इतिहास र साहित्य दुवै विधाका कलम चलाउने साधकहरू
इतिहास र साहित्य दुवै एउटै सिक्काका दुई पाटा हुन्। ऐतिहासिक विषयवस्तु साहित्यका लागि असल खुराक हुन् भने साहित्यिक कृति इतिहासका विश्वसनीय स्रोत पनि हुन्। साहित्यका कविता-काव्य, आख्यान, निबन्ध र नाटक जस्ता साहित्यिक कृतिहरू इतिहासका महत्त्वपूर्ण स्रोत साबित भइसकेका छन्।
साहित्यमा कल्पना शैलीले प्राथमिकता पाएको हुन्छ भने इतिहासमा तथ्यमूलक शैलीले। प्रारम्भमा साहित्यिक रचनालाई नै इतिहास भन्ने गरिएको दृष्टान्त पनि पाइन्छ। पुनर्जागरण युगमा पनि इतिहास र साहित्यलाई मिश्रण गरेरै हेरिन्थ्यो।
तर, हेरोटेड्स जस्ता विद्वान्हरूले इतिहास र साहित्यलाई पृथक् रूपमा हेर्न थाले। विश्वमा साहित्यकार नै लब्धप्रतिष्ठित इतिहासकार हुन पुगेका दृष्टान्त पनि छन्। सोही कारणले पनि यदाकदा दुविधा हुन पुगेको हो। भोल्तेयर, थुसिडाइस, हेगेल जस्ता व्यक्तित्वहरूले इतिहास र साहित्य दुवैतिर कलम चलाएका थिए।
नेपाल ऐतिहासिक दृष्टिले ज्यादै प्राचीन मुलुक हो। अन्य मुलुकमा जस्तै नेपालमा पनि गाथाहरू प्रचलित छन्। हाम्रा पुर्खाहरू गाथाकौ रूपमा अतीतका कुरा सुरक्षित गर्ने गर्थे। वंशावली तथा थ्यासफु यसै क्रमका उपज थिए। अभिलेख राख्ने, ताम्रपत्र लेख्ने तथा वंशावली लेखाउने चलन थियो।
राजा महाराजाहरूले दरबारिया पण्डितहरूलाई आफ्नो कालका महत्त्वपूर्ण घटना लेखाउने गर्दथे। तर ती पण्डितहरूले राजाको गुणानुवर्णनमा नै बढी ध्यान दिँदा तथ्य, कथ्य र मिथ्यको समिश्रण हुन पुग्यो। यसरी हेर्दा साहित्यकारले नै इतिहासका स्रोत उपलब्ध गराएका छन् भने कतिपयले त आफूलाई इतिहासकार नै भन्न रुचाउँछन्।
नेपालको इतिहासलेखन परम्परामा तथ्य र कथ्य छुट्याउने कार्यको थालनी विलियम कर्कप्याट्रिक जस्ता विदेशी विद्वान्हरूले गरेका हुन्। यद्यपि, इतिहासलेखन विधामा सशक्त कलम चलाउनेहरू नेपाली नै भए। त्यसमा पनि साहित्यकारकै बाहुल्य रहेको थियो।
इतिहास र साहित्य दुवैतिर कलम चलाई दुवै क्षेत्रमा स्थापित हुन पुगेका केही दिवंगत व्यक्तित्वको योगदानको स्मरण र श्रद्धा गर्ने प्रयोजनले यो आलेख तयार भएको हो। त्यस्ता केही प्रतिनिधि व्यक्तित्वहरूको संक्षिप्त चर्चा निम्नानुसार गरिएको छः
बाबुराम आचार्य:
आचार्यको नेपालको इतिहासमा आफ्नै विशिष्ट स्थान छ। उनले शैशव अवस्थामा रहेको नेपालको इतिहासलेखन विधामा महत्त्वपूर्ण योगदान दिएका छन्। प्राथमिक स्रोतको आधारमा नेपालको इतिहासका विविध पक्ष उनका कृतिमा समेटिएका छन्।
साथै असंख्य लेखका माध्यमबाट नेपालको इतिहासका अनेक पक्ष उद्घाटित भएका छन्। नेपालको सङ्क्षिप्त वृत्तान्त, श्री ५ बडामहाराज पृथ्वीनारायण शाहको जीवनी भार भाग, चीन र तिब्बतसँग नेपालको सम्बन्ध, प्राचीन नेपालको इतिहास तथा अब यस्तो कहिल्यै नहोस् लगायतका नेपालको इतिहाससँग सम्बन्धित कृतिहरू प्रकाशित भएका छन्।
यसका अतिरिक्त धेरै अनुसन्धानत्मक लेखहरू पनि छन् जसको विस्तृत विवरण त्रिभुवन विश्वविद्यालय नेपाल र एसियाली अध्ययन संस्थान (हाल अनुसन्धान केन्द्र)बाट २०२९ सालमा प्रकाशित बाबुराम आचार्य र उहाँका कृतिमा उल्लेख छ।
हाल नेपालमा इतिहाससम्बन्धी बाबुराम आचार्यकै पुस्तकहरू बजारमा धेरै देखिन्छन्। ती कृतिहरू बाबुराम आचार्यले नै लेखेका हुन् वा उनको नाममा अरू कसैले लेखिदिएको हो, अलमल नै छ। यसैगरी उनका साहित्यिक कृतिमा पुराना कवि र कविता, तुलनात्मक सुन्दर काण्ड, बाबुराम आचार्यका कविता आदि छन्।
सूर्यविक्रम ज्ञवाली:
उनी पनि साहित्य र इतिहास दुवै विधामा कलम चलाउने विशिष्ट व्यक्तित्व हुन्। उनले द्रव्य शाह, राम शाह, वीर बलभद्र, नेपाली वीरहरू, अमरसिंह थापा, नेपाल उपत्यकाको मध्यकालीन इतिहास, इतिहासका कुराहरू, शाहवंशीय राजाहरू तथा नेपाली क्रान्ति जस्ता चर्चित कृतिहरू प्रकाशित गरेका छन्।
यसैगरी उनका असङ्ख्य लेखहरू पनि प्रकाशित छन्। भानुभक्तको जीवन चरित्र, नेपाली भाषाको सङ्क्षिप्त इतिहास जस्ता कृति र नेपाली साहित्यको सेरोफेरोमा लेख, निबन्ध, अनुवाद तथा सम्पादन कार्य उनीबाट भएको देखिन्छ। नेपाल र प्रवास दुवैतिर उनको नाम इतिहासकारभन्दा साहित्यकारका रूपमा बढी परिचित भएको छ।
पं नयराज पन्त:
नेपाली साहित्य र इतिहास दुवैमा समान योगदान दिने महत्त्वपूर्ण व्यक्तित्वमा पण्डित नयराज पन्तको नाम अग्रपङ्क्तिमा आउँछ। नेपाली र संस्कृत दुवै भाषामा पण्डितजीका धेरै कृतिहरू छन्। साहित्य, गणित र इतिहासलगायतका अनेक ग्रन्थ प्रकाशन गर्ने नेपालका प्रथम विद्वान् नयराज पन्त नै हुन्।
यस्तो अद्भुत सामथ्र्य भएका विद्वान् नेपालले भविष्यमा पनि बिरलै पाउन सक्ला। उनी ज्योतिष, गणित, संस्कृत व्याकरण, संस्कृतइतर नेपाली साहित्य तथा इतिहास सबै विषयमा निपुण भएको तथ्य पन्तका असङ्ख्य कृतिले प्रमाणित गरिसकेका छन्।
उनका नेपालको संक्षिप्त इतिहास, इतिहास सहायक, लिच्छवी संवत्को निर्णय, श्री ५ पृथ्वीनारायण शाहको उपदेश तथा पद्मशेरका कुरा जस्ता इतिहासका कृति प्रकाशित भएका छन्।
पण्डित गोपाल पाँडे र उनको घनमूल ल्याउने नीति, प्राचीन गणित र नवीन गणितको तुलना, त्रिकोणमिति, हिन्दु सिद्धान्त ज्यौतिष र ग्रीक सिद्धान्त ज्यौतिषको तुलना (पहिलो भाग), रत्नदीप, विश्रान्ति(पहिलो भाग), ज्योतिष, सुमतितन्त्र, बुद्धिविनोद, प्रश्नावली र त्यसको उत्तर जस्ता २९ भन्दा बढी ग्रन्थ प्रकाशित भएका छन्।
लिच्छवी संवत्को निर्णयले त मदन पुरस्कार पाएको थियो। यीबाहेक पनि उनका असङ्ख्य अनुसन्धानत्मक लेखहरू प्रकाशित छन्। इतिहासप्रधान पूर्णिमा पत्रिकाको प्रकाशन र संशोधन मण्डलको स्थापना गरी इतिहासको अध्ययन अनुसन्धानमा सर्वाधिक प्राथमिकता दिँदा नेपालकै इतिहासको क्षितिज फराकिलो हुँदै गयो।
आज पनि स्वाध्याय र सरस्वतीपुत्र नयराजले स्थापना गरेको शिक्षालयबाट मुलुकमा प्रतिष्ठाप्राप्त इतिहास, संस्कृति र साहित्यका साधक धनवज्र वज्राचार्य, ज्ञानमणि नेपाल, महेशराज पन्त, दिनेशराज पन्त, गौतमवज्र वज्राचार्य तथा शंकरमान राजवंशी जस्ता शिष्य उत्पादन भएका थिए।
सरदार रुद्रराज पाण्डे:
नेपाली भाषा, साहित्य, संस्कृति र इतिहासका साधक थिए, सरदार रुद्रराज पाण्डे। इतिहास विषयमा एमए गर्ने सम्भवतः पहिलो नेपाली रुद्रराज पाण्डे नै थिए। उनले रूपमती-अंग्रेजी र उर्दुमासमेत अनुवाद भएको), चम्पाकाजी, प्रायश्चित्त प्रेम तथा हाम्रो गौरव हाम्रो नेपाल जस्ता साहित्यिक कृति छन् भने बालरामायण, बालकृष्ण चरित्र, बेलायत र भारतको प्राचीन तथा मध्यकालीन इतिहास लेखेका थिए।
नेपाली भाषामा इतिहासका कुनै पुस्तक नभएको समयमा यी दुई इतिहासका पुस्तक निकै उपयोगी ठहरिए। इतिहास र साहित्य दुवै विधाको उन्नयनका लागि सरदारबाजेको विशिष्ट योगदान रहेको छ।
योगी नरहरिनाथ:
नरहरिनाथ यथार्थ जीवनमा नै एक सिद्ध योगी थिए। उनले आफ्नो सम्पूर्ण जीवन नै साहित्यसिर्जना र इतिहासको सोधखोजमा बिताए। उनले साना ठूला गरी ६०० भन्दा बढी भाषा-साहित्य, वंशावली र ऐतिहासिक सामग्री रचना गरेका छन्।
कर्मवीर महामण्डल, इतिहास प्रकाश संघ तथा नेपाल लोकसाहित्य संघ स्थापना गरी साहित्य र इतिहासको अन्वेषण कार्यमा अनवरत र अथकित रूपमा सक्रिय रहे।
इतिहास प्रकाशमा सन्धि सङ्ग्रह त नेपालको इतिहास अध्ययन अनुसन्धान गर्नेहरूका लागि ठूलो गुन लगाएको छ। यसैगरी उनले विभिन्न जनजातिहरूको वंशावली प्रकाशमा ल्याएका छन्।
चित्तरञ्जन नेपाली:
चित्तरञ्जन नेपाली नेपालको इतिहास र साहित्यमा स्थापित नाम हो। नारायणप्रसाद राजभण्डारी नै लेखकका रूपमा चित्तरञ्जन नेपाली कहलाए र यही नामले नै उनलाई अमर बनायो।
नेपाली इतिहासको परिचय(भाग १, २ र ३), जनरल भीमसेन थापा र तत्कालीन नेपाल, श्री ५ रणबहादुर शाह, नेपाल-चीन सन्धि, राणाशाही रोल व्यवस्था, पारिवारिक षड्यन्त्रका कथाहरू, केही ऐतिहासिक निबन्ध सङ्ग्रह, जंगबहादुरको कथा तथा नेपालीका ऐतिहासिक कृतिहरू हुन्।
गङ्की, मुद्रा राक्षस, सुगत सौरभ तथा जापानको इतिहास अनुवाद गरिएका कृति हुन्। मां लुमंकाः, प्रतिक्रिया, जिगु सन्देश, मेरी बाबा उनका नेपाल भाषामा लेखिएका साहित्यिक रचना हुन्। उनी नेपाली साहित्यभन्दा इतिहासमा नै बढी सक्रिय थिए र योगदान पनि यसै क्षेत्रमा बढी रह्यो।
ज्ञानमणि नेपाल:
नेपाल पनि इतिहास र साहित्य दुवैतिर कलम चलाउने लेखक थिए। उनले कौटलीय अर्थशास्त्रको ऐतिहासिक व्याख्या(भाग १ र २), ऐतिहासिक पत्र सङ्ग्रह लेखेका छन् साथै उनी जय रत्नाकर नाटकका सहलेखक हुन्।
यसैगरी नेपाल निरुक्त, नेपाल भोट चीन सम्बन्धका केही सांस्कृतिक पक्ष, नेपालको महाभारत, नेपाल सुखीम सम्बन्ध, नेपालको माध्यमिक कालको इतिहास तथा मेरो गुरुकुलीय शिक्षा र सहपाठी जस्ता इतिहाससम्बन्धी कृतिहरू प्रकाशित भएका छन्।
पुराना कविता, वनका फूल, संगीत लहरी, किस्किन्दा काण्ड तथा पुण्य शिक्षा आदि साहित्यिक ग्रन्थहरू पनि प्रकाशित भएका छन्।
कमलमणि दीक्षित:
इतिहास र साहित्य दुवैतिर अभिरुचि राख्ने मूर्धन्य व्यक्तित्वहरूमा कमलमणि दीक्षितको नाम पनि अग्रपङ्क्तिमै आउँछ। महत्त्वपूर्ण ऐतिहासिक कागजपत्रको आधारमा उनका इतिहास विषयका अनेकौँ पुस्तक प्रकाशन भएका छन्।
जंगबहादुरको बेलायत यात्रा, चढाइ गर्ने आँखाले, जंगगीता, बाजेको विवाह, कालो अक्षर, कागतीको सिरप, नुनको खोजीमा जस्ता सयौँ कृतिहरू छन्। यसका अलावा नेपाली पत्रिकामा उनका ऐतिहासिक दस्तावेज धेरै आएका छन् इतिहास र साहित्य दुवैतिरका लेखलाई उनका कृतिहरूले उल्लेख्य योगदान गरेका छन्।
त्यसैगरी बालचन्द्र शर्मा, ढुण्डिराज शर्मा, अम्बिकाप्रसाद उपाध्याय, सत्यमोहन जोशी पनि साहित्य र इतिहास दुवैतिर कलम चलाउने लेखकहरू हुन्। उल्लिखित विद्वान्हरूबाहेक अरू पनि धेरै व्यक्तित्वहरू नेपाली साहित्य र इतिहासमा कलम चलाउने अवश्यै होलान्, छन् नै।
तिनको सोधखोज गर्नुपर्ने भएको छ। यहाँ त केवल इतिहास र साहित्य दुवैतिर चर्चित भएका केही दिवंगत व्यक्तित्वप्रति श्रद्धाञ्जली व्यक्त गर्ने उद्देश्यले यो टिपोट तयार पारिएको हो। इतिहास र साहित्य दुवै क्षेत्रमा उनीहरू सदैव स्मरणीय रहनेछन्। वास्तवमा उनीहरूका कृतिले नै उनीहरूलाई अमर बनाएको छ। अस्तु।
Facebook Comment