मोदीको शपथग्रहणमा प्रधानमन्त्री दाहाल सहभागी हुने, भारत र अमेरिका लगायत ११ देशका राजदूत फिर्ता
काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको शपथग्रहण समारोहमा सहभागी हुने भएका छन्।
सिंहदरबारमा बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले भारतीय प्रधानमन्त्रीको शपथग्रहण समारोहमा प्रधानमन्त्रीले सहभागिता जनाउने निर्णय गरेको सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन्। प्रधानमन्त्रीको भारत भ्रमणको टोलीको भने टुंगाे लाग्न बाँकी रहेको उनले बताइन्।
त्यस्तै बैठकले भारत र अमेरिका लगायत ११ देशका राजदूतलाई फिर्ता बोलाउने निर्णय गरेको छ। बैठकले हेटौँडा सिमेन्ट उद्योगको अध्यक्षमा नरेन्द्र भण्डारीलाई नियुक्त गर्ने निर्णय गरेको छ भने औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडको महाप्रबन्धक पदमा पदम वलीलाई नियुक्त गरेको छ। त्यस्तै मेलम्ची खानेपानी आयोजनाको नयाँ हेडवक्सको नयाँ संरचना मेलम्ची नदीको माथिल्लो तटीय क्षेत्रको उपयुक्त स्थानमा निर्माण गर्न सैद्धान्तिक स्वीकृति दिने निर्णय भएको प्रवक्ता शर्माले बताइन्।
बैठकले अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको कार्यकारी निर्देशक पदमा तेजबहादुर राईलाई तोक्ने निर्णय गरेको छ भने लगानी सहजीकरण सम्बन्धी केहि नेपाल ऐनलाई संशोधन गर्न बनेको विधयक संघीय संसदमा पेश गर्न स्वीकृती दिने निर्णय भएको प्रवक्ता शर्माले जानकारी दिइन्।
त्यस्तै बैठकले ५२ वटा रोगहरुलाई संक्रामक रोगमा सूचिकृत गर्ने निर्णय गरेको छ। प्रवक्ता शर्माले केन्द्रको गठबन्धनमा नेपाल उन्मुक्ति पार्टी र जनमत पार्टी रहेकाले उनीहरुलाई सरकारमा समावेश गर्ने कुरा स्वभाविक रहेपछि अहिले कुन मन्त्रालयमा सहभागी गराउने भन्ने बिषयमा निर्णय भइनसकेको बताइन्।
Facebook Comment