पिपलबोट जङ्सनमा आराम गर्दाको आनन्द
विसं २०२८ साल मंसिरपछिको कुरा हो, नयाँसडकको पिपलबोटमा दिनको एकपटक पुग्नैपर्ने दिनचर्या नै बनेको थियो। यो क्रम २०४३ सालसम्म रह्यो। त्यसपछि भने नियमित जाने दिनचर्या घटे पनि यदाकदा पुगिँदै छ।
विसं २०८१ वैशाखमा पिपलबोटमा पुग्दा मानसपटलमा पूर्वस्मृतिको लामो शृंखला तयार भयो। यही स्मृतिविम्बको अभिव्यक्ति हो, यो टिपोट। विसं २०७९ असोजमै प्रकाशित प्रकाश गुरागाईंको कृति जङ्सन पिपलबोट : नयाँसडकको कथा मैले २०८० साल फागुनतिर पढिसकेर थन्क्याएको थिएँ तर २०८१ वैशाखमा जङ्सन पिपलबोट पुगेपछि यस पुस्तकका बारेमा लेख्ने हुटहुटी जाग्यो, भनूँ लेखनमा ऊर्जा पाइयो। अतः यस कृतिले नेपालको इतिहासलाई लगाएको गुनका विषयमा यहाँ चर्चा गर्न लागिएको हो।
साहित्यिक कृति पनि इतिहासका महत्त्वपूर्ण स्रोत हुन्। विश्वकै इतिहासलेखन विधामा साहित्यिक रचनाहरूले प्रवाह गरेका सूचनालाई विशेष सम्मान दिइएको पाइन्छ। नेपालका सन्दर्भमा पनि साहित्यिक ग्रन्थहरू तत्कालीन इतिहासका लागि उल्लेख्य स्रोत हुन्।
कतिपय अवस्थामा यस्तै साहित्यिक कृतिलाई नै इतिहास मान्ने गरिएको देखिन्छ। इतिहास र इतिहासका स्रोतलाई एउटै जुवामा नारेर जोत्न भने मिल्दैन। साहित्यिक कृति इतिहासका स्रोत त हुँदै हुन् तर तिनले प्रवाह गरेका सूचनालाई यथास्थितिमा ग्रहण नगरी सम्परीक्षण गर्न बान्छनीय हुन्छ।
नेपालको ऐतिहासिक विषयवस्तुमा लेखिएका नेपालेश्वर, बासन्ती, सेतो बाघ जस्ता उपन्यास प्रकाशित छन् भने पृथ्वीवर्णनोदय, भक्तविजय काव्य, त्रिरत्न सौन्दर्य गाथा जस्ता काव्य पनि प्रकाशित छन्।
त्यस्तै त्यस बखतको नेपाल, मेरो कविताको आराधना, रिडी राँची रुँदै हाँस्दै, भएका कुरा, पुराना सम्झना जस्ता संस्मरण पनि प्रकाशित छन्। विगत दुई दशकदेखि नेपालमा आत्मवृत्तान्त प्रकाशनका क्षेत्रमा उत्साहजनक प्रगति भएको देखिन्छ।
यी सबै इतिहासका लागि असल खुराक हुन्। यसै ऐतिहासिक पृष्ठभूमिमा एकजना साहित्यमा अभिरुचि राख्ने पत्रकार प्रकाश गुरागाईंबाट हामीले पाएको उपहार हो, जङ्सन पिपलबोट : नयाँसडकको कथा।
नयाँसडकको पिपलबोट काठमाडौँको मात्र होइन, कयौँ दशकसम्म नेपालको बौद्धिक एवं राजनीतिकको केन्द्रबिन्दु रह्यो। यसका विषयमा धेरै साहित्यिक, राजनीतिक एवं ऐतिहासिक कृतिहरू आएका छन्।
तर, नयाँसडकको पिपलबोटको ऐतिहासिक, धार्मिक, राजनीतिक तथा साहित्य-सांस्कृतिक पक्षमा लेखिएको अनुसन्धानमूलक कृति भने यो नै पहिलो हो भन्ने मलाई लाग्छ।
