अमेरिकाले १ करोड डलर मूल्य तोकेका मोस्ट वान्टेड आतंकवादीसँग युएइका राष्ट्रपतिको भेट
काठमाडौं । युएईका राष्ट्रपति मोहम्मद बिन जायद अल नाह्यानले अमेरिकाको मोस्ट वान्टेड आतंकवादी तथा हक्कानी नेटवर्कका प्रमुख सिराजुद्दीन हक्कानीसँग भेट गरेका छन् । वास्तवमा हक्कानी अफगानिस्तानमा रहेको तालिबान सरकारमा गृहमन्त्री हुन्। उनीमाथि अमेरिकाले १ करोड डलर इनाम घोषणा गरेको छ ।
वास्तवमा सन् २०१० को दशकमा हक्कानी नेटवर्कले अफगानिस्तानमा रहेका अमेरिकी सैनिकहरूमाथि एकपछि अर्को धेरै आत्मघाती हमला गरेको थियो। सन् २०१२ मा अमेरिकाले हक्कानी नेटवर्कलाई आतंकवादी संगठन घोषणा गरेको थियो ।
सिराजुद्दीन र उनका बुबाले काबुलस्थित भारतीय दूतावासमा पनि सन् २००८ मा हमला गरेका थिए । जसमा ५८ जनाको मृत्यु भएको थियो । सन् २०११ मा अमेरिकाका पूर्व संयुक्त चिफ अफ स्टाफ जनरल माइक मुलेनले हक्कानी नेटवर्कलाई पाकिस्तानको गुप्तचर एजेन्सी आईएसआईको दाहिने हात र एजेन्टको रूपमा वर्णन गरेका थिए।
सन् २०२१ मा अफगानिस्तानमा कब्जा गरेपछि सिराजुद्दीन हक्कानी विदेश भ्रमणमा गएको यो पहिलो पटक हो । युएईका राष्ट्रपतिले मङ्गलबार (जुन ६) अबु धाबीको कसर अल-शत्ती दरबारमा हक्कानीसँग भेट गरे।
सो क्रममा दुवै नेताबीच युएई र अफगानिस्तानबीचको सम्बन्धलाई थप मजबुत बनाउने विषयमा छलफल भएको थियो । भेटमा अफगानिस्तानको आर्थिक र सामाजिक विकासका विषयमा पनि छलफल भएको थियो ।
मिडिया रिपोर्टका अनुसार हक्कानीको बैठकको एजेन्डामा युएईको जेलमा रहेका अफगानी बन्दीहरूलाई रिहा गर्ने र अफगानीहरूका लागि यूएई भिसा सेवा सुरु गर्ने जस्ता मुद्दाहरू थिए।
तालिवानका प्रवक्ता जबिहुल्लाह मुजाहिदले अफगानिस्तानमा युएईका कम्पनीहरूको लगानी बढाउने विषयमा पनि दुई नेताबीच छलफल भएको बताए ।
तालिबानका गुप्तचर प्रमुख अब्दुल हक वासिक पनि उक्त बैठकमा सहभागी थिए । उनी धेरै वर्षदेखि ग्वान्टानामो खाडीको अमेरिकी सैनिक जेलमा कैद थिए । उनी सन् २०१४ मा कैदी आदानप्रदानमा रिहा भएका थिए ।
समाचार एजेन्सी एपीका अनुसार सिराजुद्दीन हक्कानीको यो भ्रमणलाई अर्थपूर्ण मानिएको छ किनकि मध्यपूर्वमा युएइ अमेरिकाको महत्वपूर्ण सहयोगी हो । अफगानिस्तानमा पश्चिमा देशका सेना लडिरहेका बेला युएईले उनीहरूलाई सहयोग गर्न पटकपटक त्यहाँ आफ्ना सैनिक पठाएको थियो ।
मंगलबार युएईका राष्ट्रपति र हक्कानीबीच भएको भेटबारे अमेरिकी विदेश मन्त्रालयको वक्तव्य पनि बाहिर आएको छ । मन्त्रालयका प्रवक्ता म्याथ्यु मिलरले भने – ‘संयुक्त राष्ट्र संघका सदस्य राष्ट्रहरूले प्रतिबन्धित व्यक्तिहरूलाई आफ्नो देशमा आमन्त्रित गर्नु अघि अनुमति लिनुपर्छ।’
यद्यपि, पछि एपीसँग कुरा गर्दै मिलरले भने, “युएई हाम्रो महत्त्वपूर्ण साझेदार हो। हामीलाई थाहा छ कि धेरै देशहरूको अफगानिस्तानसँग कठिन सम्बन्ध छ। हामी हाम्रा सबै सहयोगीहरूसँग निरन्तर सम्पर्कमा छौं।”
रिपोर्टका अनुसार २०२१ मा तालिबान फर्किएपछि युएईले उनीहरुसँग सम्बन्ध सुधार्ने प्रयास गरिरहेको छ । युएईको एयर अरेबिया र फ्लाई दुबई एयरलाइन्सले पनि गत वर्ष नोभेम्बरमा काबुल एयरपोर्टमा उडान सुरु गरेका थिए।
Facebook Comment