भ्लादिमिर पुटिन र सी जिनपिङ भेटवार्ता, के के विषयमा छलफल भयो ?
काठमाडौं । रुसी राष्ट्रपति भ्लादिमिर पुटिन दुई दिने चीन भ्रमणमा छन् । बिहीबार चीन पुगेका पुटिनले भ्रमणको पहिलो दिन चिनियाँ राष्ट्रपति सी जिनपिङसँग भेटवार्ता गरेका थिए ।
दुई नेताबीच दुई देशबीचको ‘महत्त्वपूर्ण’ सम्बन्धका बारेमा छलफल भएको थियो । सी जिनपिङले युक्रेन र रुसबीच जारी युद्धको राजनीतिक समाधान खोज्नुपर्ने बताएका छन् ।
यद्यपि, सी जिनपिङले त्यसको समाधान कस्तो हुन्छ भन्नेबारे केही भनेनन्। रुसको राष्ट्रपतिको रुपमा पाँचौं पटक सपथ लिएपछि पुटिनले चीनको भ्रमण गरेका हुन् ।
विगत केही दिनदेखि पुटिनले पश्चिमा देशहरू अलोकतान्त्रिक भएको आरोप लगाउँदै आएका छन् ।
रुस र युक्रेनबीच दुई वर्षभन्दा बढी समयदेखि युद्ध चलिरहेको छ । यस युद्धका कारण अमेरिका र उसका सहयोगीहरूले रुसमाथि धेरै प्रकारका प्रतिबन्धहरू लगाएका छन् ।
तर, यस अवधिमा चीनले रुसको आर्थिक अवस्थालाई सम्हाल्न सहयोगी साबित भएको छ ।
Facebook Comment