कुल ३०४ पृष्ठमा सजिएको यो पुस्तक १६ शीर्षकमा विभक्त छ, जसमा ५२ जनासँगको अन्तर्वार्ता समावेश गरिएको छ। पूर्वप्रकाशित ग्रन्थ र लेखक स्वयंको अवलोकनका आधारमा प्रामाणिक ढङ्गले लेख्न खोजिएको गद्यकृति हो, जङ्सन पिपलबोट :नयाँसडकको कथा। यो विशुद्ध साहित्यिक कृति होइन बरु इतिहाससँग सम्बन्धित ग्रन्थ भने अवश्य हो।
विसं १९९० सालको भूकम्पले नेपालमा जनधनको निकै ठूलो क्षति पुर्यायो, काठमाडौँ उपत्यकालाई त ध्वस्त नै बनायो। काठमाडौँको घना बस्ती भएको मुख्य बस्ती हनुमानढोका क्षेत्रमा पुनर्निर्माण गर्दा नयाँसडकको पनि निर्माण हुन गयो, जुद्धशमशेर श्री ३ महाराज हुँदा।
सदर टुँडिखेलदेखि हनुमान ढोकाको सेरोफेरोमा यो सडक बनेको थियो। यस सडकलाई शासकले जुद्ध सडकका नामले चिनाउन खोज्दा खोज्दै पनि लोकले नयाँसडकका रूपमा चिन्यो। आज ९० वर्ष भइसक्दा पनि नयाँसडक नयाँको नयाँ छ।
प्रारम्भदेखि नै नेपालका सबै चर्चित सन्दर्भको साक्षी बनेको यो नयाँसडक सधैँ नयाँ नै रहनेछ, नुच्छे जस्तै। र, यस क्षेत्रमा भएका अनेकौँ आरोह अवरोहको साक्षी बनेको छ सडककै मध्यभागमा रहेको पिपलबोट।
विसं १९९४ साल असोज २ गते हालको धर्मपथ, शुक्रपथ र नयाँसडकको मिलनबिन्दुमा जुद्धशमशेरको सालिक राखियो। उक्त सालिक आजसम्म जनआक्रोशको सिकार बन्नबाट जोगिएको छ।
वर-पिपल रोपी हुर्काई विवाह गरी चौतारी चिन्ने नेपाली समाजको एक विशिष्ट संस्कृति हो। यसै आस्थाको कारण नयाँसडकको पिपलबोट हुर्किएको हो। वर पनि सँगै हुनुपर्ने हो तर सोको निशाना समेत छैन।
यस पिपलबोटका विषयमा कुनै ठोस प्रमाण त भेटिँदैन तर ९० सालपछिका सबै जसो घटनाको अमुक साक्षी तथा केन्द्र भने यही पिपलबोट बनेको छ र रहिरहनेछ तिहारमा देउसेभैलीले दिएको आशिष जस्तै।
लेखकले पिपलबोटलाई साक्षी राखेर नेपाली इतिहासका विविध पक्षका महत्त्वपूर्ण तथ्य र कथ्य उजागर गरेका छन्। अतः विसं १९९० सालको भूकम्पबाट सुरु भएको इतिहास वर्तमान सन्दर्भसम्म अविरल बगेको छ इन्द्रावती जस्तै।
विसं १९९० को भूकम्पबाट काठमाडौँको मुटु हनुमानढोका दरबार आसपासको क्षेत्र आक्रान्त बन्न पुग्यो। यही दैवी प्रकोपका कारण नयाँसडकको निर्माण भयो, नयाँ संस्कृति पनि प्रारम्भ भयो। पुस्तकमा भूकम्पको पुनर्निर्माण गर्न तदारुकता देखाउने जुद्धशमशेरलाई स्त्रीलम्पटका रूपमा चित्रण गरिएको छ।
उनको स्त्रीलम्पटता पुष्टि गर्न नयाँसडक घुम्दा देखिएका सुन्दर कन्यालाई जबरजस्ती दरबार लैजाने गरेको दृष्टान्त उल्लेख गरिएको छ। स्त्रीलम्पटतामा जंगबहादुरलाई पनि जुद्धशमशेरले माथ गरेको चर्चा राणा परिवारमा पनि हुने गरेको थियो।
तर, यहाँ उनलाई स्त्रीका मामलामा बढी नै कठोर देखाइएको। यो तथ्यमा जुन स्रोत प्रयोग गरिएको हो, सो नै जुद्धशमशेरप्रति पूर्वाग्रही हुन सक्ने अनुमान गर्न सकिन्छ। विसं १९९७ सालको जुद्धशमशेरको कार्यबाट पनि धेरै राणा चिढिएका थिए।
पुनर्निर्माणमा जुद्धशमशेर कुनै विदेशी मुलुक वा विदेशी संघसंस्थाबाट कुनै सहयोग लिएका थिएनन्। सहयोगको कुरा आउँदा आफ्नै मुलुक सक्षम भएको जनाएका थिए। भूकम्पमा पीडितलाई दिएको ऋण पनि कालान्तरमा मिनाहा गरेका थिए।
भूकम्पपश्चात् पुनर्निर्माणमा उठेको रकम अपचलन गरेको प्रसङ्ग पनि त्यति विश्वास गरिहाल्न सकिँदैन। हो, आफ्ना चाकडीदारहरूलाई भने उदारतापूर्वक सहयोग गरेका थिए।
पुस्तकमा राणाकालीन पछिल्लो समयको सामाजिक अवस्थाको चित्रण गरिएको छ। त्यस बेलामा सर्वसाधारणले बग्गी चढ्न अनुमति लिनुपर्ने, राणाहरू आउँदा बाटो छाड्नुपर्ने, स्वस्ति गर्नुपर्ने, राणाखलकलाई स्वस्ति नगरे दण्डित हुनुपर्ने, बिजुली बत्ती हुनेखानेले मात्र बाल्न सक्ने र अरूले टुकीमै निर्भर हुनुपर्ने, अछुतलाई सिनेमा हलमा प्रवेश गर्नसमेत निषेध गरिएको (विसं २०११-०१-१८ मा जनसेवा खुलेपछि सबैलाई खुला भएको) जस्ता प्रसङ्ग आएका छन्।
यसैगरी त्यसबेला राणाका परिवारमा हलुवा, स्वारी, मालपुवा तथा मकै-भटमासको बढी चलन भएको उल्लेख छ।
चिया र रक्सीसँग साहित्यकार तथा पत्रकार जस्ता सरस्वतीभक्तहरूको प्रेमप्रसङ्ग रोचक छ। नेपालमा चिया खाने चलन दोस्रो विश्वयुद्धपश्चात् सुरु भएको भनिए तापनि व्यापकता भने २००७ सालपछि नै आएको हो। धेरै कालसम्म त केही ठूलाबडाको घरमा मात्र चियाको जोहो हुन्थ्यो।
नत्र पसल नै पुग्नुपर्ने स्थिति थियो। चिया पसल सम्पर्कसूत्र र भेटघाटको स्थल बनेका थिए। पुस्तकमा उल्लेख भएका मलहोत्रा र नुच्छे चिया पसल साहित्यकार, पत्रकार तथा राजनीतिको चस्का पसेकाहरूको भलाकुसारी गर्ने उपयुक्त स्थान थिए।
यसैगरी नेपाल कफी हाउस पछि बेङ्लोर कफी हाउस, इन्दिरा रेस्टुरा पनि चर्चित ठाउँ थिए। यी विभिन्न ठाउँमा गफिने सम्बन्धितहरूको हैसियतको चर्चा पुस्तकमा परेको छ। केही हुनेखाने इन्दिरा र पारस रेस्टुरामा जाने नहुने मलहोत्रा चिया पसल रम्ने साहित्यकार र पत्रकारहरूको सूची नै छ, पुस्तकमा। नाम उल्लेख नगरौँ, पाठकले आफै पत्ता लगाउने कुरा हो।
साहित्यकार पत्रकार संगीतज्ञहरूको मदिराप्रेमका प्रसङ्गले पुस्तकमा सर्वाधिक प्राथमिकता पाएको देखिन्छ। रुद्रजललाई प्रेम गर्नेहरूको चर्तिकला र अनपेक्षित कार्यकलापको रोचक र घोचक वर्णन पुस्तकमा पाइन्छ।
यसरी रक्सीप्रेमीहरूमा आफू कम खाने र अरूलाई खुवाएर आनन्द लिने तथा मोफतलाल भेटे मात्र खाने र यदाकदा खानेहरूको चर्चा छ। रक्सी खाने मात्र होइन रक्सीले खाएका मेधावी विलक्षण प्रतिभाशालीको नालीबेली पनि छरपस्ट पारिएको छ, पुस्तकमा।
रक्सी नै नखाने साहित्यकार तथा पत्रकारको चर्चा गर्न भने लेखकले कन्जुस्याइँ गरेको देखिन्छ। आफ्ना कविता सुनाउन रक्सी खुवाउनेहरुको पनि सविस्तार वर्णन छ।
बेलुका सुरापानसहित गफिने नयाँसडकका वरिपरिमा इन्दिरा, पारस, आकाश भैरव तथा आरसी रेस्टुरा र त्यहाँ पाइने परिकारहरुको पनि उल्लेख छ। नयाँसडक विद्यार्थी, कर्मचारी तथा बाहिरबाट आउने जो कोहीका लागि पनि आकर्षणको केन्द्र थियो।
बाहिरबाट आउनेहरूका लागि गच्छे अनुसारका होटल लज पनि नयाँसडकमा नै खुलेका थिए। यी सबैको लागि खाना खुवाउने भोजनालय पनि नयाँसडकमा नै थिए। खानाको रकम उठाउने संयन्त्रको पनि चर्चा छ। विद्यार्थीहरूको डेरा पनि नयाँसडक छेउछाउकै बस्तीमा हुने गर्दथ्यो। लेखकले डेरामा बस्नेहरूको पीडा भने किन उल्लेख गरेनन् ? कौतुहलको विषय बनेको छ।
नेपालकै ख्यातिप्राप्त चिकित्सकका निजी क्लिनिक पनि नयाँसडक क्षेत्रमै थिए। नयाँसडकको गेटदेखि जुद्धशमशेरको सालिकसम्म डा पुरुषोत्तम राजभण्डारी, नेत्र विशेषज्ञ डा रामप्रसाद पोख्रेल, प्रसूति विशेषज्ञ सरस्वती पाध्ये, प्रमिला शर्मा, डा ध्रुर्व मुडबरी, डा सुदीप भट्टाचार्य, डा पुष्कर सत्याल, डा भीष्मराज प्रसाई, डा सत्यकुमार पहाडी लगायतका क्लिनिक थिए। संक्षेपमा भन्ने हो भने नेपालका नाम चलेका डाक्टरहरूको क्लिनिक नयाँसडकमा नै थियो।
लेखकले नयाँसडकमा मनाइने इन्द्रजात्रा, गाईजात्रा जस्ता जात्राको वर्णन गरेका छन् तर सोही स्थानमा मनाइने घोडेजात्रा, सेतो मछिन्द्रनाथको जात्रा तथा त्यस स्थानमा भएका मठमन्दिरहरूका बारेमा केही उल्लेख गरेको भए सुनमा सुगन्ध हुने थियो।
फर्सी फल्ने ठाउँ भएर फसिखे भएको, भिरालो ठाउँमा पोखरीको डिल भएकाले पाको पुखुल्याङ (पाको पोकल्याङ),मुखधुने पोखरी भएर खिचापोखरी नामकरण भएको चर्चा गरेका छन्। वास्तवमा त्यस ठाउँका नामहरूको नामकरण नेवारी भाषासँग सम्बन्धित छन्। कुकुरले पानी खाने पोखरी भएको हुनाले खिचापोखरी भएको भनाइ पनि रहेको छ।
राणाकालमा चलन चलनका सवारी साधनहरू थिए। मोटरकार बिरलैका थिए भने साइकल पनि धेरै कम मात्रामा हुन्थ्यो। मोटरसाइकलको त कुरै भएन, एकादुई मात्र।
विसं २००७ सालपछि यी सवारी साधनको संख्या वृद्धि हुँदै गए तापनि २०२० को दशकसम्म गाडी मोटरसाइकल हेरेर नै कसको हो भनेर छुट्याउन सकिन्थ्यो। मोटरसाइकल लिएर पिपलबोट आउने साहित्यकारहरूको फुर्ती चर्को हुने गर्दथ्यो। हुने र नहुने पत्रकारका बीचमा पनि परोक्ष द्वन्द्व थियो।
विदेश राजधानी मोफसलको खबर बुझ्ने सुन्ने सुनाउने गफाडी थलो पनि पिपलबोट नै थियो। गोरखापत्र त्यहीँबाट प्रकाशित हुने र भूगोलपार्कमा टाँसिन्थ्यो। म जस्ता सर्वसाधारण उभिएरै त्यहाँ गोरखापत्र पढ्थ्यौँ।
अन्य दैनिक, साप्ताहिक, पाक्षिक तथा मासिक पत्रपत्रिका पनि पिपलबोट चौतारीमा बिक्रीमा हुन्थे तर किनेर पढ्नेको सङ्ख्या न्यून नै थियो। विसं २००७ सालपश्चात् नेपालमा पत्रपत्रिका प्रकाशन गर्ने कार्यमा तीव्रता आयो।
नयाँ समाज, समाचार दैनिक, द कमान्डर, समीक्षा, मदरल्यान्ड, नयाँ सन्देश, जागरण, आवाज, रूपरेखा, हालखबर तथा कल्पना जस्ता पत्रपत्रिकाहरू तत्कालीन समयमा पढ्न पाइन्थ्यो।
सरकारको वक्रदृष्टि र स्रोत जुट्न नसक्दा कयौँ पत्रिका लामो समयसम्म टिक्न नसकेको यथार्थ पनि लेखकले प्रस्तुत गरेका छन्। भारतीय पत्रपत्रिका समेत पाउने एकमात्र ठाउँ नयाँसडक नै थियो।
काठमाडौँबाहिरबाट आउने मानिसले आफ्नो ठाउँबाट ल्याएका पत्र तथा खर्च यही पिपलबोटमा नै भेटी बुझाउँथे। आफ्नो गाउँघरको खबर बुझ्ने थलो नै त्यही थियो त्यस समयमा। सेतो दरबारमा आगलागी भएपछि अग्निसमन गर्न जुद्ध बारुण यन्त्र आयो, त्यो पनि यसै नयाँसडकमा नै।
देशकै ठूलो व्यापारिक केन्द्र नुनदेखि सुनसम्म पाइने ठाउँ यही हो। त्यसैले नेपालको पहिलो बैँक नेपाल बैँक लिमिटेड पनि यसै स्थानमा खुल्यो। नयाँसडक नै बौद्धिक वर्गको केन्द्र हुँदा भारतीय, चिनियाँ, रुसी तथा अमेरिकी पुस्तकालय यतै खुले।
विसं १९९० सालदेखिको राजनीतिक केन्द्रबिन्दु नै नयाँसडक बन्यो। प्रजापरिषद्को गठन तथा दमन राणाविरोधी गतिविधि लगायत अन्य गतिविधिको साक्षी पिपलबोट नै भयो। विसं २००७ सालको राजनीतिक परिवर्तनपश्चात् त सबै घोषित अघोषित राजनीतिक क्रियाकलाप, जुलुस, भाषण, विरोध, समर्थन यसै स्थानमा भए।
नेपाली कांग्रेस तथा कम्युनिस्ट पार्टीको कार्यालय र नेताको भेटघाट गर्ने थलो पनि नयाँसडक नै बन्न पुग्यो। पञ्चायतलाई उठाउने पछार्ने कार्यमा पनि पिपलबोट मुकदर्शक बन्यो।
विसं २०४६ को आन्दोलनलाई उचाइ दिने काम पनि पिपलबोटले नै ग¥यो। त्यसपछिका राजनीतिक गतिविधिको केन्द्र पनि यही स्थल बन्यो। यी सबैको शल्यक्रिया गुरागाईले पुस्तकमा गरेका छन्।
विसं १९९० सालदेखि २०४६ सम्म नेपालको नेता अभिनेता साहित्यकार पत्रकार संगीतकार गायक आशावादी निराशावादी राजनीतिपीडित बेरोजगार अवसरको खोजी गर्ने जासुसहरू सबैलाई पिपलबोटले चिन्न बाध्य भयो। चिनियाँकाजी, जगतप्रकाशजंग शाह जस्ता सपुत गुमाएको पीडा सहन गर्न यो वृक्ष बाध्य भयो।
पिपलबोट बुटपालिस गर्ने स्थान बन्नुको रोचक प्रसंग उल्लेख गरिएको छ। सदानन्द शर्माले सुरुवात गरेको यो कार्यलाई निरन्तरता दिँदै बुटपालिसको राजनीति गरे भने दुर्गा पोखरेलले बुटपालिस गरी गरेको विद्रोह तथा गोल्छे सार्कीजस्ता बुटपालिस गर्दागर्दै पाएको राजनीतिक प्रतिष्ठा जस्ता विषयले पुस्तकको गरिमा बढाएका छन्।
नयाँसडक नयाँको नयाँ भए तापनि सो स्थानका पुराना घरहरू हराउँदै गएका छन् भने केही भवनको कथाव्यथा पनि पुस्तकमा छ। नयाँसडकबासी जात्रा, नाचगान, भजन र भोजमा मात्र रमाउने होइनन् फुटबल खेलको पनि उत्तिकै प्रेमी छन् भन्ने तथ्य पनि पुस्तकमा खुलेको छ। एनआरटी र संकटा जस्ता फुटबल क्लबको चर्चा पनि रोचक छ।
नयाँसडकको कथा भने पनि विसं ९० सालदेखि हिजोसम्मको सामाजिक आर्थिक क्षेत्रका महत्त्वपूर्ण घटनाहरूको चित्रण पुस्तकमा पाइन्छ। नेपालकै तत्कालीन इतिहासको खजाना पुस्तकमा पस्किएको पाइन्छ।
पुस्तकको शीर्षक जङ्सन पिपलबोट : नयाँसडकको कथा कथा विधाको पुस्तक हो कि भन्ने भान होला तर पढेपछि यो कथा होइन, नयाँसडकको गाथा हो भन्ने निष्कर्षमा पाठक पुग्छन्।
नेपालको राजनीति, कूटनीति, पत्रकारिता, साहित्य, वास्तुकला, खेलकुद, जात्रा, व्यापार जस्ता विविध क्षेत्रका व्यक्तित्वहरूको चर्चापरिचर्चा हुनु पुस्तकको प्रमुख विशेषता हो। श्रुतिपरम्परा ह्रास हुँदै गएको वर्तमान सन्दर्भमा वरिष्ठ व्यक्तिहरूको भोगाइ, देखाइ र रोजाइलाई भावी पुस्तासम्म पुर्याउने सेतुको काम गरेको छ, प्रस्तुत पुस्तकले।
नेपालको साहित्य, संगीत, राजनीति तथा व्यापारमा संलग्न थरीथरीका व्यक्तिहरूको नानाभाँतीका चरित्र चित्रण भएको छ पुस्तकमा। संक्षेपमा भन्ने हो भने नयाँसडकको कथाले तत्कालीन नेपालकै व्यथा उजागर गरेको छ।
पुस्तकमा पिपलको रुख काल्पनिक नभएर हालकै रूखको चित्र दिँदा उत्तम हुने थियो। कुनै पात्रको लामो चर्चा गर्नु र कसैको संकेत मात्र हुनु, एउटै विषय विभिन्न प्रसङ्गमा दोहोरिदा कताकता पाठक अलमलिन सक्छन् प्रकाशित कृति र अन्तर्वार्ताबाट प्राप्त सूचनालाई सम्परीक्षण गरी प्रस्तुत भएको पाठक चाहन्छन्। पुस्तकमा चर्चा गरिएका प्रत्येक विषय पृथक् पृथक् ग्रन्थ हुनसक्ने प्रबल सम्भावना देखिन्छ।
लेखकले नयाँसडकको परिचय गराए भने कृतिले लेखकलाई चिनायो। नयाँसडकको इतिहासमा महत्त्वपूर्ण प्रकाश पारेको पुस्तक पाठकलाई उपहार दिएकोमा लेखक प्रकाशलाई बधाई। लेखन कार्यले सदैव निरन्तरता पाओस्, शुभकामना !
Facebook Comment