भारतको राजकोटस्थित गेम जोनमा भीषण आगलागी, १२ बालबालिकासहित २७ जनाको मृत्यु

डिसी नेपाल
१३ जेठ २०८१ १२:२३

काठमाडौँ । भारतको राजकोटस्थित टीआरपी गेम जोनमा शनिबार भएको भीषण आगलागीमा कम्तीमा २७ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा १२ बालबालिका पनि रहेको प्रहरीले बताएको छ ।

सहरको मावरोडस्थित टीआरपी गेम जोनमा शनिबार आगो लागेको थियो । आगो यति भीषण थियो कि पाँच किलोमिटर टाढाबाट धुवाँको मुस्लो देखिएको थियो । गेम जोनबाट बाहिर निस्कने बाटो थिएन र धेरै मानिस भित्र फसेको भारतीय मिडियाहरुले बताएका छन् ।

मलको गेम जोनमा वेल्डिङको काम भइरहेकाले स्थानीयले सर्ट सर्किट भएको जानकारी दिएको पनि बताइएको छ । यद्यपी आगलागीको कारण भने आधिकारिक रुपमा खुल्न सकेको छैन ।

प्रहरीले शनिबार अपराह्न ४: ३० बजे प्रहरीको नियन्त्रण कक्षमा आगलागीको पहिलो कल आएको र तत्काल दमकल घटनास्थल पुगेर आगो निभाएको बताएको छ ।

गुजरात सरकारले घटनाको छानबिन गर्न एसआईटी गठनको घोषणा गरेको छ । पाँच सदस्यीय एसआईटीको अध्यक्षको जिम्मेवारी सिआइडी क्राइमका प्रहरी महानिर्देशक सुभाष त्रिवेदीलाई दिइएको छ ।

एसआईटीका अन्य चार सदस्यमा बञ्चनिधि पानी, एच.पी. संघवी, जे.एन. खाडिया र एमबि देसाई रहेका छन् ।

एसआईटीले ७२ घण्टाभित्र आफ्नो प्रारम्भिक प्रतिवेदन सरकारलाई बुझाउनेछ। साथै १० दिनभित्र विस्तृत प्रतिवेदन सरकारलाई बुझाउने छ ।

प्रधानमन्त्री नरेन्द्र मोदीले सामाजिक सञ्जालमार्फत राजकोटमा भएको दुर्घटनाप्रति दुःख व्यक्त गर्दै राज्यका मुख्यमन्त्री भूपेन्द्र पटेलसँग कुरा गरेको बताए ।

राज्य सरकारले मृतकका परिवारलाई चार लाख र घाइतेलाई ५० हजार रुपैयाँ दिने घोषणा गरेको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *