कथाः योद्धा
ऊ दस वर्षपछि राजविराजको जेलको मुल ढोकाबाट बाहिर निस्कँदा बिहानको एघार भइसकेको थियो। श्रीमती र छोरो लिन आएका थिए। श्रीमतीलाई हेर्यो। श्रीमती मुसुक्क हाँसी। अगाडिका कपालहरू फुलेछन्। अनुहार ख्याम्स्याङ्ग भएछ।
उसलाई श्रीमतीको त्यसैत्यसै माया लागेर आयो। ऊ पनि फिस्स हाँस्यो। ऊ जेल पर्नुभन्दा पहिले उसकी श्रीमती पोटिली थिई। राम्री थिई। छोरो टुकुटुकु हिँड्थ्यो। उसले छोरोलाई हेर्यो। लाठे भएछ। छोरो एकटकले उसलाई अपरिचितझैँ हेरिरहेको थियो।
उनीहरू एउटा रिक्सामा बसे। एउटा सानो ट्याङ्का र उनीहरू तिनजना। लाठे भए पनि छोरोलाई आमाले काखमा राखी। उसले रिक्सामै छोरालाई सुम्सुम्यायो। श्रीमतीको उडेको कपाल मिलाइदियो। श्रीमती फेरि फिस्स हाँसी।
उसले रिक्सावालालाई भन्योः ‘नेता चोक दिसँ चल’ (नेता चोकतिर हिँड्)
रिक्सावाला ठँस्ठँसी कनिरहेको थियो। उहिल्यै पिच गरिएको र अहिले खाल्डा खाल्डी मात्रै भएको सिराहा रोडमा रिक्सा घच्याक्क हुन्थ्यो। नेता चोकमा पुगेपछि रिक्सावालालाई उसले भन्योः ‘रूपनी रोड दिसँ चल’
नेता चोकमा जङ्गला भेट भयो। चिच्यायोः ‘रे छोटलाल, कैया छुट्लिही ?’ (ए छोटेलाल, कहिले छुटिस्?)
ऊ हाँस्यो मात्र। रिक्सा अगाडि बढ्दै थियो। उसले मुखको खैनी भुइँमा प्याच्च थुक्यो र भन्योः ‘सारसब राजबिराजके और रद्दी बनादेल्के, शोषकसब’ (सालेहरूले राजविराजलाई रद्दी बनाइदिए, शोषकहरू)
श्रीमतीले भनीः ‘कि कर्बे ?, सारसब फँस्यादेल्के’ (के गर्ने ?, सालेहरूले फँसाइदिए)
ऊ बोलेन। रिक्सा आफ्नै धिमा गतिमा हिँडिरहेको थियो। उसले श्रीमतीलाई सोध्योः ‘आरोतोरी, अतौका त्रिभुवन चोकके कि भेले ?, गजेन्द्रनारायण चोक बन्यादेल्के।
आदरनीय नेताजीके नाममे अनकर जगह हडैप लेल्के। यी बढियाँ बात नै भेले’ (अहो, यहाँको त्रिभुवन चोक के भयो ?, गजेन्द्रनारायण चोक पो बनाएछन्। आदरणीय नेताजीका नाममा हडपेछन्, यो राम्रो काम भएन)
श्रीमती केही बोलिन। बरु छोरो बोल्योः ‘केनाके ?’ (कसरी ?)
उसले छोरोलाई भन्योः ‘अनकर जगह जबर्जस्ती कब्जा क्यालेल्के त बढियाँ केनाके भेले ?, सारसब दोसर बनेतिए त नै हेतिए ?, लुर नै छे चोट्टासब’ (अर्काको ठाउँ जवर्जस्ती हड्पिनु कसरी राम्रो भो त ?’ सालेहरूले अर्को बनाएको भए हुन्नथ्यो ? चोट्टाहरूको सामथ्र्य छैन अनि)
उनीहरू रूपनी रोड पुगे। श्रीमतीले ब्लाउजभित्र हात हाली र एउटा थैली झिकेर रिक्सावालालाई पैसा दिन सोधीः ‘कतेक टका ?’ (कति पैसा ?)
रिक्सावालाले अझ दयनीय पारामा भन्योः ‘चालिस टक्का हुजुर’
ऊ अचम्मित भयो र भन्योः ‘आरोतोरी, वइबेरमे त पाँच टक्का छेले’ (ओहो, उतिबेला त पाँच रुपियाँ थियो)
रिक्सावालाले आफ्नो पान र खैनीले कोत्र्याहा पारेको काला दाँत देखायो, हाँस्यो र भन्योः ‘ऊ जमाना चैलगेल हुजुर, राजतन्तर गेले आ गणतन्तर चैल एले’ (त्यो जमाना गयो हजुर, राजतन्त्र गइसक्यो, गणतन्त्र आइसक्यो)
०००००
उसले आफ्नो घरलाई हेर्यो। टालीबाट पानी चुहेका दागहरू प्रस्टै देखिन्थे। घरआँगन माटोले लिपेको थियो। सुन्दर देखिन्थ्यो। ऊ आफ्नो कोठामा गयो। श्रीमतीले फरिया फेरी। ब्लाउज फेरि। पेटीकोट फेरी। उसले श्रीमतीलाई हेरिरह्यो। श्रीमतीले उसलाई भनीः ‘लाज नैहैछे आहाँके, उधर घुरू’ (लाज लाग्दैन तपाईँलाई ? उता फर्किनुस्)।
आज उसकी श्रीमतीले खाना पकाउन जाँगर चलाई। लौकाको तरुवा बनाई। आलुको भुजिया बनाई। आलुको चोखा बनाई। घौका सागको लद्बदे बनाई। माटाको हाँडीबाट अस्ति किनेको अरवा चामल झिकी। पकाई। मुसुरोको दाललाई खोर्सानी, प्याज हालेर झ्वाइँयँ झानी। बैगनलाई कासन पुर्याएर पकाई। उनीहरूले खाना खाए। छोराले झन मिठो मानेर खायो।
अहिले ऊ खटियामा पल्टिएको छ। छोरो सुतिसकेको छ। श्रीमती घरधन्दा गर्दै छे। ऊ एकतमासले श्रीमतीलाई हेरिरहेको छ। पर्खिरहेको छ। श्रीमतीले भाँडा माझी। चुल्हो पोती। गुवालीमा गएर गाई हेरी। आँगनमा निक्ली। आकाशतर्फ हेरी। छ्याङ्ङ फाटेको थियो। निलो आकाशमा ताराहरू चम्किरहेका थिए। भित्रबाट ऊ करायोः ‘रे कन्किर्वाके म्या, कते गेलिही’ (ओ, छोराकी आमा, कता गयौ ?)
उसकी श्रीमती घरभित्र पसी। पहिले छोरालाई हेरी। छोरो मस्त सुतेको थियो। तैपनि छोरालाई बोलाईः ‘बौवा, रे बौवा’। छोरो बोलेन।
उसले श्रीमतीलाई तान्यो। सुम्सुम्यायो। चाट्यो। र एकछिन उफ्य्रो। स्वाल्यात्त। ऊ निमेषमै सकियो। स्खलित भयो। उठ्यो। लुङ्गी मिलायो। श्रीमती उसैलाई हेरिरहेकी थिई।
ऊ सोच्न थाल्यो। उफ यो के भयो ? किन भेट्ने बित्तिकै स्खलन ?। राजबिराज जेलमा छँदा अरुलेजस्तै उसले पनि आन्दोलन गरेको थियो।
जेलरले दिने सिधाले मान्छेलाई पुग्दैन। ‘गाँस, बास, कपास, हावा, पानी, मात्र जिन्दगी होइन। यौन अधिकार चाहियो, चाहियो, चाहियो’ यो नारा आफैले खाने थालको पछाडि पट्टि लेखेर आन्दोलन गरेका थिए। तर जेलरले सुनेन। सरकारले सुनेन। न्यायालयले सुनेन। कसैले सुनेन। उसलाई हेरेर परिवेश हाँसिरह्यो।
विवसताले मजाक उडाइरह्यो। ऊ मनमनै सोच्दै थियो। गम्दैथियो। के बुढ्यौली लागेकै हो त ?। ऊ अर्को पट्टि फर्केर सुत्न खोज्यो। निद लागेन। उसकी श्रीमती निदाइसकेकी थिई। ऊ श्रीमती पट्टि फक्र्यो। अँध्यारोमा टर्च बालेर हेर्यो। श्रीमती अर्धनग्न थिई।
उसलाई आफ्नी स्वास्नी भर्खरकी लाग्यो। मोहक लाग्यो। उसमा एकाएक जोस आयो। श्रीमतीलाई अँगाल्यो। सुमसुम्यायो। ऊ स्वर्गीय आनन्द तर्फ उन्मुख भयो। श्रीमतीले पनि मुस्कुराएर हेरी। ऊ खुसी देखिई र भनीः ‘अब सुतू, बड्का रात भगेले’ (अब सुत्नुस्, रात छिप्पिइसक्यो)
०००००
खोई किन हो उसलाई निद लागेन। उसको घरको टाली थेग्ने डाँडाभाटा मक्किसकेका थिए। पानी चुहिने भएकाले कतैकतै प्लास्टिकले छोपिएको थियो। उठेर पानी खायो। उसकी श्रीमती मस्त सुतेकी थिई। सायद उसकी श्रीमतीलाई अब कुनै फिकर छैन।
खसम आएको छ। ज्यान आएको छ। भाग्य आएको छ। परिवेश हाँसेको छ। ढिलै भए पनि भगवानले सुनेका छन्। सायद श्रीमती ठान्दी हो, उसको श्रीमान् आएको छ। खेत खनौँला। खलिहान बनाऔँला। गाई पालौँला। यो जीवन कसो सुखसँग नबित्ला त ?।
०००००
उसले आठ पढेको हो। उसका बाबु आमा एकै साल खसे। ऊ पढाइ छोडेर लगना याने अनौ समाउन पुग्यो। रोगाएर थला परेपछि उसका आमाबाबुले उसको बिहे मझुवावालीसँग गरिदिएका हुन्। हतार हतार। ऊ हलो जोति नै रहेको हुन्थ्यो।
उसकी श्रीमती याने मझुवावाली कलौ बोकेर आउँथी। मुसुक्क हाँस्थी। केटाकेटी नै थिई ऊ पनि। चरम गरिवि थियो र पनि जीवन चलेकै थियो। एकदिन उसलाई गाउँको नेता जङ्गलाले भन्योः ‘रे छोटेलाल सुन त’
उसले ध्यान दियो। जङ्गला अलि पढेको र बाठो थियो। जङ्गला भन्न थाल्योः ‘हमरासबके अतेक काम करैछिए, आ बैठलबैठल ऊ चतुरानन्द सब ल्यालैछे, यी सामन्त प्रथाके अन्त्य करैके लेल एकजुट होव पर्ले’
उसलाई जङ्गलाले भनेको कुरा खुव जँच्यो। सधैँ काम गर्दा पनि खान नपुग्ने यो कस्तो व्यवस्था। ऊ रातिराति जङ्गलाले बोलाएको ठाउँमा जान्थ्यो। राति अबेर भएपछि घर फर्कन्थ्यो। एकदिन श्रीमतीले भनीः ‘कते जाइछिए, भर रात। हमरासब गरिव छिए।
सरकार गरिवके नैछिए। कुछो भ्याजेते त हमरासबके कोही नै छे, भगवानोँ गरिबके नैछिए’ (कता जानुहुन्छ रातभरि। हामी गरीव छौँ। यो सरकार गरीवको होइन। केही भइहाल्यो भने हाम्रो कोही छैन। भगवान पनि छैन)
उसले भनेको थियोः ‘अब गरिब दुःखीवाला सरकार बन्ते’
उसले शोषक भन्न सिक्यो। शासित भन्न सिक्यो। अन्याय भन्न सिक्यो। सामन्त भन्न सिक्यो। आन्दोलन भन्न सिक्यो। विद्रोह भन्न सिक्यो। गणतन्त्र भन्न सिक्यो। प्रजातन्त्र भन्न सिक्यो। जनताको शासन भन्न सिक्यो। हातमा ढुङ्गा लाठी बोक्न सिक्यो। बन्दुक बोक्न सिक्यो। भूमिगत हुन सिक्यो। हेर्दाहेर्दै ऊ हलीबाट विद्रोही आन्दोलनकारी भयो। योद्धा भयो।
सरकारको नजरमा ऊ आतङ्ककारी भयो। उसलाई पत्तै भएन ऊ देशद्रोही भयो। उसमा वर्गीय स्वार्थ प्रवल भएर आयो। उसले एकदिन जङ्गलालाई चुनौती दियोः ‘रे जङ्गला, जुद्धके मैदानसे कथिल्या भागैछिइ, हमरासबके हतियार दैछिई, आ तुँ मेजमान छिही ? चल हतियार समा’ (ए जङ्गला, युद्धको मैदानबाट किन भाग्छस्, हामीलाई हतियार दिन्छस्, अनि तँ चाहिँ पाहुना होस्, हतियार उठा)
उसको कुरा सुनेर जङ्गला स्तब्ध भयो। मान्छेले उसलाई सुनाए कि जङ्गला बडहाकिम बङ्गलाबाट राति १० बजे फुत्त बाहिर निस्केको छ। यो बङ्गला उहिले राणाकालमा बडाहाकिमको निवास थियो। पञ्चायत कालमा यो अञ्चलाधीशको निवास भयो र अहिले प्रजिअ बस्थे यो बङ्गलामा। मान्छेले सुनाए, यो जङ्गला दोग्ला हो।
तर उसले पत्याएन। जनताको राज्य स्थापना गर्न हिँडेको जङ्गला कसरी दोग्ला हुन सक्थ्यो। ऊ पनि जनताको राज्य स्थापना गर्न हिँडेको थियो। त्यही सिकेको थियो। त्यही सिकाइएको थियो। समानताको खोजीमा हिँडेको थियो। भोकले तड्पिएर हिँडेको थियो।
वलिदानी भावले हिँडेको थियो। गणतन्त्रका लागि हिँडेँको थियो। एउटा स्वप्नील संसारको खोजीमा हिँडेको थियो। ऊ बोल्न पाउने अधिकार खोज्दै थियो। खान पाउने अधिकार खोज्दै थियो।
बकधुवाको हरिनारायण चौधरीको घरमा राति गोप्य मिटिङ थियो। सधैँ सेतो लगाउने जङ्गलाले आज रातो सर्ट लगाएको थियो। उसलाई त्यहाँ भएका विद्रोहीहरूले जिस्क्याएका पनि थिए। उसले जवाफ दिएको थियोः ‘ससुरालसे देने छे यी लल्का सर्ट’
मिटिङ जोडदार चलेको थियो। यत्तिकैमा चारैतर्फबाट पुलिसले घेरेको सूचना सुराकीले दियो। उनीहरू भाग्न खोजे। तर रातो सर्ट लाउने जङ्गलाबाहेक सबै समातिए। जेल परे।
०००००
अहँ उसलाई पटक्कै निद लागेन। ऊ समग्र परिवेशसँग प्रश्न गरिरहेको छ। अनाहकमा जेल किन ? यो विधाता ममाथि क्रुर किन ? के मैले अधिकार खोज्नु अपराध हो ? के म भोको छु भन्नु अपराध हो ? के मेरो पहिचान चाहियो भन्नु अपराध हो। मैले के बिराएको थिएँ ? यो समाजको। यो राष्ट्रको। अदालतको। पुलिसको। वा यी पार्टीहरूको।
भगवानको। खोई कहाँ छ अपरिमित विधाता ? कहाँ छ सहयोगी समाज ? कहाँ छ न्याय दिने अदालत ? कहाँ छ मेरो राष्ट्र ? कहाँ छ दिव्यदृष्टिवाला भगवान ? कहाँ छ ? कहाँ छ ?। उसले खाटबाटै थुक्यो।
उसका दिनहरू यसै बित्तै छन्। समयले आफ्नो काँटा घुमाइरहन्छ। तर अचेल ऊ सोचिरहेछ। गमिरहेछ। गणतन्त्र आइसकेछ। अधिकार आइसकेछ। पहिचान आइसकेछ। उसले फेरि आफ्नो घरको कुहिसकेका कोराबत्ती (डाँडाभाटा) लाई हेर्यो। सबैलाई नियाल्यो।
खोई मेरो गणतन्त्र ? खोई मेरो अधिकार ? खोई मेरो पहिचान ?। ओहो परिवर्तन त भएछ। दोग्ला जङ्गला कार चढ्ने भएछ। दोमुहल्ला किनेछ। चतुरानन्दका खलकै सहर पसेछन्। चतुरानन्दका खलकहरू अब्बल गणतन्त्रवादी भएछन्। गणतन्त्रको डाडुपुन्यु आफ्ना हातमा पारेछन्। पारिबाट आएकाहरू अब्बल नेपाली भएछन्।
अनि खाँटी नेपाली रबिया, सोमिया, मङ्गला, बुधनाको अवस्था झन बदत्तर भएछ। नेपाली हसिनाले हाँस्न पाएकी छैन। बुधनी भोकै छ। रमवतीया चिथ्रा लाउन बाध्य छे। रतुवावाली स्कुलसँग जोडिएको घरमा बसेर पनि निरक्षर छे।
ऊ एकाएक चिच्यायोः ‘कहाँछे हमर गनतन्तर ? कहाँछे हमर अधिकार ?, कहाँछे हमर पहिचान ?’ (खोई मेरो गणतन्त्र ?, खोई मेरो अधिकार ? खोई मेरो पहिचान ?)।
उसको आवाज सुनेर श्रीमती उठी। बिहान भैसकेको थियो। छोरो पनि उठ्यो। छोरोले भन्योः ‘म्या, भुक लग्ले’ (आमा भोक लाग्यो)। उसकी श्रीमती मुरहीको भाँडो हेर्न थाली। रित्तै थियो। ऊ झन जोडले चिच्यायोः ‘रे गनतन्तर, कते गेले हमरा भैर पेट खाइके अधिकार ?’ (ए गणतन्त्र, कता गयो मेरो अघाउँदी खान पाउने अधिकार ?)।
Facebook Comment