कोठाभाडा तिर्न नसक्दा…
काठमाडौं। काठमाडौंको कागेश्वरी मनहरा नगरपालिका–५ थलीमा मृतावस्थामा भटिएका ५४ वर्षीय कृष्ण नगरकोटीले कोठाभाडा तिर्न पनि नसक्ने परिवारको आर्थिक अवस्थाका कारण आफू र छोराको ज्यान लिने गरी अप्रिय कदम चालेको प्रहरीको अनुसन्धानबाट खुलेको छ।
प्रहरीका अनुसार छालिङ–७ भक्तपुरका नगरकोटी ट्याक्सी चलाउँथे। ट्याक्सी चलाउँदा पनि सोचेजस्तो आम्दानी नहुँदा परिवारको खर्च धान्नै मुस्किल थियो। जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एवं प्रहरी उपरीक्षक नवराज अधिकारीले प्रारम्भिक अनुसन्धानमा सोही कारणले उनले आत्महत्या गरेको खुलेको जानकारी दिए।
कालो कपडाले मुख छोपिएको र घाँटी काटिएको अवस्थामा उनको शव आज विहान फेला परेको प्रहरीको भनाइ छ। स्थानीयले शव देखेपछि प्रहरीलाई खबर गरेका थिए। त्यसपछि जिल्ला प्रहरी परिसर काठमाडौं तथा प्रहरी वृत्त बौद्धबाट प्रहरी टोली घटनास्थलमा खटिएको थियो। कृष्णको शव भेटिएपछि छोरा रिचेन घाइते अवस्थामा भेटिएका थिए। दुवै जना मुखका कालो कपडाले छोपिएको र घाँटी काटिएको अवस्थामा भेटिएको प्रहरीको भनाइ छ।
प्रवक्ता अधिकारीले भने, ‘घाइते अवस्थामा आज भेटिएका रिचेनलाई प्रहरीले हिजो पनि चोभार चाल्नाखेलमा आत्महत्याको प्रयास गर्दैगर्दाको अवस्थामा उद्धार गरेको खुल्न आएको छ।’
प्रहरीका अनुसार कृष्ण विगत १५ वर्षदेखि टयाक्सी चलाउदै आएका थिए। श्रीमतीले छाडेपछि उनी छोरा रिचेन र छोरी रश्मीसँग काठमाडौंको रविभवन, गणेशथानमा भाडाको कोठामा बस्दै आएका थिए। पछिल्लो तीन महिनायता कोठाभाडा तिर्न नसक्दा तीनै जना ट्याक्सीमा रात कटाउँदै आएको प्रहरीको भनाइ छ। रिचेन र रश्मीको मानसिक अवस्था सामान्य नदेखिएको खुल्न आएको प्रहरीले जनाएको छ।
कृष्णले सोमबार सेतोपुल नजिक ट्याक्सी बिग्रिएको भन्दै छोरीलाई त्यही छाडेर छोरासँगै हिँडेका थिए। प्रहरीले आज विहान सेतोपुल नजिकै रश्मीलाई ट्याक्सीभित्र बसिरहेको अवस्थामा फेला पारी उद्धार गरेको थियो। रश्मीलाई हाल जिल्ला प्रहरी परिसर काठमाडौंमा राखिएको प्रवक्ता अधिकारीले बताए। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
Facebook Comment