नेपाली पत्रकारिताः विगतदेखि वर्तमानसम्म
बिश्व पत्रकारिताको इतिहासलाई हेर्दा सर्वप्रथम पूर्वी रोममा दैनिक समाचार पत्र ईस्वी सम्वत १३१ मा प्रकाशित भएको हो। उसको नाम ACTA DIUMA दिनको घटना भनेर चिनिन्थ्यो। त्यस वखत पत्थरको धातुमा पट्ट लगाएर त्यसमा समाचार लेख्ने गरिन्थ्यो त्यो समाचार शहरको मुख्य मुख्य स्थानमा राखिन्थ्यो।
उक्त समाचारमा नागरिकहरुको सभाको निर्णय, वरिष्ठ अधिकारिहरुको नियुक्ति जस्ता कुराहरु लेखिएको हुन्थ्यो। क्रमैसँग मध्ययुगमा युरोपका ब्यापारिक केन्द्रहरुमा सूचना केन्द्र निकाल्ने चलन थियो। यसमा कारोबारको क्रय बिक्रय, मुद्राको मुल्य उतार चढाब, लेख्ने गरिन्थ्यो।
त्यो समयसम्म सूचना पत्र हातले लेखी सम्प्रेषण गर्ने गरिन्थ्यो। हातले सूचनापत्र लेख्दा धेरै महँगो र ढिलो हुने गर्दथ्यो। १५ औं शताब्दीमा आएर योहन गुटन वर्गले छाप्ने मेशिनको आबिस्कार गरेपछि धातुका अक्षरहरुको आविस्कार भयो फलस्वरुप पत्रकारिता जगतमा धेरै सुधार आयो।
छाप्ने मेशिनको आबिष्कार भएपछि किताबहरु, अखबारहरु प्रकाशन हुन थाले। १६ औं शताब्दीको अन्त्य तिर युरोपको शहर स्त्रास्बुर्गका योहन कारतुस नामका कारोवारीले धनवान ग्रहको लागि सूचनापत्र प्रकाशित गरे।
उनले शुरु शुरुमा हातले लेखेर सूचनापत्र प्रकाशित गरे जसले गर्दा उनलाई धेरै प्रतिहरु हातले लेख्नु पर्दा महँगो हुन गयो त्यस पछाडि उनले पत्रिका छाप्ने मेशिन किनेर समाचार पत्रहरु छाप्ने गरे जसको नाम थियो रिलेशन यही नै बिश्वको पहिलो मुद्रित समाचार पत्र।
यहाँबाट पत्रिकाको इतिहास शुरु भएको मानिन्छ। युरोप हुँदै बिश्वभरि पत्रिका प्रकाशन हुने क्रम बढ्दै गयो, नेपालमा पत्रकारिताको इतिहास बिश्व पत्रकारिताको इतिहास भन्दा निकै पछाडि छ।
छिमेकी मुलुक भारत, अर्काे छिमेकी मुलुक चीनमा पत्रकारिताको इतिहास हामी भन्दा कयौं वर्षांै अगाडि छ। हामीहरुको सबैभन्दा नजिकको छिमेकी मुलुक भारतमा सन १५५० छापाखानाको बिकास भएको थियो।
वि.सं. १९०८मा नेपालमा राणा प्रधानमन्त्री श्री ३ जंगबहादुर राणाले बेलायतबाट फर्कँदा फलामको हाते प्रेस किनेर ल्याएका थिए। जसलाई अझै गिद्दे प्रेसको नामले चिन्ने गरिन्छ। यसैबाट नै नेपालमा पत्रकारिता र छापाखानाको विकास भएको मानिन्छ।
सोही समयदेखि नेपालमा पत्रकारिता शुरु भएको मान्ने गरिन्छ। श्री ३ जंगबहादुर राणाले गिद्दे प्रेस ल्याएको केही समय पछि अर्काे छापाखाना आयो जसको नाम थियो मनोरञ्जन छापाखाना। त्यसपछि नेपालमा छापाखाना ल्याउने क्रम बढ्दै गयो।
जंगबहादुर राणाले भित्र्याएको गिद्दे प्रेसको झण्डै पचास वर्षपछि मात्रै नेपालमा मुद्रण प्रत्रिका प्रकाशित भएको देखिन्छ। नेपालको पत्रकारिता र मुद्रण कार्यलाई भित्र्याउने प्रथम ब्यक्ति आदिकवि मोतिराम भट्टले नै हुन। उनले बि.सं. १९४२मा गोर्खा भारत जीवन नामको नेपाली पत्रिका बनारसबाट प्रकाशन गरेका थिए।
बि.सं. १९५५ श्रावनमा पण्डित नरराजले सुधासागर पत्रिका प्रकाशित गरेका हुन्। यही नै नेपालको पहिलो पत्रिका हो। नेपाली भाषाको पहिलो पत्रिका गोर्खा भारत जीवन हो भने नेपालमा प्रकाशित पहिलो पत्रिका सुधासागर हो।
सुधासागरपछि नेपालबाट नेपाली भाषामा प्रकाशित भएको दोस्रो पत्रिका गोर्खापत्र हो। नेपालको पहिलो दैनिक पत्रिका गोर्खापत्र राणा प्रधानमन्त्री श्री ३ देव समशेरले गरेका हुन्।
गोर्खापत्र पत्रिका बिक्रम सम्वत १९५८ बैशाख २४ गते नेपालको पहिलो समाचार पत्रका रुपमा साप्ताहिक प्रकाशन शुरु भएको थियो। अहिले गोर्खापत्र दैनिकले आफ्नो १२३ औं वार्षिक उत्सव मनाइ सकेको छ।
गोरखापत्र बि.सं. २००० असोज २९ गते अर्ध साप्ताहिकको रुपमा हप्तामा दुई पटक प्रकाशन शुरु गरेको हो, सो समयको मंगलबार र शुक्रबारका दिन गोरखापत्र प्रकाशन हुने गर्दथ्यो भने २००३ साल पुस ८ गते देखि सातामा तीन पटक र बि.सं. २०१७ साल फागुन ७ गतेबाट दैनिक पत्रिकाको रुपमा प्रकाशन शुरु गरेको हो।
२००७ सालको राजनीतिक परिवर्तन र २०१७ सालको राजनीतिक परिवर्तनमा गार्खापत्रले आफ्नो भूमिका निर्वाह गरिसकेको इतिहास हाम्रा सामु छ। तत्कालीन राजा श्री ५ महेन्द्र विर विक्रम शाहदेवले गोर्खापत्रलाई दैनिक पत्रिकाको रुपमा प्रकाशनको लागि महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए।
समयक्रम अनुसार मुलुकमा राणा शासनको अन्त्यसंगै संचार माध्यमाहरु धमाधम खुलेको देखिन्छ। वि.सं. २००७ सालमा प्रजातन्त्र स्थापना भएपछि वि.सं. २००७ साल फागुन ८ गते सिद्धिचरण श्रेष्ठको सम्पादनमा आवज दैनिक पत्रिका प्रकाशन भएको छ भने जागरण साप्ताहिक पनि प्रकाशन भएको थियो।
वि.सं. २०१० सालमा अंग्रेजी दैनीक समाज दि कमरन प्रकाशनमा आएको छ। वि.सं. २००७ साल तिर छापा पत्रकारिता संगै नेपालमा रेडियो प्रशारण शुरु भएको छ। राणा शासनको बिरुद्धमा सर्वप्रथम नेपालको पूर्वी पहाडी क्षेत्रबाट नारदमुनी थुलुङले प्रजातन्त्र रेडियोको नाममा प्रशासरण शुरु गरेका थिए।
त्यसैगरी तारणीप्रसाद कोइरालाले बिराटनगरबाट रेडियो प्रशासरण गरेका थिए। प्रजातन्त्र स्थापना भएपछि नेपाल सरकारले वि.सं. २००७ साल चैत्र माहिनामा रेडियो नेपालको स्थापना गरेको हो।
नेपालभरी चिठी पत्र ओसार पोसार गर्न सहजताको लागि भन्दै वि.सं. १९३८ सालमा हुलाक सेवा शुरु भएको हो। त्यसपछि सञ्चार माध्यमको रुपमा वि.सं. २०२४सालमा टेलिफोन सेवा शुरुवात भएको हो। समयक्रम अनुसार टेलिभिजनको शुरुवात भएको देखिन्छ।
हाल आएर पत्रकारिता नेट इन्टरनेट हुँदै सामाजिक सञ्जाल फेसबुक, ट्वीटरसंग जोडिन पुगेको छ। इन्टरनेटसँग जोडिएको पत्रकारिता मानव, समाज तथा व्यक्तिका अभिन्न अंगको रूपमा स्थापित भएको छ।
सूचना, समाचार तथा मनोरञ्जन प्रदान गर्ने माध्यमको रुपमा शुरुवात भएको पत्रकारिता विशाल उद्योगको रूपमा स्थापित हुन पुगेको छ। २०४६ सालको राजनीतिक परिवर्तन पश्चात नेपालमा पत्रकारिता क्षेत्रले ठूलो फड्को मारेको छ।
राष्ट्रिय स्तरका दैनिक पत्रिकाहरुले देश, समाज र विकासको विषयमा दिनहुँ समाचार सम्प्रेषण गरिरहेका छन् देशभरीका ७७ वटै जिल्लाबाट दैनिक, साप्ताहिकरुपमा पत्रपत्रिकाहरु प्रकाशन हुने क्रम बढ्दो छ।
अहिले गाउँ, वस्ती, टोल टोलमा सञ्चार ढपक्कै छाएको छ। ग्रामीण क्षेत्रका व्यक्तिहरुले पनि सहज एवं सरल तरिकाले सूचना प्राप्त गरिरहेका छन् यो नै अहिलेको सबै भन्दा ठूलो उपलब्धि हो।
Facebook Comment