गाजाको विद्यालयमा इजरायलको हवाइ आक्रमणमा महिला बालबालिकासहित ३२ को मृत्यु
काठमाडौं । हमास विरुद्धको युद्धको बीचमा इजरायलले मध्य गाजामा रहेको ७६ वर्ष पुरानो नुसरत शरणार्थी शिविरमा आक्रमण गरेको छ । यस क्रममा एउटा विद्यालयलाई निशाना बनाइएको छ । लडाकु विमानले गरेको यो हवाई हमलामा ३२ जनाको मृत्यु भएको छ । जसमा महिला र बालबालिका रहेका छन् ।
हमासको अल-अक्सा मिडियाले भने आक्रमणमा ३९ जनाको ज्यान गएको जनाएको छ। इजरायलको रक्षा बल आइडीएफले यो आक्रमणको पुष्टि गरेको छ। आइडीएफले यो युएनआरडब्लुए विद्यालयमा हमासको नुख्बा फोर्सका लडाकुहरूले शरण लिएको दाबी गरेको छ। इजरायलले हवाई आक्रमणमा उनीहरूलाई निशाना बनाएको दाबी गरेको छ।
इजरायल र हमास बीचको युद्ध सुरु भएदेखि १० लाख भन्दा बढी मानिसहरू घरबारविहीन भएका छन्। उनीहरूले गाजाका विभिन्न ठाउँमा विद्यालय र अस्पतालमा शरण लिएका छन् । समाचार एजेन्सी एपीका अनुसार नुसरत शरणार्थी शिविर गाजा पट्टीको बीचमा अवस्थित छ। सन् १९४८ मा इजरायलको स्थापनापछि लाखौं प्यालेस्टिनीहरू घरबारविहीन भएका थिए। उनीहरुलाई आश्रय दिन नुसरत शिविर निर्माण गरिएको हो ।
आइडीएफले विद्यालयमा आक्रमण गर्नुअघि नै पूर्ण योजना बनाएको दाबी गरेको छ । यस क्रममा त्यहाँ उपस्थित आम नागरिकलाई धेरै नोक्सान नहोस् भन्ने कुरामा विशेष ध्यान दिइएको थियो । यसका लागि उक्त क्षेत्रको हवाई निगरानी गरिएको थियो । साथै त्यहाँ उपस्थित इजरायली गुप्तचर स्रोतहरूबाट पनि जानकारी सङ्कलन गरिएको थियो।
इजरायली आक्रमणपछि गाजामा रहेको हमास नेतृत्वको सरकारको मिडिया कार्यालयले पनि विज्ञप्ति जारी गरेको छ । उसले विद्यालयमा भएको आक्रमणलाई नरसंहार भनेको छ । मिडिया कार्यालयका प्रवक्ता इस्माइल अल थाब्ताले घाइतेहरूलाई अल-अक्सा सहिद अस्पतालमा भर्ना गरिएको बताए।
अल जजीराको रिपोर्टअनुसार युएन रिलिफ एण्ड वर्क एजेन्सी (युएनआरडब्लुए) ले गाजामा युद्धअघि १८३ विद्यालय सञ्चालन गर्दथ्यो। युद्ध सुरु भएदेखि नै यी विद्यालयका भवनहरू शरणार्थी शिविरमा परिणत भएका छन् ।
८ महिनादेखि जारी इजरायली आक्रमणमा युएनआरडब्लुए सुविधामा आश्रय लिएका ४५५ जनाको मृत्यु भएको छ । यसअघि ११ र १३ अप्रिलमा पनि इजरायलले नुसरत शरणार्थी शिविरका विद्यालयमा तीनपटक आक्रमण गरेको थियो । यस अवधिमा ७ जनाको मृत्यु भएको छ ।
Facebook Comment