नयाँ कम्युनिष्ट पार्टीको गठन, भ्रष्ट र तस्करहरुलाई जनकारवाही गर्ने चेतावनी
काठमाडाैं। मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालबाट विद्रोह गरी युवा नेताहरुले “श्रमिक कम्युनिष्ट पार्टी नेपाल” गठन गरेका छन्। राजधानीमा आयोजित एक कार्यक्रममा ने.क.पा (बहुमत) निकट युबा नेताहरुको संलग्नतामा यो पार्टी गठन भएको छ।
पार्टीका अध्यक्ष पूर्णवहादुर सिंह ‘समरजंग’ ले वैज्ञानिक समाजवादी जनक्रान्तिको कार्यदिशा लिएर पार्टी गठन गरिएको दाबी गरे।
नक्कली कम्युनिस्टका कारण नेपालको कम्युनिस्ट आन्दोलन नै बद्नाम र विघठन हुँदै गएको परिस्थितिमा साम्राज्यवाद, सबैखाले प्रतिक्रियावाद, नवऔपनिवेशिक पूँजीवादी दलाल संसदीय व्यवस्था र सबैखाले संशोधनवाद-अवसरवादका विरुद्ध वैज्ञानिक समाजवादी जनक्रान्तिको कार्यदिशा लिएर जाने तयारीका साथ पार्टी गठन गरिएको बताए।
जनता र पार्टीका बीच दूरी घटाउँदै लैजाने देश र जनताका टड्कारा समस्याहरू समाधान गर्ने अभियान चलाउने र आमजनताको बिश्वास र सहयोगबाट वैज्ञानिक समाजवादी जनक्रान्ति सफल बनाउने पार्टीको बिश्वास छ।
पार्टीमा ने.क.पा (वहुमत) आवद्ध जनसांस्कृतिक महासंघका खेम थपलिया, मजदुर नेता विनोद थापा, किसान नेता हरि श्रेष्ठ, पत्रकार अशोक सुवेदी, युवा नेता माधव गौतम, युबा इंजिनियर नवराज भट्टलगायत सयौं नेता कार्यकताको सहभागितामा गठन गरिएकाे पार्टीमा ४५ सदस्यीय केन्द्रीय कमिटी बनाइएको छ।
पार्टीले भ्रष्ट्राचारी भन्दै कालोसूची सार्वजनिक गरेको छ, जसमा १२ जनाकाे नाम उल्लेख छ। उनीरूलाई जनकारवाही गर्ने चेतावनी साे पार्टीले दिएको छ।
यो पार्टीले आगामी २०८१ साल असार, साउन र भदौ तीन महिना देशब्यापी जनजागरण तथा जनचेतनामूलक कार्यक्रम चलाउने, तथा २०८१ साल मंसिरमा राष्ट्रिय सम्मेलन गर्ने बताएको छ।
Facebook Comment