इरानका राष्ट्रपति इब्राहिम रायसी र विदेशमन्त्रीको हेलिकप्टर दुर्घटनामा मृत्यु भएको पुष्टी

डिसी नेपाल
७ जेठ २०८१ १०:५५

काठमाडौं। इरानको सरकारी टेलिभिजनले देशका राष्ट्रपति इब्राहिम रायसीको हेलिकोप्टर दुर्घटनामा मृत्यु भएको पुष्टी गरेको छ। राष्ट्रपति राईसीको हेलिकप्टर आइतबार दुर्घटनाग्रस्त भएपनि सोमबार भग्नावशेष भेटिएपछि उनको मृत्यु भएको पुष्टि भएको हो।

उक्त दुर्घटनामा इरानका विदेशमन्त्री हुसेन अमिर अब्दुल्लाहियान र हेलिकप्टरमा सवार अन्य व्यक्तिको पनि मृत्यु भएको छ। समाचार एजेन्सी एपीका अनुसार हेलिकप्टरमा अंगरक्षक, पाइलट, को-पाइलट, सुरक्षा प्रमुख जस्ता अधिकारीहरू पनि सवार थिए।

सोमबार बिहान हेलिकप्टर दुर्घटनास्थलमा उद्धारकर्मी पुगेपछि यो जानकारी आएको हो । यसअघि इरानको सरकारी सञ्चारमाध्यमले दुर्घटनामा परेको हेलिकप्टरबाट कोही जीवितै बचेको कुनै संकेत नदेखिएको बताएको थियो ।

समाचार एजेन्सी रोयटर्सका अनुसार एक इरानी अधिकारीले दुर्घटनामा हेलिकप्टर पूर्ण रुपमा जलेको बताएका छन्।

हेलिकप्टर दुर्घटना भएको ठाउँमा मौसम निकै खराब थियो । जसका कारण उद्धारकर्मीलाई घटनास्थलमा पुग्न निकै संघर्ष गर्नुपरेको थियो।

क्विज कालासी र खोडाफरिन बाँधको उद्घाटन गर्न राष्ट्रपति रायसी आइतबार अजरबैजान गएका थिए।

उद्घाटनपछि राईसी तबरेज सहरतर्फ लागेका थिए। तबरेज इरानको पूर्वी अजरबैजान प्रान्तको राजधानी हो। यही क्रममा हेलिकप्टर बाटोमा दुर्घटनामा परेको थियो।

हेलिकप्टर दुर्घटना भएको क्षेत्र तबरेज सहरबाट ५० किलोमिटर टाढा भार्जेकन सहर नजिकै रहेको छ।

धेरैले इब्राहिम रायसीको हेलिकप्टर दुर्घटनाको पछाडि षड्यन्त्र भएको कुरा गर्न थालेका छन्।

तर अमेरिकी सिनेटर चक शुमरले अमेरिकी गुप्तचर एजेन्सीका अधिकारीहरूसँगको कुराकानीले अहिलेसम्म कुनै षड्यन्त्र भएको भन्ने प्रमाण नरहेको बताएका छन्।

शुमरले अवस्थाको अनुगमन गरिरहेको बताए।

पत्रकार सम्मेलनमा उनले भने- उत्तर पश्चिमी इरानमा जहाँ यो हेलिकप्टर दुर्घटना भयो त्यहाँ मौसम निकै खराब थियो । यस्तो अवस्थामा यो दुर्घटना जस्तो देखिन्छ तर यसको पूर्ण अनुसन्धान हुन बाँकी छ।

केही इरानीहरूले सामाजिक सञ्जालमा काफिलाका दुई हेलिकप्टर सकुशल पुग्ने र राईसीको हेलिकप्टर दुर्घटना कसरी भयो भन्ने प्रश्न उठाइरहेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *