‘स्थानीय जनप्रतिनिधिमा गणतन्त्र आउन सकेन’
लमजुङ। नेकपा (एमाले) का उपमहासचिव एवं प्रतिनिधिसभा सदस्य पृथ्वीसुब्बा गुरुङले देशमा गणतन्त्र आए पनि स्थानीय जनप्रतिनिधिमा अझै गणतन्त्र आउन नसकेको टिप्पणी गरेका छन्। आज बेँसीसहरमा आयोजित लमजुङ दर्पण दैनिकको ११औँ वार्षिकोत्सवलाई सम्बोधन गर्दै नेता गुरुङले जनप्रतिनिधिमा अझै पञ्चायती कार्यशैलीको धङधङी रहेको बताएका हुन्।
‘उहाँहरु आफू सरकार भएको दाबी गर्छन् तर व्यवहार सरकारको जस्तो छैन’, उनले भने, ‘संघीयताको अवधारणाअनुसार स्थानीय सरकारले काम गर्न सकेनन्।’ उनले स्थानीय सरकारलाई विपद् कोष बनाउन र गरेका कामको प्रचारप्रसार गर्न सुझाव दिएको बताए।
उनले स्थानीय सरकारले प्रोफाइल तयार पार्ने, डकुमेन्ट्री बनाउने, सचेतनाका कार्यक्रम गर्नेलगायतका काम मिडियासँग मिलेर गर्न सकिने बताए। यसले मिडियाको संरक्षण र स्थानीय सरकारको प्रचार दुवै काम हुने उनको धारणा छ।
‘स्थानीय सरकारमा कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाको छुट्टाछुट्टै अभ्यास गर्नेगरी व्यवस्था मिलाइएको छ। अध्यक्ष र उपाध्यक्षका छुट्टाछुट्टै अधिकार र दायित्वहरु छन्। वडाध्यक्ष र कार्यपालिका सदस्य एउटै भूमिकाका हुन्’, उनले भने, ‘कार्यपालिकामा अध्यक्ष वा मेयर प्रधानमन्त्री जस्तो हुन्छ भने व्यवस्थापिकामा सभामुख जस्तो। बजेट आउनुभन्दा अगाडि नीति तथा कार्यक्रम ल्याउनुप(यो । नीति तथा कार्यक्रम अघि बजेटका सिद्धान्त र प्राथमिकता प्रस्तुत हुनुपर्यो। स्थानीय सरकारले यसको पालना नै गर्दैनन्।’
उनले स्थानीय सरकारलाई सरकार जस्तो बनाउन मिडियाले भूमिका पनि भुमिका निर्वाह गर्नुपर्ने धारणा राखे। उनले पर्यटन क्षेत्रको विकासका लागि पूर्वाधारसँगै रैथाने बालीको परिकारमा जोड दिनुपर्ने बताए। देशमा पर्यटन आगमनको संख्या बढाउन पोखरालगायत अन्तर्राष्ट्रिय विमानस्थाल सञ्चालनमा ल्याउनुपर्ने उनको भनाइ छ।
गण्डकी प्रदेशसभा सदस्य यशोदा रिमालले लमजुङ पर्यटनको दृष्टिले सम्भावनायुक्त रहेको बताए। उनले यस क्षेत्रका सबैखाले पर्यटनको विकास र प्रवर्द्धनमा मिडियाले सकारात्मक भूमिका खेल्नुपर्ने बताए।
Facebook Comment