आज ६ वटा संसदीय समितिका बैठक बस्दै
काठमाडौं । संघीय संसदका विभिन्न ६ संसदीय समितिका बैठक आज एकै पटक बोलाइएको छ । प्रतिनिधिसभा अन्तर्गतका चारवटा समिति र दुई वटा भने राष्ट्रियसभा अन्तर्गतका समितिका बैठक बस्न लागेको हो ।
राष्ट्रिय सभाको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बिहान साढे १० बजे बोलाइएको छ । बैठकमा सोह्रौँ पञ्चवर्षीय योजनाको मुख्य विषयवस्तु र अतिकम विकसित मुलुकबाट विकासशील राष्ट्रमा स्तरोन्नतिका लागि सरकारको रणनीति र तयारी सम्बन्धमा छलफल गर्ने कार्यसूची राखिएको छ ।
बैठकमा दिगो विकास लक्ष्य कार्यान्वयनको प्रतिवेदन तयारी सम्बन्धमा पनि बैठकमा छलफल हुने संसद् सचिवालयले जनाएको छ ।
यस्तै राज्य व्यवस्था तथा सुशासन समितिको बैठक भने बिहान ११ बजे बस्ने छ । बैठकमा संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी ऐन, २०६६ लाई संशोधन गर्न बनेको विधेयकमाथि छलफल गर्ने कार्यसूची छ ।
सार्वजनिक लेखा समितिको बैठक पनि बिहान ११ बजे बस्दैछ ।
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक भने साढे १२ बजेका लागि बोलाइएको छ । बैठकमा नेपाल विश्वविद्यालयका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमा दफावार छलफल गर्ने कार्यसूची छ ।
दिउँसो १ बजे बस्ने महिला तथा सामाजिक मामिला समितिको बैठकमा नेपालमा एसिड आक्रमण पीडितको क्षतिपूर्ति सम्बन्धमा समितिमा छलफल गर्ने तयारी छ ।
त्यस्तै, राष्ट्रिय सभाको संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक दिउँसो १ बजे बस्ने छ ।
बैठकमा बौद्धनाथ क्षेत्र विकास समितिबाट भएका कामकारबाही र भावी कार्ययोजनाका विषयमा छलफल गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।
Facebook Comment