स्रस्टा साँझ अमेरिकाद्वारा खाइराइड परिचर्चा
भ्यानकुभर, क्यानाडा। स्रस्टा साँझ अमेरिकाको आयोजनामा जेठ ६ गते २०८१ (अर्थात् मे १९, २०२४) का दिन राजेन्द्र कार्की लिखित “खाइराइड” हास्यव्यंग्य निवन्ध संग्रह माथि परिचर्चा कार्यक्रम सम्पन्न भयो। खाइराइड माथि लेफराइट गर्दै विभिन्न परिचर्चाकारले आफ्नो धारणा राखे।
हालसम्म सय भन्दा बढी पुस्तकको परिचर्चा कार्यक्रम सम्पन्न गरेको स्रस्टा साँझ अमेरिकाले पहिलो पटक हास्यव्यंग्य कृतिको परिचर्चा गरेको हो र “खाइराइड” पनि हास्य व्यंग्यकार कार्कीको पहिलो कृति हो।
साहित्यकार विश्व राज अधिकारीले संचालन गर्नु भएको कार्यक्रममा शुभकामना मन्तव्य राख्दै हास्य व्यंग्यकार गायत्री लम्सालले भनिन् – राजेन्द्र कार्कीको खाइराइड भनेर चिन्ने अवसर नपाइ खाइराइडका राजेन्द्र कार्की भनेर चिने। यस्तो अवसर कमै लेखकले पाउछन्।
खाइराइड भित्रको मिठो खुराकले नै यस्तो भएको हो। खाइराइड भित्रको चार लाईनमा यसो आँखा जुध्यो भने खाइराइड लागेकालाई समेत छोड्न मन लाग्दैन भने हामी जस्ता साहित्य प्रेमीको नकुरा गरौँ। त्यसैले कार्कीले हास्यव्यंग्यमा निरन्तर कलम चलाउनु पर्छ र हामी लेखक र पाठकलाई खाइराइड जस्तै अब्बल दर्जाका कृति दिनुपर्छ।
परिचर्चा कार्यक्रममा साहित्यकार अनिता कोइरालाले खाइराइड भित्रका सबै निबन्ध मन परेको बताइन। कुकुरको भाग्य निवन्धको परिचर्चा गर्दै उनले भनिन – मान्छेले कुकुरबाट सिक्नु पर्ने धेरै कुरा भएको र कुकुरको पनि इज्जत भएको कुरा निवन्धले बताएको छ।
पार्कमा घुम्दै गर्दा कुकुरको फोटो खिच्न नपाएको प्रसंगले मेरो मन चसक्क भयो। किनकि धनी देशका मान्छेले गरीव देशका मान्छेको फोटो खिच्न र भिडियो बनाउन पाउने कुराको लेखकको भोगाइको प्रसंगले हाँसो भित्र आँसु पाए।
हाँसो भित्र आँसुका प्रसंग खाइराइडमा जता ततै भेटिन्छन्। “उत्तर अमेरिकाका कुकुर देखेका मान्छेले “कुकुर” भनेर कसैलाई गाली गर्न सक्दैनन् र गर्दैन । बरु कुकुरको सट्टा “मान्छे” भनेर गाली गर्न बेर लाउँदैनन्” जस्ता वाक्य बेजोड रहेको बताइन्।
लेखक कार्की बस्ने शहरकी साहित्यकार मीनु राजभण्डारीले लेखकसंग खासै आउजाउ र गहिरो परिचय नभएको बताउदै खाइराइड पढेपछि यस्तो मित्रता भयो कि त्यो वयान गरिसाध्य छैन। अहिले सम्म उनले जिन्दगीमा खाइराइड जस्तो बेजोड र मन परेको पुस्तक नपढेको बताईन्। खाइराइड, कामी, कहाँ छ स्वतन्त्रता? त्यो नेपाली होइन, देश डुब्यो, लाहुरे, मृत्यु बिज्ञापन खुबै मन परेको बताइन।
क्यालिफोर्निया निवासी हास्य व्यंग्य साहित्यकार प्रमोद आमात्यले हास्यव्यंग्यको लामो इतिहास भएको बताउदै चौतारीमा बसेर छेडखान गर्ने, हास्ने, हसाउने चलन परापूर्वकालदेखि चलिआएको बताए। कार्तिक नांच, गाइजात्र आदिको माध्यमबाट शासक लाई व्यंग्य गर्ने गरिन्थ्यो।
तर हसाउने मान्छेलाई जोक्करको रुपमा लिने भएर होला, यसलाई खासै महत्व दिएको देखिंदैन। हास्यव्यंग्य साहित्यको महत्व त्यसले पाउने पुरस्कार र पाठ्य पुस्तकमा कति समावेश छ भन्ने कुराले देखाउछ। तर अहिले सम्मको रेकर्ड र इतिहास हेर्दा हास्यव्यंग्य उपेक्षामा परेको देखिन्छ भन्दै उनले थप्दै भने – खाइराइड बेजोड लाग्यो। कतै अस्लील गाली गलौज छैन। मलाई मन पर्ने हास्य व्यंग्यकार भैरव अर्याल, राम कुमार पाण्डे र लक्ष्मण गाम्नागे थिए, अव राजेन्द्र कार्की पनि थपिए।
साहित्यकार तथा अन्तराष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) का बरिस्ठ उपाध्यक्ष सर्वज्ञ वाग्ले हास्य व्यंग्य कृतिले समाजको इतिहास देखाउंछ भन्दै खाइराइड भित्र जनवारलाई गाली किन? मा प्रयोग भएको विम्ब बेजोड भएको बताए।
युवा विदेश पलाइएनका कुरादेखि भेडोको मासु खानु छ, फेरि भेडो भन्दै त्यही भेडो लाई गाली गर्ने मान्छेको भेडो प्रवृति माथि बढो मिठो तरिकाले व्यग्य कसिएको छ र ३१ वटा निवन्धमा धेरै बिषय समाज र व्यक्तिका प्रवृतिसंग सम्बन्धित छन्।
राजनीति र अदालतका बिषयमा लेखिए पनि कही कतै कसैलाई गाली नगरी व्यंग्य त्यो पनि हास्य सहित लेख्नु कार्कीको सफलता हो भने। साथै कृति मौलिक हुनुका साथै छुटै स्वाद र शैलीको छ भन्दै उनले परिचर्चा गरे।
क्यानाडाका साहित्यकार तथा हिउँको रापका लेखक डा कुसुमाकर शर्माले खाइराइडमा पुरानो पुस्ता देखि जेड जेनेरशन सम्मका बिषय बस्तु समेटिएका छन्। भोजपुरको एउटा गाउँलेबाट बिषय बस्तु एकै पटक इलोन मस्कमा पुग्छन्।
त्यही भएर केही निवन्ध अमेरिकामा बस्नेलाई स्वाद लाग्छ भने नेपालको कुनै गाउँमा बस्ने पाठकलाई स्वाद नलाग्न सक्छ, जस्तै कुकुरको भाग्य। लेखनको यो पक्ष नै सबै भन्दा राम्रो र अद्वतीय पक्ष लागेको बताउदै समाजका भत्काउनु पर्ने जेलिएका पुराना संरचनालाई खाइराइडले भत्काएको छ भन्दै एउटा थिममा दुइवटा निवन्ध लेखिएका छन्, तर ती फरक ढंगले फुल बुट्टा भएका छन्। तर सुक्ष्म अध्यन गर्ने पाठक बाहेक अरुले थाहा पाउन मुस्किल पर्छ। त्यो लेखकको बिशेष क्षमता भएको बताए।
सिस्नो पानी नेपालका अध्यक्ष तथा हास्य व्यंग्यकार लक्ष्मण गाम्नागेले खाइराइड माथि लेफराइट गर्दै कार्कीको विचार शैली गजव भएको बताए । ठेट पुर्बेली गाउँले र सरल भाषामा लेखिएकोले बोधगम्य छ भन्दै उनले भने – खाइराइडमा काल्पनिकता छैन, कल्पनाशीलता छ।
त्यसैले पुस्तकको नाम नै “खाइराइड” हुन पुगेको हो। पहिलो पुस्तकको रुपमा यति धेरै चर्चा बटुल्नु आफैमा सफलता हो। निवन्ध निकै राम्रा र गम्भीर छन्। हास्यव्यंग्य भित्रका रचनामा ज्ञान, बिज्ञान, धर्मशास्त्र, इतिहास, राष्ट्रिय अन्तराष्ट्रिय राजनीतिका अनेक प्रसंग छन्।
फेरि निवन्ध भित्र आख्यान, नियात्रा, संस्मरण आदिका स्वाद भेटिन्छन् । साहित्यपोस्ट उत्तम गैरआख्यान पुरस्कार २०८० को पहिलो पाँचको सूची समावेश भएको यो पुस्तकले पुरस्कार चुमोस भन्दै कामना गरे।
हास्य व्यंग्य पत्रिका फित्कौलीका प्रधान सम्पादक तथा हास्य व्यंग्यकार नरनाथ लुइँटेलले “हो लाई होइन र होइन लाई हो” भनेर लेख्ने शैली र ढांचा नै हास्य व्यंग्य हो भन्दै खाइराइडका दशौँ समीक्षा आइसके, तर खाइराइडमा भित्र रहेका हास्य व्यंग्यका उत्तर आधुनिक पक्ष उझेलमा परेको बताए।
हास्य व्यंग्यको उत्तर आधुनिक पक्ष उजागर भएको पहिले कृति खाइराइड हो भन्दा फरक नपर्ला। उत्तर आधुनिक युगका मनुवाको मनोविज्ञानमा लेखिएको यस कृतिले वर्तमानका सामाजिक विकृति माथि हसाउदै झापड हानेको छ।
नेपाली हास्य व्यंग्यका नाममा राजनैतिक व्यंग्य, त्यो पनि गाली गलौजको तहमा झरिरहेको बेला खाइराइड साँच्चै गतिलो कृति निस्किएको छ, त्यही भएर नै यसले राष्ट्रिय र अन्तराष्ट्रिय रुपमा चर्चा बटुलेको छ। अझ स्रस्टा साँझ अमेरिकाले पहिलो पटक यसरी हास्य व्यंग्य कृति माथि परिचर्चा गर्नु भनेको हास्य व्यंग्य लेखनको पुनर्जागरण शुरु भएको हो भन्दा फरक नपर्ला।
साहित्यकार तथा समालोचक खेमराज पोखरेलले धेरै हास्य व्यंग्य पढेकोले कक्षामा पढ्दा गुरुले पदाउदा जसरी सुनिन्थ्यो, त्यसरी नै यो कार्यक्रम सुनेको भान भयो भन्दै उनले भने – हास्य व्यंग्यमा शव्द संचालन क्षमता चाहिन्छ, त्यो राजेन्द्रजीमा देखियो।
निवन्धमा एउटा बिषयलाई आधार बनाउनु पर्छ। बिषय छिरोलिनु हुँदैन। अपवादमा बाहेक खाइराइडका निवन्धमा बिषय छिरोलिएको छैन, त्यो सबै भन्दा राम्रो पक्ष देखियो। हास्य व्यंग्य लेख्न सजिलो हुँदैन, चुनौती हुन्छ।
त्यसमा हास्य हुन पर्छ र व्यंग्य हुन पर्छ । साथै तथ्य परक पनि हुन पर्छ। निवन्ध अलि छोटा भएपनि धेरै अनुसन्धान गरेर लेखिएको छ भन्दै उनले भने – “सारमा भन्दा खाइराइडका धेरै राम्रो छ, बेजोड छ , धेरै वर्ष पछि हास्य व्यंग्य पढ्न पाए।”
खाइराइडका लेखक कार्कीले लेखनको स्रोत, सामग्री र बिषय मान्छे संगको भेट घाट र अन्तरंग वार्तालाप भएको बताए। उनले हरेक बर्ष संसारबाट क्यानाडा आएका एक हजार जना भन्दा बढी मान्छे भेट्ने गरेको कामको सिलसिलामा भेट्न गरेको बताउदै स्रस्टा साँझा अमेरिकाले कार्यक्रममा साहित्य र हास्य व्यंग्यका महारथीलाई उपस्थित गराएर व्यवस्थित ढंगले संचालित भएको र त्यसले आफुलाई थप उर्जा मिलेको बताए।
कार्यक्रममा उपस्थित परिचर्चाकार, कृतिकार र फेस बुकको प्रत्यक्ष प्रसारण हेरिरहनु भएका सम्पूर्णलाई स्रस्टा साँझ अमेरिकाको तर्फबाट कार्यक्रम संचालाक तथा साहित्यकार विश्व राज अधिकारीले धन्यवाद दिदैं श्रीमद भागवत गीताको श्वलोक वाचन गर्दै कार्यक्रम टुंग्याए –
यस्य सर्वे समारम्भाः कामसङ्कल्पवर्जिताः। ज्ञानाग्निदग्धकर्माणं तमाहुः पण्डितं बुधाः
Facebook Comment