मधेशका मुख्यमन्त्रीले विश्वासको मत पाएनन्, सरकार ढल्यो

डिसी नेपाल
२३ जेठ २०८१ २०:२५

काठमाडौं। मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवको सरकार ढलेको छ। मुख्यमन्त्री यादवले बुधबार विश्वासको मत नपाएसँगै उनको नेतृत्वको सरकार ढलेको हो।

सरकार जोगाउन ५४ मतको आवश्यकता हुने भएकोमा मुख्यमन्त्री यादवले मागेको विश्वासको मतको प्रस्तावको पक्षमा मात्र ५० मत परेको छ। विपक्षमा भने ५३ मत परेको छ। मुख्यमन्त्रीलाई उनको दल जसपा नेपाल, नेपाली काँग्रेस, लोसपा र राप्रपाले विश्वासको मत दिएको छ। विपक्षमा नेकपा एमाले, जनमत पार्टी, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीले मतदान गरेका छन्।

१०७ सदस्यीय मधेश प्रदेश बुधबार १०३ सांसद उपस्थित थिए। मधेश प्रदेशमा एमालेका सभामुख सहित २५, कांग्रेसका २२, जसपा नेपालका १९, जनमत पार्टीका १३, माओवादी केन्द्रका ९ लोसपाका ८, एकीकृत समाजवादीका ७ सांसद छन् भने संघीय समाजवादी पार्टी, नाउपा र राप्रपाका एक एक सांसद छन् ।

विसं २०७९ पुस २७ गते मुख्यमन्त्रीमा नियुक्त यादवले पहिलो पटक २०७९ माघ ४ गते विश्वासको मत लिएका थिए। तत्पश्चात् विसं २०८० जेठ १ गते मधेस सरकारमा रहेको नेकपा (एमाले) ले समर्थन फिर्ता लिएपछि उनले जेठ ३० गते दोस्रो पटक विश्वासको मत लिएका थिए भने तेस्रो पटक सोही वर्षको फागुन ६ गते विश्वासको मत लिए।

त्यसबेला प्रदेशसभाको एक सय सातमध्ये उनले ६९ मत प्राप्त गरे । उनलाई जनता समाजवादी पार्टी (जसपा) नेपाल प्रदेश संसदीय दलका नेतासमेत रहेका यादवलाई नेपाली कांग्रेस, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा), नेपाल संघीय समाजवादी पार्टी र नागरिक उन्मुक्ति पार्टीका प्रदेशसभा सदस्यले समर्थन गरेका थिए। त्यसबेला एमाले र यसअघि दुई पटक विश्वासको मत दिएको जनमत पार्टीसमेत विपक्षमा रहेका थियाे।

पछि सत्ता साझेदार नेपाली कांग्रेस समर्थन फिर्तासहित सरकारबाट बाहिरिएपछि पुनः २०८१ वैशाख ४ गते चौथोपटक विश्वासको मत लिनुपर्‍यो। त्यसबेला एमाले, माओवादी केन्द्र, एकीकृत समाजवादी, नेपाल संघीय समाजवादी र नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत दिएका थिए। चारै पटक सत्ता गठबन्धनमा फेरबदल आएपछि विश्वासको मत लिनुपरे पनि सरकारको नेतृत्व भने परिवर्तन भएकाे थिएन।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *