कविता : रोएको मन

शंकरप्रसाद रिजाल
२६ जेठ २०८१ ७:०२

रोएको मनको आँसु कहाँ पुछिन्छ जीउमा
हाँसेको मनको आँसु कहाँ सुक्छ शरीरमा
सारा आँसुको धारा सुकेको छ शरीरमा
छैन कसैको सहारा प्रभुकै पद चरणमा

धारा बग्छ आँखामा नदी झैं कल्कलाउँदो
रोएको मनको आँसु झरना झैं झर्झराउँदो
आँसु दहमा डुब्छ कसैको प्रेममा फसी
बिछोड प्रेमको माया बस्छ कतै कतै लुकी

चाहना छैन केही मेरो इच्छा छैन अलिकति
लुकेको तिर्सना मेरो भित्रै पोल्छ भत्भती
झुठो संसारमा हाम्रो रोएको मनको गति
छैन सुवास तनमा सुकेको छ मन जति

परीको आँखको डिल रोइ तप्किन्छ निलम
हीराको मूल्य के हुन्छ त्यो भन्दा आँसु उत्तम
कसैको प्रेमको आँसु भिजेको छ शरीरमा
कसैको दुःखको आँसु बगेको छ हृदयमा

घडा आँसुको सागर नकहिल्यै सुक्छ जीवमा
रोएका पनि रोएकै छन् यो पापी संसारमा
खुसीमा आँसु बर्सिन्छ भुईंमा खस्छ कि भनी
दुःखमा आँसु तर्सिन्छ नुनिलो हुन्छ कि भनी

धनी पनि रोएकै छन् आ-आफ्नै स्वभावमा
राइ दुःखी बसेका छन् आ-आफ्नै अभाबमा
रिसमा आगको ज्वाला आँखाभरी सबैतिर
करुणामा आँसुको धारा बर्सिन्छ धरधर

रुने संसारमा धेरै युगौं युगको गति
नरुने को होलान् र रोएका छन् कतिकति
शिव रुँदा बन्यो रुद्राक्ष बनी यस लोकमा
रुद्राक्ष फलको वृष्टि बनी एक शोकमा

रोएका थिए राम पनि, पिताको शोकमा रही
पितृ शोकमा पर्दा रोए तिनै धरधरी
कृष्ण रोए मनमा राधा बिछोडमा परी
मीरा रोइन भक्तिमा आँसुको दहमा डुबी

रोएका छन् सबै प्राण्ीा यो कली युगमा
हाँस्ने पनि रोएका छन् आ–आफ्नो समयमा
रोएको मनको बोली शुद्ध फुटेको कहाँ छ र
खुसीको आँसुको झोली भरिएको कहाँ छ र

आँसुको दहमा डुब्ने जन्मे कति कति यहाँ
खुसीको मोहमा रुने मरे कति कति यहाँ
धनको मोहमा रुने रोएका छन दिन् दिन
कसैको प्रेममा फस्ने रोएका हरदिन

कसैको पनि देखिन्न रोएको मनको मति
कसैकोपनि देखिन्न हाँसेको तनको गति
सन्तोष आँसुको धारा बगाऔं मनमा सधैं
अरुको दुःखमा करुणा बगाऔं तनमा सधैं

अरुले गुलियो खायो मुख मिठयाउँछौ किन
कसैले “गु” लियो खायो बरु तिमी छि छि भन
रोएको मनको आँसु गुलियो कहाँ छ र?
खुसी मनको आँसु नुनिलो कहाँ छ र?
रोएको मनको आँसु नपभझेको कहाँ छ र?




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *