अनेसासको भावी अध्यक्ष र नेतृत्वमा हाम्रो अपेक्षा र प्राथमिकतामा

मोहन निरौला
७ जेठ २०८१ ७:४४

करिब ३३ बर्ष अगाडि स्थापना भएको अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजले आफ्नो १७ औं केन्द्रीय कार्यसमितिको लागि निर्वाचन कमिटी गठन गर्नासाथ नयाँ कार्य समितिका बिभिन्न पदहरुमा आकांक्षीले आफ्नो-आफ्नो चाहना व्यक्त गर्न थाल्नु भएको छ।

यो नितान्त साहित्यिक सामाजिक स्वयंसेवक जिम्मेवारी हो र यसको निमित्त प्रसस्त समय, मेहनत, तथा आर्थिक लगानीको आबश्यकता पर्छ। आफ्नो अन्य आर्थिक श्रोत नभएको यो संस्थाले गर्ने हरेक गतिविधिहरु संचालन गर्न लाग्ने खर्च बिभिन्न दाता र आफ्ना सदस्यहरुबाट सहयोग लिइरहेको छ।

साथै संसार भरि छरिएर रहेको यस संस्थाका गतिबिधि जुनसुकै स्थानहरुमा भए पनि सबै तहका पदीय जिम्मेवारीमा रहनु भएका सदस्यहरु आ-आफ्नो खर्चमा यात्रा तथा बसोबास र खानको व्यवस्था गर्नुपर्छ। यो अर्थमा भन्ने हो भने यो खर्चिलो पनि छ।

तर पनि नेपाली भाषा, साहित्य र कलाको प्रबर्द्धन र बिकाश गर्न तत्परता देखाउनु नेपाली भाषा र नेपाली समाजको लागि खुशीको कुरा हो। बढ्दो आप्रबासको वर्तमान सन्दर्भमा अनेसास जस्तो भाषा, साहित्य र कलाको जगेर्ना गर्ने जिम्मेवारी बोकेको संस्था र यसको सबै तहका निर्वाचित कमिटी तथा समितिहरुको ठूलो महत्व छ।

अनेसासले निर्वाचन कमिटी गठन गर्‍याे र निर्वाचन कमिटीले आफ्नो कार्यतालिका प्रकाशन गर्न त बाँकी नै छ तर विभिन्न तहका आकांक्षीहरु सकेसम्म पहिलो भएर आफ्ना आजीवन सदस्यहरु सम्म पुग्न चाहनु हुन्छ र नै छिट्टै गरेर आफ्नो उमेद्वारी रहने उदघोस गर्न थाल्नु भएको छ।

आगामी कार्यकालको निमित्त हामीले अपेक्षा गरेका भावी पदाधिकारीहरु, त्यो पनि प्रमुख नेतृत्व र मुख्य पदहरुमा धेरैजसो बिगत वा वर्तमान कार्यसमितिमा बिभिन्न समयमा र बिभिन्न तहमा काम गरिसकेका मध्येबाट नै आउनुहुने प्राय निश्चित छ।

यसले हामी आम आजीवन सदस्यहरुलाई आगामी नेतृत्वको छनोट गर्न सजिलो पनि पार्न सक्छ। अनेसास खास गरेर साहित्यकार हरुको संगठन, साहित्यकारहरु समाजका पथप्रदर्शक र भोलिका प्राज्ञ हरु हुनुहुन्छ र सायद यो निर्वाचनमा बिगतका केही निर्वाचन जस्तो तिक्ततापूर्ण नभै एक-अर्का प्रति आदर र सहयोग गरेर अगाडी बढ्छ भन्ने आशा र अपेक्षा पनि गरौं| कसैले केही गुमाउनु पर्ने छैन, र सबैको जितको अवस्था पनि सृजना गर्न सकिन्छ।

यस सन्दर्भमा आगामी कार्यकालको नेतृत्व कसलाई दिने भन्ने गहन जिम्मेवारी अब हाम्री सबै आजीवन सदस्यहरुको काँधमा आएको छ। नेतृत्वको दावी गर्ने सबै जनालाई हामी मध्ये धेरैले र लामो समयदेखि चिनेका छौं र वहाँहरुका साहित्यिक तथा अनेसासलाई गर्नु भएको योगदान बारे पनि हामी धेरैजसो जानकार नै छौं।

यहाँ मैले योगदानलाई वास्तविक, सार्थक र तथ्यपूर्ण योगदानको रुपमा प्रस्तुत गरेको हुँ। कोही एक पटक वा पटक पटक कुनै तहमा बसेको हुन् सक्छ तर साँचो अर्थमा योगदान के के योगदान र कति योगदान गरेको छ, त्यो चाहिँ बढी महत्वपूर्ण हुन्छ र ती तथ्यहरु नै तुलनाका आधारहरु हुन्।

नेपाली भाषा, साहित्य र कलाको क्षेत्रमा र अनेसासको संगठनिक जिम्मेवारीमा बसेर वा नबसीकन पनि अनेसासको श्री वृद्धिमा केकस्तो प्रयास गर्नु भएको छ त्यो चाहिँ हामीले हेरिरहेका पनि छौं र केही छुटाएका भए त्यो जान्न चाहन्छौं।

हामी आजीवन सदस्यहरुको चासो र छनोटको आधार यही नै हुने छ। कोही कसैको नाम बिभिन्न जिम्मेवारीमा हुनु एउटा कुरा, तर जिम्मेवारी लिनु र त्यसलाई पूरा गर्नु फरक कुरा हुन्।

हाम्री नामको लागि नभै सार्थक योगदान पुर्याउन बिगतमा सबै तहका प्रतिनिधिहरुले संगठनको पदीय जिम्मेवारी भित्र वा बाहिर रहंदा अनेसास र नेपाली भाषा, साहित्य र कलालाई प्रबासमा छरिएर रहेका नेपाली भाषी र नयाँ पुस्तामा भाषा, साहित्य र कलाको परिचय, पहुँच र वितरण गर्न यहांहरुले गरेको सार्थक प्रयासको मुल्यांकन गर्ने छौं।

संस्थाको निर्वाचनको समयमा झुल्किने, बिभिन्न संघ संस्थाहरुमा पदको खोजीमा चाहार्ने र पद नपाएको झोंकमा भोलिपल्टदेखि संस्था र त्यसको नेतृत्व पंक्ति प्रति अनास्था फैलाउने बिगतका गतिबिधि देखि आजित छौं र यो पटक त्यस्ता प्रक्रिया नदोहोरिउन भन्ने चाहन्छौं।

साथै, अहिले सम्म जे जे कुरा अगाडि आए पनि उमेद्वारी दिनु अगाडि, बिगत १-२-४-८ वा १०-१५ बर्षदेखि म कहाँ थिएँ, मैले नेपाली भाषा, साहित्य र कलालाई के कस्तो योगदान दिएँ र अनेसासलाई मैले के के कुरामा योगदान पुर्याँएं भनेर स्व-मुल्यांकन गरेर आफू भन्दा योग्य व्यक्तिलाई अवशर दिनु भयो भने अनेसासलाई साँच्चै माया गर्नु हुन्छ भन्ने यकिन गर्न सकिन्छ।

साथै बिगतमा यहांहरुले अनेसासका केही जिम्मेवारी लिई सक्नु भएको छ भने, आफुलाई फर्केर हेरिदिनुहोस, र मुल्यांकन गरिदिनुहोस् कि नाम बाहेक यहाँले के कति समय दिन सक्नु भयो र के के सार्थक र तथ्यगत काम गरेर आफ्नो जिम्मेवारी पूरा गर्नु भयो।

फेरि पनि जोड दिनुपर्ने के हो भने, पदीय जिम्मेवारी वा नियुक्ति लिनु र त्यो जिम्मेवारीमा आफुले सार्थक योगदान गर्नु फरक फरक कुराहरु हुन्। सबैको आफ्नो आफ्नो शिप वा दक्षताको क्षेत्र हुन्छ र आफूलाई सोहीअनुसारको कार्यमा लगाएमा अझै राम्रो सफलता प्राप्त गर्न सकिन्छ।

साहित्य सृजना गरेर नेपाली भाषा र साहित्यको सेवा गर्न र आफ्नो रहर पुरा गर्न सकिन्छ तर केवल रहर पुरा गर्न कुनै पनि पदीय दायित्वमा बस्नखोज्नु संस्था र सिंगो समाजप्रति सहयोग होइन बरु यसले संस्थागत विकास र संस्थाको मूल उद्देश्य प्राप्तिको लक्ष्य प्राप्त हुँदैन| संगठन ब्यबस्थापन र संचालनका केही बिशेष शिप पनि आवश्यक हुन्छन जो सबैमा नहुन सक्छ।

अनेसासलाई परदेशमा रहेका सर्जकको मुख्यालय बनाएर, सृजनामा आवश्यक भौतिक, सन्दर्भ सामग्री लगायत श्रोतजन्य सहयोग, प्रकाशन तथा वितरणमा संस्थागत सहयोग, अनेसासको संगठन शुदृढीकरण, श्रोतको पहिचान र परिचालन, प्रवासको नयाँ पुस्तामा भाषा, साहित्यको पहुँच र नेपाली भाषा र साहित्यमा एक सेतुको काम गर्न आगामी नेतृत्व सफल होस्।

त्यसको लागि हामीले कोही व्यक्ति परस्त नभै नेपाली भाषा, साहित्य र कलाका लागि स्वयंसेवक र सर्जक बीच समन्वय र सम्बन्ध स्थापित गर्न प्रष्ट योगदान पुर्याएका आजीवन सदस्यहरु मध्येबाट उचित ब्यबस्थापन गर्न सक्ने र र उल्लेखित लक्ष प्राप्तगर्न सक्ने नेतृत्व छनोट गर्न पाइयोस्।

त्यसै गरेर निर्वाचित नयाँ कार्यसमितिले अनेसासमा हामी सबैको सहभागिता बढाओस् र हामी सबै आजीवन सदस्य र नेपाली भाषीहरुको समान अपनत्व कायम हुने वातावारण बनाउन सकोस्। हामी सबै जनालाई शुभकामना।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *