मृत्यु भइसकेका बाबुको आवाजमा जबाफ दिन सक्ने च्याटबट बनाएका छोरा

इगोन कोसु
७ जेठ २०८१ ६:०१

बीबीसी। सन् २०१६ मा जेम्स भ्लाहोसले उनको पितालाई अन्तिम चरणको क्यान्सर भएको भयावह खबर पाए। “म बुवालाई औधी माया गर्थेँ, अब म उहाँलाई गुमाउँदै थिएँ”, क्यालिफोर्नियाको ओकल्यान्डमा बस्दै आएका जेम्सले भने।

उनी आफ्नो पितासँग बचेको समयको अधिकतम सदुपयोग गर्न चाहन्थे। “मैले उहाँसँग मौखिक इतिहास रेकर्ड गर्नेसम्बन्धी काम गरेँ। मैले घण्घौँघण्टा उहाँको जीवनकथाको अडिओ रेकर्ड गर्नमा बिताएँ।”

यो जेम्सले एआई क्षेत्रमा आफ्नो भविष्य खोज्न सुरु गर्दै गर्दा ताकाको कुरा थियो। त्यसैले नै यो परियोजना चाँडै विकास हुन सक्यो। “हे ईश्वर, यसबाट केही अन्तरक्रियात्मक सामग्री बनाउन सकेँ भने कस्तो हुन्थ्यो होला भन्ने मलाई लाग्यो,” उनी भन्छन्, “जसका मद्दतले बुवाको सम्झनालाई गहिरोसँग जोगाउन सकियोस्, उहाँको गज्जबको व्यक्तित्वको आभास पनि गरिराख्न पाइयोस्।”

जेम्सका पिता जोन सन् २०१७ मा बिते। त्यतिञ्जेलसम्म जेम्सले आफूले रेकर्ड गरेको बुवाको स्वरलाई आर्टिफिसियल इन्टेलिजेन्स (एआई)द्वारा सञ्चालित च्याटबटमा रूपान्तरित गरिसकेका थिए, जसले उनको पिताको जीवनबारे सोधिएका प्रश्नको उनकै स्वरमा उत्तर दिन सक्थ्यो।

बितिसकेको मान्छेलाई पुन: ब्युँताउन एआईको प्रयोग गरिएका दृष्टान्त विज्ञानमा आधारित चलचित्रहरूमा धेरै अघिबाट देखिँदै आएको छ। तर अहिले एआई प्रविधिको विकासले वास्तविक जीवनमै त्यसो गर्न सम्भव बनाइदिएको छ।

सन् १०१९ मा जेम्सले आफूले बनाएको च्याटबटलाई हिअरआफ्टर–एआई नामको व्यावसायिक एप्लिकेशनमा रूपान्तरित गरे, जसले प्रयोगकर्तालाई आफ्ना बितिसकेका प्रियजनसँग त्यसो गर्न अनुमति दिन्थ्यो।

पिताको मृत्युको पीडालाई नमेटे पनि च्याटबटले ‘धेरै कुरा दिएको’ जेम्स बताउँछन्। उनका अनुसार च्याटबट नभएको भए यो अनुभूति उनले सायदै गर्न पाउँथे।”यसले बुवाको स्मृतिलाई धमिलो गर्ततिर धकेलिन दिँदैन। मसँग अद्भूत अन्तर्क्रियात्मक सङ्ग्रह छ। म यसको प्रयोग गर्न सक्छु।”

हिअरआफ्टर–एआईमा प्रयोगकर्ताले आफ्ना प्रियजनको फोटो अपलोड गर्न सक्छन्। एप्लिकेशन खोल्दा त्यो फोटो स्मार्टफोन वा कम्प्युटरको स्क्रिनमा देखापर्छ। मानिसलाई एआई च्याटबटमा रूपान्तरित गर्दै आएको एउटा अर्को कम्पनी त झनै अगाडि छ।

दक्षिण कोरियाको डिपब्रेन–एआईले घण्टौँ लगाएर मानिसको अनुहार, स्वर र चालचलनको अडिओ तथा भिडिओ खिच्छ र त्यसमा आधारित भएर ‘भिडिओ अवतार’ बनाउँछ।

“हामी ९६.५ प्रतिशत मिल्दोजुल्दो हुने गरी मूल मान्छेको प्रतिरूप बनाउँछौँ,” डिपब्रेनका प्रमुख वित्त अधिकारी माइकल जङ भन्छन्, “त्यसले गर्दा अधिकांश मानिसहरू परिवारको मृत सदस्यसँग कुरा गर्दा धकाउँदैनन्, भलै यो कृत्रिम हो।” यस्ता किसिमका प्रविधिले ‘सहज मरण’ संस्कृतिको विकास गर्न महत्वपूर्ण भूमिका खेल्न सक्ने कम्पनीको विश्वास छ। त्यस्तो मरणमा हामीले केही समय अगाडि नै आफ्नो मृत्युको तयारी गर्न पाउँछौँ।

आफ्नो परिवारको इतिहास, कथा तथा सम्झनाहरूलाई ‘जीवन्त विरासत’का रूपमा छाडेर जान पाउँछौँ। यो प्रविधि सस्तो भने छैन, न प्रयोगकर्ता स्वयंले आफ्ना मृत प्रियजनको ‘अवतार’ सिर्जना गर्न सक्छन्।

बरु छायांकन तथा प्रतिरूप निर्माण प्रक्रियाका निम्ति कम्पनीलाई ५० हजार अमेरिकी डलरसम्म तिर्नुपर्ने हुन्छ। महँगो भए पनि यो प्रविधि लोकप्रिय हुन्छ भन्नेमा केही लगानीकर्ताहरू ढुक्क छन्।

डिपब्रेनले पछिल्लो लगानी संकलनका क्रममा चार करोड ४० लाख अमेरिकी डलर जुटायो।

मनोवैज्ञानिक लुभर्न एन्ट्रबस भन्छिन्, “बेस्सरी भावुक भएको समयमा यस्ता ‘दुःखिया प्रविधि’ प्रयोग गर्दा असाध्यै सावधानी अपनाउनुपर्छ।” “(कसैलाई) गुमाउनुको पीडाले हामीलाई स्तब्ध बनाइराखेको हुन्छ,” उनी भन्छिन्, “सोच्न सक्नुहुन्छ, तपाईँ बल्लतल्ल ठीक हुन लागेका बेलामा फेरि केही कुराले तपाईँलाई पछाडि फर्काइदिन सक्छ।”

“एआईको माध्यमबाट आफ्ना प्रियजनको स्वर सुन्न सकिने भन्ने जुन विचार छ, त्यो सुन्दै गर्दा काफी निराशाजनक पनि हुन सक्छ।”

एन्ट्रबसको विचारमा हालै गुमाइएका प्रियजनमा आधारित च्याटबट प्रयोग गर्न हतार गर्नुहुँदैन। “त्यसो गर्नुअघि तपाईँ एक किसिमले स्थिर मनोदशामा हुनुपर्छ। यिनीहरूलाई एकदमै सुस्तरी लिनुहोस्।”

हामी हरेकको शोक मनाउने विशिष्ट तरिका छ। यसको अर्थ साझा अनुभूति छैन भन्ने चाहिँ होइन। च्याटजीपीटीजस्तै गूगलको च्याटबोट जेमिनाईले निर्वाचनसम्बन्धी प्रश्नको उत्तर दिन बन्द गर्‍यो
प्रशासनिक काम तिनैमध्येको एउटा हो। हाम्रा प्रियजनहरूले जुन–जुन बैंक, व्यवसाय र सामाजिक सञ्जालहरूको प्रयोग गरेका छन्, तिनको निधनपछि त्यसलाई बन्द गराउन विभिन्न किसिमका कागजी प्रक्रिया पूरा गर्नुपर्ने हुन्छ।

“त्यस्ता दुई दर्जन कम्पनी थिए। म हरेकलाई फोन गर्दै आफ्नो क्षतिको बारेमा बताउँदै थिएँ”, दक्षिण डेभोनकी बासिन्दा ४१ वर्षीय एलेनर वुड भन्छिन्। उनका पति स्टिफनको गतवर्षको मार्चमा गम्भीर बिमारीका कारण मृत्यु भएको थियो।

“केही कम्पनी राम्रा थिए, सजिलै कुरा टुङ्ग्याउँथे। केही चाहिँ बिल्कुल अक्षम र संवेदनहीन थिए। म भावनात्मक रूपमा सबैभन्दा कमजोर स्थितिमा भएको समयमा ती झन् तनाव र सङ्कट पैदा गर्थे।”

यूकेमा ‘सेटल्ड’ नामको अनलाइन माध्यम छ, जसले ताजा शोकको स्थितिमा रहेकाहरूलाई प्रशासनिक झमेलाबाट मुक्त राख्न उनीहरूका तर्फबाट निजी क्षेत्रका सङ्घसंस्थासँग सम्पर्क राख्छ।

उक्त अनलाइनमा प्रयोगकर्ताले आवश्यक कागजहरू र सम्पर्क गर्नुपर्ने संस्थाहरूको नाम प्रविष्ट गर्छन्। त्यसपछि ‘सेटल्ड’ले स्वत: इमेल लेख्छ र ती संस्थाहरूलाई पठाउँछ। काम भयो कि भएन भनेर तपाईँ पुन: अनलाइनमा गएर जाँच्न सक्नुहुन्छ।

यसले ब्याङ्कदेखि सामाजिक सञ्जाल तथा यूटीलीटी कम्पनीसम्मका ९५० निकायसँग काम गर्छ। विक्की विल्सनले सन् २०२० मा आफ्नी हजुरआमाको मृत्यु भएपछि यो काम थालेकी थिइन्। उनी यस कम्पनीकी सहसंस्थापक हुन्।

उनी भन्छिन्, “प्रशासनिक बोझलाई पूरा गर्न हामीले जति प्रविधिको उपयोग गर्न सक्यो त्यति नै राम्रो। हामीलाई काम सक्न लगभग नौ महिना लाग्छ। ७० प्रतिशत काम स्वचालित तवरले हुन्छ र हुनु पनि पर्छ।”

प्राविधक समाचार सम्बन्धी वेबसाइट टेकराउन्डका अनुसार ‘मृत्यु प्रविधि’ भनेर समेत चिनिने यस्ता कार्यसँग सम्बन्धित प्रविधिको विश्वभरि हाल १ खर्ब डलर मूल्य बराबरको बजार छ।

यसका प्रधानसम्पादक डेभिड सोफर कोरोना महामारीपछि यो व्यवसाय झन् तीव्रसँग बढेको बताउँछन्।

“कोभिडले मानिसलाई जीवनको महत्व अझ राम्ररी बुझायो”, उनी भन्छन्। मृत्युमाथिको छलफललाई वर्जित गर्ने हाम्रो चलनलाई घटाउन पनि यसले मद्दत गरेकोप्रति उनी जोड दिन्छन्। परिणामस्वरूप प्रविधिलाई शोक प्रक्रियाको हिस्साका रूपमा स्वीकार्ने चलन व्यापक बन्यो।

“एकैपटकमा धेरै मानिसलाई सूचित गर्न सक्षम हुनु, अडिओ रेकर्डिङ वा भिडिओ सन्देशमार्फत् मानिसहरूको स्मरण गर्न पाउनु आदि सबै महत्वपूर्ण छन्”, उनी भन्छन्।

तर सोफर यो प्रवृत्तिको अझै गहिरो अर्थ रहेको धारणा राख्छन्। “प्राविधिक विकासले प्राविधिक समस्याको हल गर्छ भने त्यो राम्रो कुरा हो”, उनी भन्छ्न्, “तर जब यसले मानवीय शोकजस्ता गैरप्राविधिक समस्या हल गर्न मद्दत गर्छ, त्यो नै प्राविधिक विकासको वास्तविक उद्देश्य हो।”

तर एन्ट्रबसको विचारमा शोकबाट बाहिर निस्कने विषयमा प्रत्यक्ष मानवीय सहायताको कुनै विकल्प हुँदैन। उनी भन्छिन्, “दु:खको समयमा एकअर्काको निकट हुने, हेरचाह गर्ने र सरहाना गर्ने–गराउने आदिमा आधारित शोकको परम्परागत आयामको स्थान कुनै प्रविधिले लिनेछ भन्ने कुराको म परिकल्पना गर्दिनँ।”




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *