जनताको जीवनस्तर परिवर्तन नभए राजनीतिक परिवर्तन संस्थागत हुँदैन : मन्त्री श्रेष्ठ

डिसी नेपाल
१५ जेठ २०८१ १३:३४

हेटौँडा। बागमती प्रदेश सरकारका प्रवक्ता, आन्तरिक मामिला तथा कानुनमन्त्री गंगा नारायण श्रेष्ठले जनताको जीवनस्तरमा परिवर्तन नभएमा राजनीतिक परिवर्तन संस्थागत हुन नसक्ने बताएका छन्।

मंगलबार बागमती प्रदेश सरकारले १७ औँ गणतन्त्र दिवसको अवसरमा आयोजना गरेको कार्यक्रममा बोल्दै मन्त्री श्रेष्ठले जनताको दैनिक जीवन र राष्ट्रको समृद्धिमा प्रत्यक्ष परिवर्तन नआएसम्म राजनीतिक परिवर्तन दिगो र संस्थागत हुन नसक्ने बताएका हुन्।

उनले संविधानले मौलिक हकका रूपमा जनताका आधारभूत अधिकारहरूलाई सुनिश्चित गरिसकेको उल्लेख गर्दै तिनको प्रभावकारी कार्यान्वयन गर्नुपर्नेमा जोड दिए। उनले संविधानले परिकल्पना गरेको समाजवाद उन्मुख अर्थतन्त्र विकास गर्नका लागि सबै एकजुट भएर अघि बढ्नुको विकल्प नभएको बताए।

मन्त्री श्रेष्ठले संघीय लोकतान्त्रिक गणतन्त्रलाई थप संस्थागत र सुदृढ गर्न संविधानको सफल कार्यान्वयन गर्नु आवश्यक रहेको बताए। उनले प्रणालीगत र संरचनागत सुधार गर्दै आवश्यक ऐन, कानुनको निर्माण, निर्माण गरिएका ऐन, कानुनको प्रभावकारी कार्यान्वयन र पुराना ऐन, कानुनको समयानुकुल परिमार्जन गर्नुपर्ने बताए। उनले संविधानमा व्यवस्था भए अनुसार संघीय सरकारले प्रदेश सरकारलाई अधिकारहरू यथाशीघ्र हस्तान्तरण गर्नुपर्ने बताए।

मन्त्री श्रेष्ठले राजनीतिक परिवर्तनको जगमा टेकेर तीव्र आर्थिक, सामाजिक, सांस्कृतिक रुपान्तरणसहितको विकास र समृद्धिको बाटोमा लाग्नुपर्ने बताए। उनले सुशासन कायम गर्नुपर्नेमा पनि जोड दिए।

गणतन्त्र दिवस २०८१ को उपलक्ष्यमा बागमती प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयले मकवानपुरका ६५ जना सहिद परिवारलाई सम्मान गरेको छ। आगामी दिनमा प्रदेशभरिका सम्पूर्ण सहिद परिवारलाई सम्मान गरिने मन्त्री श्रेष्ठले जानकारी दिनुभयो । त्यसैगरी मन्त्रालयले विभिन्न विधामा पत्रकारिता पुरस्कार पनि वितरण गरेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *