नरेन्द्र मोदीबाट पाठ नसिकेका नेपालका नेताहरु

शान्ता सुवेदी
२४ जेठ २०८१ ८:१८

नेपालका दुई छिमेकी भारत र चीनमा अलग राजनीति प्रणालीका असमानता बिचमा एउटा समानता पनि छ।

त्यो समानता भनेको दुबै देशका नेता लोकप्रिय छन् आ-आफ्नो देशमा। दुबै देशका नेता शक्तिशाली छन् आ-आफ्नो देशमा। त्यसरी नै दुबै देशका नेताले आ-आफ्नो मुलुकलाई सबै किसिमले बलियो बनाउन अथक र इमानदरीपूर्गक काम गरिरहेका छन्।

र दुबै नेताले आ-आफ्नो लक्ष्य हासिल गर्न सफल र व्यवहारबाट प्रमाणित भएकोले दुबै नेतालाई उनीहरुका देशका जनताले विश्वास गरेर सत्ताको जिम्मेवारीलाई निरन्तरता दिइरहेका छन् र लाग्छ अझै लामो समयसम्म दिन पनि सक्छन्।

यदि यी नेताहरु उनीहरुको देशको लागि यसरी नै प्रभावशाली काम गरिरहन सक्षम भइरहन्छन् भने। यी नेताहरु हुन् चीनका राष्ट्रपति सि जिङ पिङ र भारतका प्रधानमन्त्री नरेन्द्र मोदी। यो लेखमा चीनका नेता सि जिङ पिङलाई चीन तिरै छोडेर हामी भने भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई भेट्न र खोतल्न लागौं।

भारतका प्रधानमन्त्री सत्तामा बसेर लोकप्रियता नगुमाउने बरु सत्ताबाट लोकप्रियता कमाउने थोरै नेताहरुमा पर्दछन्। उनले यो तथ्यलाई भरखरै सम्पन्न निर्वाचनमा केही समर्थन घटे पनि प्रमाणित गर्न सकेका छन्। मोदी भारतमा त्यती सजिलै प्रधानमन्त्री पदमा पुगेका होइनन्।

प्रधानमन्त्रीमा पुग्न अथवा प्रधानमन्त्री पदको दाबी पेश गर्न नरेन्द्र मोदीले गुजरातको सफल र चर्चित मुख्यमन्त्री नरेन्द्र मोदीको कार्यकाल पेश गरेका थिए। आज यिनै भारतका सफल र प्रभावशाली नेता,नरेन्द्र मोदीले मुख्यमन्त्री र प्रधानमन्त्रीको रुपमा काम गरेर कसरी सफलता र लोकप्रियता हासिल गरे भनेर चर्चा गरौं।

जसले मुलुक कसरी बनाउनुपर्छ भन्ने ज्ञान हाम्रा नेतालाई थोरै मिलोस् भनेर मोदीबारे केही शब्द खर्चिन गइरहेको छु। धन्यवाद दरबार हाइ स्कूलको पुस्तकालय जसले मलाई मोदीबारे थप जानकारी पाउने पाठ्य सामाग्री दिएर सहजीकरण गरिदियो।

मोदी काम देखाएर आफूलाई प्रधानमन्त्रीको लागि योग्य उमेदवार बनाएर प्रधानमन्त्रीको पद प्राप्त गरेका नेता हुन्। मोदी प्रधानमन्त्रीको जिम्मेवारी सम्हाल्नु भन्दा पहिला उनले गुजरातको मुख्यमन्त्री भएर काम गरेको लामो अनुभव बटुलेर ख्याती कमाएका थिए।

गुजारतको मुख्यमन्त्रीकाल अरु मुख्यमन्त्री जस्तो सामान्य मुख्यमन्त्रीकाल नभएर विशेष चर्चाको मोदीकाल भएको थियो। मोदीको मुख्यमन्त्रीकाल गुजरातको विकासकाल थियो। गुजारातको विकास मोदी मोडल भनेर पनि चर्चित भएको थियो।

नरेन्द्र मोदीले २००२, २००७ र २०१२ सालमा गुजरातको विधानसभामा चुनिएका थिए। उनी मुख्यमन्त्री भने २००१ अक्टोबर ७ मा भएका थिए। भाजपाले तत्कालीन मुख्यमन्त्री केशुभाइ पटेललाई हटाएर नरेन्द्र मोदीलाई गुजरातको मुख्यमन्त्री बनाएको थियो।

त्यसपछि भएका हरेक निर्वाचन पछि उनी गुजारातका मुख्यमन्त्री भएका थिए। उनले गुजरातको चार कार्यकाल बिताए। उनको पहिलो मुख्यमन्त्रीकालले दोस्रो मुख्यमन्त्रीकालको आधार तयार गरेको थियो। दोस्रो कालले तेस्रो कालको आधार तयार गरेको थियो।

र चौथो कार्यकालले प्रधानमन्त्रीको आधार तयार गरेको थियो। यसले पनि पुष्टि गर्दछ कि नरेन्द्र मोदी जनताले चाहेका र जनताले अनुमोदन गरेका मुख्यमन्त्री थिए।

गुजरातको मुख्यमन्त्री भएपछि मोदीले आफ्नो सबै ध्यान विकास र जनताको जीवनस्तर उठाउने काममा केन्द्रीत गरे। गुजरात विकासको मोडले भारत भित्र बाहिर सबैको ध्यान आकर्षित गर्न सफल भएको थियो।

मोदी गुजरातको मुख्यमन्त्री हुनुभन्दा पहिला गुजरातमा गहुँको उत्पादन ८० लाख टन रहेछ। मोदीको कार्यकाल सकिदा त्यो बढेर चारसय लाख टन भएको थियो। यो आश्चर्यजनक फड्को थियो। यही अनुपातमा कृषिका अन्य सबै वस्तुहरुको उत्पादन बढेको थियो।

२००३ मा गुजरातको विद्युत उत्पादन ९ हजार मेघावाट थियो। १० वर्षपछि अर्थात २०१३ मा आइपुग्दा त्यो बढेर झण्डै २४ हजार मेघावाट पुगेको थियो। यसले थाहा हुन्छ गुजरातलाई बिकासमा मोदीले कसरी फड्का मराएका थिए भनेर।

गुजरातमा मोदीको कार्यकालमा दोहोरो अंकमा अर्थात १० प्रतिशत भन्दा बढीले विकास भएको थियो। २००५ र २००६मा त १५ प्रतिशतले विकास भएको थियो। समग्र कृषि उपजमा सय प्रतिशतले विकास भएको थियो। गुजरातमा बाह्य लगानीको बाढी नै ल्याएका थिए मुख्यमन्त्री मोदीले।

गुजरातको मुख्यमन्त्री भएको चारवटै कार्यकालमा मोदीले ठूला योजना र साना योजना,ठूला लगानी र साना लगानी शहरको विकास र गाउँको विकासलाई अत्यन्तै सन्तुलित किसिमले अघि बढाएका थिए।

मोदी गुजरातको मुख्यमन्त्री हुनुभन्दा पहिला गुजरातमा खानेपानी र सिचाईंको हाहाकार थियो। जमिन मुनिको पानी सकिएर इनारबाट पानी आउन छोडेका थिए। तलाउहरु सुक्दै गएका थिए। तलाउ पोखरी मात्रै होइन नदीहरुमा पानी घटेर बगरमा परिणत हुने क्रम बढिरहेको थियो।

गुजरातका अठारहजार गाउँभध्ये ९ हजार गाउँमा सधै पानीको हाहाकार थियो। मोदीले विभिन्न ठाउँमा चेक ड्याम बनाएर जमिनमुनि पानी घुसाउने योजना बढाए। उनले कल्पनासार ठूलो परियोजना अघि सारे। उक्त परियोजनामा ६५ किलोमिटर लामो बाँध निर्माण गरे। त्यसमा ठूलो झरना बनाए।

जसमा नर्मदा नदी समेत गरेर १२ नदीहरुको पानी जोडेर खसाले। जसबाट बिजुली उत्पादन गरे सिचाई र खानेपानीको समस्या समाधान गरे। अब गुजरात अँध्यारो र खानेपानीको समस्यालाई मोदीले एकादेशको कथा बनाए।

यो महत्वकाँक्षी परियोजना सफल बनाउन लाखौं जनसहभागिता पनि जुटाएका थिए। यो परियोजना पछि इनार तलाउहरुमा पुन पानी भरिन थाल्यो सुकेका नदीमा पानी भरिन थाल्यो गुजरात हरियालीले भरिन थाल्यो।

मोदीले गरे के हुदैन भनेर प्रमाणित गरे। ३३२ किलोमिटर लामो नहर २१ वटा नदी पार भएर बग्ने रिचार्जवाला नहर गुजरातको अर्को आश्चर्य हो। मोदीले क्रान्तिलाई विकास बुझे, रक्तपात बुझेनन्।

काम समयमा नै सकाउने र गुणस्तरीय बनाउनेमा मोदीले ध्यान दिएकोले सबै काम समयमा नै सम्पन्न गर्न मोदी सफल भए। उनले सुशासनमा पनि त्यतिकै जोड दिएका थिए।

मोदीको कार्यकालमा गुजरातमा ठूलै हिन्दू-मुसलमानको दंगा भयो। धेरै मान्छे मारिए। यसको पनि मोदीले कुशलतापूर्वक समाधान गरेर आपूmलाई प्रमाणित गरेर देखाए। मोदीकै पालामा गुजरातमा बिनाशकारी भूँइचालो आयो।

यसको पनि उनले कुशलतापूर्वक समाधान गरे। मोदी गुजरातमा सबैभन्दा लामो मुख्यमन्त्री बन्ने रेकर्डधारी हुन्। उनी गुजरातमा चार पटक मुख्यमन्त्री भए। त्यो अवधिमा उनी भारतको नम्बर वान मुख्यमन्त्रीको धेरै पटक धेरै विधामा अनेक राष्ट्रिय अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित भएका थिए।

नरेन्द्र मोदी भारतका अनेक मुख्यमन्त्री मध्ये नमुना र विकासका मुख्यमन्त्री भएकाले नै उनको पार्टी भारतीय जनता पार्टीले पुरस्कार स्वरुप उनलाई भारतको प्रधानमन्त्रीको रुपमा अघि सारेर चुनावमा होमियो र बहुमत पनि प्राप्त गर्न सफल भयो।

नरेन्द्र मोदी भारतको प्रधानमन्त्री भए पछि भारतलाई एउटा शक्ति राष्ट्रको रुपमा खडा गरेर भारतको अन्तर्राष्ट्रिय प्रतिष्ठा उँचो बनाएका छन्। भारतलाई अन्तरिक्ष शक्तिमा स्थापित गरेका छन्।

चन्द्रमामा मानवसहित सफल यान उतार्ने राष्ट्रको लाममा भारतलाई उभ्याउन उनी सफल भएका छन्। त्यस्तै मंगल ग्रह तथा सूर्यमा समेत अध्यायनको लागि महत्वकांक्षी अन्तरिक्ष कार्यक्रम अघि सारेका छन्।

चीनलाई जनसंख्यामा उछिनेर विश्वको सबैभन्दा जनसंख्या भएको मुलुक भएको भारत मोदी कै कार्यकालमा विश्वको तेस्रो आर्थिक शक्ति राष्ट्रको रुपमा उभिएको छ।

मोदीको कार्यकालमा संविधान बनिने सवालमा मतभेद भएर नेपालमा नाकाबन्दी लगाउने काममा भारतले सहयोग गरेको थियो। सतहमा देखिने संविधानमा देखिने मधेश आन्दोलन भए पनि पर्दा पछाडि भारत थियो।

मोदीले नेपालका नेतालाई नेपाललाई हिन्दुराष्ट्र बनाउने सुझाव दिएका रहेछन् तर नेपालका नेताले पश्चिमाको सुझावलाई मानेर हतारमा धर्मनिरपेक्ष संविधान घोषणा गरेकोले मोदी रिसाएर मधेशीलाई उचालेर नाकाबन्दी लगाएको चर्चा चलेको थियो। त्यसले नेपाल भारतको सम्बन्धमा निकै नोक्सान पुर्‍यायो।

नरेन्द्र मोदी मुख्यमन्त्री देखि प्रधानमन्त्री भएसम्म भ्रष्टाचारका कुनै काण्ड सुनिएका छैनन्। उनी भारतको हित र जित बाहेक केही सोच्दैनन्। भारतमा नेताहरु पनि उच्चस्तरका राजनीति संस्कार भएका रहेछन्।

हाम्रा जस्ता सरकारमा जान महिनैपिच्छे दल फुटाउने स्तर नभएका रहेनछन्। भारतमा राजनीति स्थाइत्व ल्याएका छन् मोदीले। हिन्दु सभ्यताको लहर ल्याएका छन्। अन्य भने मोदीसँग रिसाइका पनि छन्। तर विकास र सुशासनले मोदीले उनीहरुको मुखमा बुजो लगाएका छन्।

मोदीले भारतीय जनताको मन भने सोचेजस्तो जितेका रहेनछन्। यो चुनावमा पहिलाभन्दा उनको दल र स्वयं मोदीलाई दिने मत जनताले घटाए। तर पनि उनको दल भाजपा र गठबन्धनलाई सरकार बनाउन चाहिने संख्या भने जनताले उनलाई दिए।

यो मोदीलाई जनताले सजायाँ पनि दिएको हो पुरस्कार पनि दिएको हो। आउने प्रधानमन्त्री कालमा उनले यसलाई पाठको रुपमा लिएर आफूलाई सुधार्न कोशिस गर्लान् भन्ने आशा गर्न सकिन्छ।

देशको हित र जितमा कसरी काम गर्नुपर्छ स्वधर्म र संस्कृति बचाउन कति मेहनत गर्नु पर्छ कस्ता नीति अधि सार्नुपर्छ कसरी सुशासनको लागि काम गर्नुपर्छ सत्ताको खेलमा लाजमर्दो किसिमले लागिरहने राष्ट्रघात र भ्रष्टाचारका आरोप आलोपालो बोकिरहने नेपालका नेताहरुले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबाट धेरै सिक्न सक्छन्।

 




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *