दश महिनामा पाँच हजारभन्दा बढी डढेलो
काठमाडौं। करिब दश महिनाका अवधिमा पाँच हजार एक सय ३० वटा डढेलो सम्बन्धी घटना भएको छ। वन तथा भू–संरक्षण विभागको तथ्यांकअनुसार गत वैशाख महिनामा मात्र तीन हजार दुई सय ७० वटा डढेलोको घटना भएको छ।
चालु आर्थिक वर्ष २०८०/८१ को साउनयताको तथ्यांक विश्लेषण गर्दा सबैभन्दा बढी यस वर्ष वैशाखमा डढेलोको घटना भएका छन्। विभागको तथ्यांकअनुसार चालु आवका साउनमा डढेलोको घटना शून्य छ। वर्षात्को समयमा पानी पर्ने र वनजंगलको पातपतिंगर ओसिलो हुँदा डढेलो कम लाग्ने विभागले जनाएको छ।
यसैगरी विभागको तथ्यांकअनुसार भदौमा एक, असोजमा तीन, कात्तिकमा पाँच, मङ्सिरमा ३५, पुसमा एक सय तीना आगलागीका घटना भएका थिए। यसैगरी माघमा जम्मा ८३ वटा आगलागीका घटना भए भने फागुनमा डढेलाको संख्या बढेर दुई सय छ पुग्यो।
चैत महिना अझै बढी सुक्खा हुँदै गएपछि डढेलाको घटना पनि बढेर एक हजार चार सय २४ पुगेको विभागको तथ्यांकमा उल्लेख छ। यसैगरी वैशाखमा अझै डढेलोको घटना बढेर तीन हजार दुई सय ७० पुग्यो। विभागका अनुसार चालु आवको वैशाख मसान्तसम्म पाँच हजार एक सय ३० वटा आगलागीका घटना भएका छन्। विभागको तथ्यांकअनुसार यही जेठयता भने ३० डढेलोको घटना भएकामा जनाइएको छ। आज एकैदिन सात डढेलोको घटना भएका छन्।
विभागका अधिकृत गोविन्द श्रेष्ठले स्रोतसाधन अभाव, प्रशस्त पूर्वतयारी र तालिमको व्यवस्था नहुनु, आवश्यकतानुसार बजेट नहुनु, नेपालको भौलिक विकटताका कारण डढेलो नियन्त्रणमा समस्या भएको बताएका छन्। ‘नेपालको भिरालो स्थान र हावाको गति बढ्दा पनि डढेलो नियन्त्रणमा चुनौती भएको छ’, उनले भने, ‘डढेलो नियन्त्रणका लगि अन्तरसरकारी निकाय तथा अन्य सरोकारवाला निकायबीचको समन्वय आवश्यक रहेको छ।’
उनका अनुसार डढेलोका कारण बर्सेनि वनजन्य स्रोतको विनास हुनु, वन्यजन्तुको नास हुनु, बासस्थानमा असर पुग्नुलगायतका समस्या उत्पन्न हुने गरेको छ। डढेलोविद् सुन्दर शर्माका अनुसार नेपालमा साधरणतया वर्षमा दुई हजार पाँच सय हाराहारीमा डढेलाको घटना हुन्छन्। ‘असी प्रतिशत डढेलाको घटना फागुनको मध्यदेखि जेठको मध्यसम्म चार महिनामा हुने गर्छन्। चैत र वैशाखमा मात्र ६० प्रतिशत डडेलोका घटना हुने गर्छन्। यसकारण अहिले हामी उच्च जोखिमको समयमा छौँ’, उनले भने, ‘मध्य फागुनदेखि जेठको मध्यसम्म डढेलाका घटना हुने भएकाले यो समयमा एकदमै सतर्क भएर बस्नुपर्ने अवस्था छ। वैशाखको दोस्रो साता एकदमै डढेलो लाग्ने गर्छ। यो समयमा डढेलाको घटना बढी हुने गरेको पाइन्छ।
Facebook Comment