३४ वटा आरोपमा दोषी ठहर भएका डोनाल्ड ट्रम्प अब राष्ट्रपति चुनाव लड्न पाउँछन् ?

डिसी नेपाल
१८ जेठ २०८१ १०:२१

काठमाडौं । ऐतिहासिक फैसलामा न्यूयोर्कको एक अदालतले अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पलाई हश मनी मुद्दामा दोषी ठहर गरेको छ ।

सजाय जुलाई ११ मा सुनाइनेछ। ट्रम्पले यो निर्णयलाई लाजमर्दो र धाँधली भएको बताएका छन् ।

अमेरिकी इतिहासमा वर्तमान वा पूर्व राष्ट्रपतिलाई आपराधिक मुद्दामा मुद्दा चलाइएको र दोषी ठहराइएको यो पहिलो पटक हो ।

अमेरिकी राष्ट्रपति जो बाइडेनको चुनाबी अभियान टोलीले ‘कानूनभन्दा माथि कोही नभएको’ भन्दै निर्णयलाई उचित ठहर गरेको छ ।

डोनाल्ड ट्रम्प रिपब्लिकन पार्टीबाट अमेरिकी राष्ट्रपतिका उम्मेदवार हुन् ।

उनलाई दोषी ठहराएपछि ट्रम्पको चुनाबी अभियान टोलीले उनलाई ‘राजनीतिक बन्दी’को रूपमा प्रस्तुत गरेको र यसपछि ठूलो संख्यामा मानिसले चन्दा दिएको दाबी गरेको छ ।

बाइडेन सत्तारुढ डेमोक्रेटिक पार्टीबाट राष्ट्रपतिका उम्मेदवार हुन् । उनको अभियानले भनेको छ – ट्रम्पलाई अझै “मतपेटिकामा पराजित” गर्न बाँकी छ ।

ट्रम्पले २०१६ को राष्ट्रपति चुनाव अघि पोर्न स्टार स्टर्मी डेनियललाई चुप बस्नको लागि पैसा दिएको र त्यो भुक्तानी लुकाउन आफ्नो व्यापार रेकर्ड झूटो बनाएको आरोपको सामना गरिरहेका छन्।

ट्रम्पले आफूमाथि लगाइएको ‘कागजात छेडछाड’ गरेको आरोपलाई अस्वीकार गर्दै आएका छन् । उनले स्टर्मी डेनियलसँग यौन सम्पर्क गरेको कुरालाई पनि अस्वीकार गरेका छन् ।

के ट्रम्प चुनाव लड्न पाउँछन् ?

दोषी ठहर भए पनि ट्रम्प यसै वर्ष नोभेम्बरमा हुने अमेरिकी राष्ट्रपति चुनावमा उम्मेदवार बन्न र चुनाब लड्न सक्नेछन् ।

अमेरिकी संविधानले राष्ट्रपति पदका उम्मेदवारका लागि अपेक्षाकृत न्यूनतम योग्यता तोकेको छ । राष्ट्रपति बन्न कम्तीमा ३५ वर्षको उमेर भएको, संयुक्त राज्य अमेरिकाको आजीवन नागरिक भएको र कम्तीमा १४ वर्षसम्म संयुक्त राज्य अमेरिकामा बसेको हुनुपर्छ ।

आपराधिक अभिलेख भएका उम्मेदवारलाई चुनाव लड्न नदिने कानुन छैन, जेलमा रहेका व्यक्तिले पनि राष्ट्रपतिको चुनाव लड्न सक्छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *