुले झम्टिइरहेका थिए।

करिब १३०-०४० मिटर दौडिएपछि पछाडि फर्किएर हेर्दा उनीहरु बारीको तल्लो गह्रा अनि कान्ला माथिको बारीको पाटो हुँदै सि आकारमा घेराकस्दै, गोली बर्साउँदै मेरो नजिकै आइपुगिसकेका रहेछन्। यतिबेलासम्म त मरिएन छ तर अब पनि डिलमुनि हामफाल्न भ्याइएन भने पक्कैपनि बाँच्न सकिँदैन भन्ने लाग्यो।

र, थप साहास बटुलेर तल्लो साइडको प्रहरीहरुको फायरिङको पोजिसन अनि आगोकोलप्का सरहका गोलीका परराहरु लाई छल्दै, कलात्मक ढंङले उनीहरुलाई झुक्क्याउँदै, बारीको डिलतर्फ भाग्दै, ‘स्यालले कुखुरा लग्यो है’ भन्ने कोडभाषा मार्फत आफ्नो टिमलाई प्रहरीले घेराहालेको जानकारी गराउँदै कान्लामुनी हामफालें।

कान्ला के कति अग्लो वा कस्तो छ भनेर बुझ्ने चान्सनै थिएन। मैले आँखा चाहिँ बन्द गरिन। धेरै तलसम्मपनि भुँइ भेट्टिएन। बरु चिच्याह्वट सँगै शरीर भुइमा बजारिँदा स्वर कारुणिक चिच्याहवटमा बदलिएछ। जसो तसोगरेर फेरि पनि चिच्याइ रहेँ, ताकी साथीहरुले प्रष्ट सुन्न सकुन्।

त्यो आबाज कमरेड प्रतापलगायतको टिमले सुनेछ बिबशलाई चाहिँ गिराफ्तार गरेर पुलिसले मार्यो भन्ने परेछ। बल्लतल्ल भुँइ त भेटियो तर भिरालो जमिनभएको कारण म अडिन नसकेर चिप्लिएर सुरुली खेल्दै तल झरेँ। अब चाहिँ करिब ९०% बाँचियो भन्नेमा म ढुक्क भएँ।

अलिक खुसी पनि लाग्यो। तर त्यति नजिकबाट १८-२० वटा राइफलहरुले मलाई केन्द्रित गरेर त्यति परसम्म लखेट्दापनि एमिङ गर्न नसक्नु उनीहरुको असक्षमताजस्तो लागेर मलाई अनौठो ढंगको खुसी लाग्यो। सायद उनीहरु पनि आत्तिए छन क्यार! त्यो दिन त्यस्तो अबस्थाबाट बाँच्नु भनेको मेरो जीवनको त्यो अनौठो संयोग पनि हो भन्ने लाग्यो।

तलबाट फेरि माथितिर फर्किएर हेर्दा डिलबाट म तिरै फायर गर्दै गरेको देखें। अझै पनि माथिबाट ग्रिनेट प्रहार गर्न सक्ने सभावना र खतरा चाहिँ झन् बढीनै देखियो। बुट्यान झाडीलार्ई लछार-पछार पार्दै ओरालो झाडीतिर उही पोजिसनमै दौडिरहेँ।

दुस्मनले पुरैगाँउ घेराहालेर, स्पेसल टाक्स्फोर्स हाम्रो टिम बसेको दुबैघर र सेन्ट्री मलाई कब्जा गर्ने लक्षसहित राम्रैसँग योजना बनाएर एक्सनमा पसेको रहेछ। तर उनीहरुको समय अलिक ढिला भइसकेको थियो।

मेरो आर्कमा फायरखोल्ने बित्तिकै हाम्रो टिमहरु बसेको घरको ढोकाबाट घरभित्र गोली बर्सिन थालेपछि प्रतिरोध गर्दै, मुस्किलले अन्य टिमलेपनि घेरातोड्न सफल भएछ। तर मलाई दुस्मनले कब्जा गरेर हत्या गर्यो भन्ने लागेर टिममा रुवाबासी चलेछ। म चाहिँ आँफू त बाँचियो तर को को साथीहरुलाई मार्यो भन्ने लाग्यो अनि पल-पल छात्ती निचोरियो।

सयौंमिटर दौडिएपछि नजिकैको झाडीमुनिबाट आफ्नै साथीहरुको संकेत आयो। टक्क अडिएर मैले पनि कोडभाषाद्वारा संकेत गर्दै सुनिस्चित गरे। उहाँहरु देवि पराजुली कमरेड पवन, सिन्धुपाल्चोक र कमरेड उदिक (काभ्रे) हुनुहुन्थ्यो। छुटेको केही टिम त भेट भयो।

हामी ३ जना त जीवितै भयौं तर कमरेड रितबहादुर खड्का प्रताप, कृपाश्वर, बिज्ञान, कबिता, गिता ढुंगेल रेणु, रमेश ढुंगेल साहास, सुरज, प्रतिभालगायत अन्य आठ-नौ जनाको टिम कहाँ हुनुहुन्छ?

के सबैजना सकुशल हुनुहुन्छ ? कतिजनाको नाम सहिदको पंत्तिमा थपिन पुग्यो होला? एकछिन अघिसम्म आफू कसरी बाँच्नेभन्ने चिन्ता थियो। अब साथीहरुको चिन्ताले पीडा भयो। हाम्रो भेट भइसकेपछि पनि केहीबेर म आफैं अगाडि लागेर टिमलाई दौडाएँ

हामीसबै सकुशल त छौ नि ? मैले प्रश्न गरें। दुबैजनाले खुट्टा चाहिँ खोच्याउँदै हुनुहुन्थ्यो। पवनजीले एकछिन बसौन भन्नुभयो। के भयो र? दुबैजना खाली खुट्टा अनि सेन्डाे र हाफ कट्टुमामात्र हुनुहुन्थ्यो। साँझ झमक्क परिसकेको थियो। म सँग भएको सानो टर्चलाईट बालेर हेर्दा दुबै जानाको खुट्टाको पैतालाहरु चिरा-चिराभएर काटिएको रहेछ।

सबैतिरबाट भल्भली रगत बगिरहेको थियो। आँफू बसेको कोठाको ढोकाबाट प्रहरीले भित्र गोली चलाउन सुरु गरेपछि प्रहरीलाई लछार पछार पार्दै हाम्फालेर भाग्दा त्यस्तो भएको रहेछ। दुवैजनाको खुट्टाको रगत पुछपाछ पारिदिएँ। आफूले करिब २४ घण्टादेखि निरन्तर लगाइरहेको जुत्ताखोलेर प्रेमपूर्वक पवनजीलाई लगाइदिएँ। माेजा खाेलेर उदिकजीलाइ लगाइ दिँए।

प्रसंग ०५६ जेठ १२ गतेको दिन रामेछाप जिल्लाको तिलबुङ गाबिसको हो। दोलाखा जिल्लाको दक्षिण बेल्टमा रितबहादुर खड्का कमरेड प्रतापको नेतृत्वमा रहेको १३-१४ जनाको हाम्रो टोली खिम्तिबेसीको महत्वपूर्ण भण्डारको सूक्ष्म अध्यान गर्दै,  बिरालोको चालमा छिपेर नजिकै बाट अध्ययन गर्दै एउटा योजनामा थियौं।

तर तत्कालीन समयमा योजना हाम्रो अनुकुल हुन नसक्दा योजना स्थगित गरेर पुन बहालवाला सेनाको घरमा भएको टुबल्बर्ग बन्दुक लिने अर्को योजनामा रामेछापको गेलु पुग्यौं। तर हतियार पहिलानै सेनामा कार्यरत छोराले काठमाडौं लगिसकेको कुरा थाहा भयो।

हामी रित्तोहात फिर्ता भइ रातभरी हिँडेर तिलपुङको तत्कालीन गाबिस अध्यक्ष शम्बरबहादुर बोहोराको घरमा सेल्टर लिने अनि उहाँसँग राजनैतिक संगठानत्मक रुपमा महत्वपूर्ण छलफल पनि गर्ने टुंगोगरी त्यतै हानियौं।

अँध्यारी रातमा हामी हिँडिरहयौं रातभरी। बिहान झिसमिसे हुनै लाग्दाको अँध्यारोमा सेल्टर पुग्नैलाग्दा प्रतिष्ठा, उदिक, पवन लगायत ४ जना कमरेड फर्मेशनबाट छुटेर हराउनुभयो। धेरैबेर पर्खियौं अनि सम्भावित इलाकामा खोज्यौ। नभेटेपछि बाँकी हामीहरु गाबिस अध्यक्षको घरभित्र पस्यौं।

तर अरु साथीहरु अलिमाथि एउटा घरमा पुग्नुभएछ। उज्यालो भएपछि कमरेड प्रतिष्ठा सम्पर्क खोज्दै आइपुग्नुभयो। अरु तीनजना उतै बस्नुभएछ। तत्कालै फलानोको घरमा माओबादीहरु आए भन्ने कुरा अध्यक्षकोमा रिपोर्ट आइपुगिहाल्यो। घरको तलामाथिबाट हामीलेपनि प्रष्ट सुन्यौं।

अध्यक्षले उनीहरुलाई हल्ला नगरी बस्नको निम्ति सम्झाइ बुझाइ गरेर पठाएता पनि एकै छिनमा गाँउभरी हल्ला भइसके छ। त्योकुरा स्थानीय सुराकी…ले पनि थाहा पाइसकेछन्। उनले जिल्ला प्रहरी कार्यलय मन्थली, इलाका प्रहरी कार्यलय धोबी र प्रहरी चौकी खिम्तिबेसीमा खबर गरिसकेछन्।

गाउँ घेराहालेर हाम्रो टिमको सामुहिक हत्या गर्ने योजना बनाएर दुश्मनको फोर्स गाँउ पसेको रहेछ। बिगतमा तिलपुङ आफैंमा अत्यन्तै गुण्डागर्दी हुने ठाँउ पनि हो भन्ने मनोबैज्ञानिक छाप पनि थियो जनतामा। हामीले पनि त्यही सुनेका थियौं।

सम्भावित खतरा अनि ठूलै अनिष्ठको संकेत देखिएपछि टिमलाई सम्भावित खतराको जानकारी गराउने आन्तरिक कोडभाषा समेत निर्धारण गरि बिहान सबेरैदेखि म आफैं भोकै टिमको सेन्ट्रीमा निस्किएको थिएँ।

रातभरी हिँडेर दिउँसो सुत्नुपर्ने बाध्यता थियो हाम्रो। तर त्यो दिन झुपुक्क पनि सुत्नु त परको कुरा, म आफू रातभरिको अनिदो ज्यान अनि रातभरी र दिनभरी भोक-भोकै सेन्ट्रीबसेको थिएँ। तर टिमको सुरक्षाको चिन्ताले रातभरिको निन्द्रा अनि दिनभरिको भोकको कुनै वास्ता भएन।

त्यतिबेलासम्म रात झमक्कै परिसकेको थियो। उ त्यो पारी डाँडासम्म पुग्नपाए चाहिँ हामी पुग्नुपर्ने लोकेसन र भौगोलिक अबस्थाको बारेमा अन्दाज लगाउन सकिन्थ्यो भन्ने लाग्यो। अनि पाखा कान्ला नङ्र्याउँदै, पहराको सालिमोमा झुण्डिँदै ,मुस्किलले अघि बढ्दै गर्दा समातेर झुण्डिएको बुट्टाबुट्टी उखलिएर थुप्रैपटक पानीको दहमा डुबुल्ल्की मारेर पुरै शरीर निथ्रुक्कै भिज्यौं।

अनि फेरि सोही पाराले अघि बढ्यौं। जेहो्स धेरै हिँडेपछि मुस्किलले डाँडामा चाहिँ निस्कियौं। हिमाल हाइड्रोको सुरक्षार्थ रहेको, पारि क्षितिजमा भोटेछापको प्रहरी चौकी र आयोजना स्थलमा बालिएका झलमल्ल बत्तिहरु प्रष्टै देखिए। हाम्रो आरभी प्वाइन्ट तल खिम्तीको किनार गोगुनटारमा थियो।

यो सबै कुरा साथीहरुलाई जानकारी गराएँ। युद्धको बेला कमाण्ड, कण्ट्रोल, कम्युनिकेशन, कोअर्डिनेसन, आन्तरिक गोपनीयता, सतर्कता र टिम सदस्यको बहुआयमिक क्षमता र कार्यशैलीमा चुस्तता हुनैपर्छ भन्ने कुराको राम्रो प्रमाण पनि हो। गम्भीर दुर्घटना हुनबाट मुस्किलले बँचिएको त्यो घटना।

अघिल्लो रातको निद्रा र आन्द्रासमेत गुडुल्की पर्लाजस्तो भोक अनि थकाइले लखतरान परिसकेको जिन्दगीमा अब एक पित्की पनि तागत बाँकी थिएन। ज्यान कतिबेला कता ढलौं कता ढलौ जस्तो भइसकेको थियो। केहीबेर ज्यानलाई डाँडाको चुचुरोमा लमतन्न बिसायौं र पुनः शक्ति सञ्चय गर्ने प्रयत्न गर्‍याैं।

तर लामो समयसम्म बस्न सम्भव नै थिएन। संबेदनशील खिम्तिबेसी झोलुङ्गेपुल, नाका(प्रहरी चौकी) पुग्न अझै निक्कै बाँकी थियो। खिम्तीका प्रहरी हामीलाई खेदाउन त्यही टोलीमा तिलबुङ तिर आइसकेका रहेछन् भने त ठिकै भयो, नत्र तावाबाट उफ्रेको माछा भुंग्रोमा परेजस्तै पनि हुन सक्दथ्यो!

उज्यालो हुनु अगावै हामीहरु गोगुनटार पुगिसक्नु पर्छ। रातिको करिब १ः०० बज्नै लाग्यो। बल्ल खिम्ती-धोबीको मुलबाटो भेट्टाइयो। जसोतसो खिम्तीबेसी झर्यौं। सुनसान अँधेरी रातमा तामाकोशी र खिम्तीखोलाको एकहोरो सुसाइ अनि बिहानीपख मकैबारीमा चलेको सिरसिर हावाले संगीतमय गतिमा मकैकापात हल्लिँदाको सांगीतिक आनन्दले थकाइ केहीकम भएकोजस्तो भएतापनि अत्याधिक थकाइ, अनिँदो र असाध्य भोक लागेको कारण त्यो आनन्द धेरैबेर टिक्न सकेन।

भोकै मर्नुभन्दा बरु त्यही दुधेमकैले भोक मेटाउने निधो गर्‍याैं। कति खाइयो भन्नेकुरा त भोलिपल्ट झनक सरको बुइगलमा थाहा भइहाल्यो नि!

तामाकोशी नयाँ पुल हुँदै खिम्ती वारिसम्म मोटरबाटो बनिसकेता पनि खिम्ती-मन्थलीखण्ड कहीँ कतै मोटरबाटोका हल्का डोभहरु मात्र थिए।

खिम्तीमा पक्की पुल बनाउने सुर-सारनै थिएन। त्यो दिन त्यता बेस्सरी पानीपरेर खिम्ती खोलामा ठूलो बाढी आएको कारण माछामार्ने मान्छेहरु रातभरी बाढीमा माछाहरु खोज्दै-उघाउँदै रहेछन्। हामी खोलापारि पुग्नु छ। पुलको जिप नजिकै प्रहरी चौकी छ।

अनि पुलको जिप नजिकै प्रहरी सेन्ट्री बस्छ। परिस्थितिको बारेमा अध्यान गर्दै केहिबेर एक आपसमा सल्लाह गर्‍याैं। परिस्थितिलाई पनि नियाल्ने कोसिस गर्यौं। मकैबारीमा माछामार्ने ढोडिया भेट्यौं। अचानक प्रहरी र अरु कसैले सोधिहाल्यो भने हामी माछामार्नेहरु हौं भन्न सकियो।

मैले ढोडिया काँधमा हाले र साथीलाई विद्युतीय गतिमा मलाई पिछागर्न भन्दै म पुलमा दौडिए र पारिपुगेपछि गोगुनटार तिरको चिप्लो कुलै कुलो लाग्यौं। कुलो सकिएर खेत आउनै लाग्दा एउटा मज्जाको ओडार छ। आजपनि एकछिन ओडारमा यो लखतरान भइसकेको ज्यान बिसाउने ठूलो अशाामा चिप्लो कुलोमा ज्यान घिसार्दै थियौं।

ओडारको ८-१० मिटर नजिक पुग्नैलाग्दा त्यही ओडारमा ८-१० वटा मानव आकृति चल्मलाएको देखियो। मैले साथीहरुलाई टक्क रोकेँ। को हुन त तिनीहरु? हामीसँग छुटेको टिम वा प्रहरी ?  बुझेर बस्ने अवस्था नै थिएन। कोडभाषा प्रयोग गर्नखोज्दा-खोज्दै ती आकृतिहरू चम्पट कसेर त्यतै अलाप भैसकेका थिए। सम्भव नै भएन।

उनीहरुको पिच्छा गर्दै जानु अर्को दुष्साहास र खतरा पनि त हुन्थ्यो। फरक्क फर्किएर साथीहरुलाई पछाडि धकेल्दै पुनः पुलको जिपनजिकै पुगेर भोटेछाप तिर उकालो लाग्यौं। म रातभरी खाली खुट्टानै हिँडिरहेको थिएँ।

पैताला पोलेर अब चाहिँ सहन नसक्ने अनि टेक्नै नहुने अबस्था भइसक्यो। मिल्ने भए पैतालालाई काँधमा बोकेर हातले हिँड्न पाए पनि कत्ति जाति हुन्थ्यो जस्तो भैसकेको थियो। उज्यालो हुनै लाग्यो।

उकालो अझै कति छ कति? काँचा दुधे मकै खाएर उकालो दौडनु पर्दा घाँटी, फोक्सो ओठ तालु सबै सुकिसक्यो। वरिपरि कतै पानी पाइएन। च्याप-च्याप मुख सुकेर मरिएला जस्तै भइसक्यो। बल्ल तल्ल उकालो त सकिन लाग्यो।

भोटेछाप प्रहरी चौकी पनि छल्नु छ। अलि तलैबाट पुन पाखा चिथर्दै, मुस्किलले चौकीमाथि मुलबाटोमा निस्कियौ। घंगरु र चुथ्राको काँडाले कोरेर ज्यान रक्तमुच्छेल भइसकेछ। त्यतिबेला हिमाल हाइड्रोको काम दिन रात चौबिसै घाण्टा बराबर गतिमा हुन्थ्यो।

मुलबाटोमा थुप्रै मजदुरहरु दोहोरिलत्ता हिँडिरहेका थिए। नांगो शरीर, कोही मोजामात्र लाएर त कोही खालीखुट्टा अनि रगतपिच्छे शरीर, थाकेको अनुहार, शरीर, भारी नबोकी हत्तारमा मसक्क हिँडिरहेको देख्दा धेरैलाई अनौठो लागेर सोधखोज गर्नु पनि स्वभाबिक नै थियो।

हाम्रो अबस्था देखेर कहाँबाट आएको ?  कता हिँडेको भनेर सोध्नेहरुको पनि ठूलै संख्या थियो। त्यसरी सोध्नेहरुलाई हामी झुलेका दलित हौं कम्पनीको भारी पुर्याएर घर हिँडेका भन्ने जबाफ दिँदै जबर्जस्ती उकालोमा हुत्तिइरह्यौं।

माथि पाइपबाट उछिट्टिएको पानीको फोहोरामा दुम्सीहरू नाच्दै रहेछन्। दुम्सी लखेट्यौं अनि धितमरुन्जेल पानी पियौं। धोबीको क्षितिज राताम्य भइसक्यो। सहरेको भँगेरीमा झनक खड्का सरको घरमा पुग्न अझै निकै छ। सरको घरबाट इलाका प्रहरी कार्यलय  छाैंडे पनि नजिकै करिब १५,२० मिनेटको दूरी मै छ। उज्यालो नहुँदै सेल्टरभित्र पसिएन भने हालत हिजोकै जस्तोमात्र हैन झन् क्षण भरमै सकिन सक्छ।

मुस्किलले धारो नजिकै पुगियो। म्याम पानी भर्दै हुनुहुँदो रहेछ। हामी र हाम्रो हालत देख्ने बित्तिकै म्यामले एक्कासी आँतिदै सोध्नु भयो। घरै आउन आग्रह गर्दै दायाँ बायाँ पल्याक्क पुलुक्क नजर डुलाउँदै घरभित्र पस्यौ। मेडम हत्तार-हत्तार गरेर आएर कहाँ भिडन्त भयो? को को के के भए- भयो ?? भन्दै जिज्ञासा सहित दर्जनौं प्रश्नहरु सोध्न लाग्नुभयो।

मैले मोटामोटी जानकारी गराएँ। त्यतिबेलासम्म उज्यालो भइसकेको थियो। हामी घरको बुइगलमा पुगेर शरीर पुछपाछ पार्‍याैं। मेडमले चिया लगिदिनु भयो। चिया पिएर आराम गर्यौं। मध्यान्न तिर खाना खान उठाउनु भयो।

हाम्रो हालत देखेर मेडमले घडीचराको सुप तयार पार्नु भएछ। जिन्दगीमा मासु र सुप त कति धेरै पटक खाइयो होला कुनै हिसाब किताबनै छैन तर त्यो दिन म्यामले पकाएर दिनुभएको चिची र सुप हाम्रो निम्ति नयाँ जीवन दिने अमृत जस्तै बन्यो। सायद अमृत भन्ने चिजपनि त्यस्तै हुँदो हो र पो अमृत भनेको होला। अनि जीवनभरी नमेटिने गहिरो छाप बनिरहयो मेरो मानसपटलमा।सायद जीवन शर्माले यह परिवेशलाई परिकल्पाना गरेरनै यो गीत गाएको हुनुपर्छ:

बिपतको घडीमा साथ दियौ तिमीले,आकाशमा उड्ने चरीलाई।
एकफाँकी सातु दिएको भोकमा, सम्झाना जुनीभरीलाई …।

खाना खाएर पुनः निदाइएछ। दिउँसो अबेला तिर पो थाहा भयो कि झण्डै ३० घण्टाको भोको पेटमा काँचो दुधे मकै खाँदाको परिणाम!

दिउँसो करिब ४ बजे तिर कमरेड प्रतिष्ठा हामीलाई उठाउनै आइपुग्नुभएछ। सबै टिम सकुशल भएको जानकारी पाउँदा, खुसीको कुनै सीमा रहेन।

हिजो राति गोगुनटारको ओडारमा सल्याङ-सुलुङगर्दै दौडिने त दुस्मन नभएर उहाँहरु नै पो हुनुहुँदो रहेछ। आफूहरु नजिकै धुमिल मानवीय आकृति (हामीलाई) देखेपछि हत्तार-हत्तारमा दौडिएर सेल्टरमा नबसी दिनभरी गोगुनटारको जंगलको ओडारमा बसेर दिन बिताउनु भएछ। हामी दुबै टिमबीच त्यो अँध्यारो रातमा अचानक देखिएका धुमिल आकृतिप्रति शंका लागेकोले एक-आपसमा शसंकित र त्रसित भएको कारण एक आपसमा मज्जाले हाँस्यौ।

साँझ टोली पनि आइपुग्यो। एक आपसमा कसिला हातहरु मिलाउँदै अंकामाल गर्यौं र नयाँ जीवनको शुभकामना पनि आदान-प्रदान गर्दै, जेष्ठ तेश्रो हप्ता खिम्तीबेसीको आँगनीबाट नयाँ खुसी चुम्नको निम्ति योजनामा जुट्याैं।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *